सभामुख घिमिरेले संसदको गतिरोध हटाउन दाहाल, ओली र देउवासँग छलफल गर्दै
रासंसा/काठमाण्डौ, श्रावण २२,
मुलुकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन्। सभामुख घिमिरेले सोमबार दिउँसो १२ बजे सिंहदरबारस्थित कार्यकक्षमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छलफलका लागि बोलाएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए। यस अगाडिको बैठकमा एमाले सांसदहरुले सुन तस्करी प्रकरणमा सरकारका मन्त्रीहरु र माओवादी कै उच्च तहका नेताहरु सामेल भएको आरोप लगाउँदै उच्चस्तरीय छानबिन समिति गठनका लागि रुलिङ गर्न माग गरेका थिए। तर, सभामुखले शुन्य समयको कारवाही अघि बढाउन खोजेपछि एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए। प्रमुख प्रतिपक्ष दल एमालेको अडानप्रति सत्तापक्ष असहमत भएपछि सरकारकै आग्रहमा सभामुख घिमिरेले पटक-पटक प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गर्दै आएका छन्। उनका अनुसार बैठकमा प्रमुख सचेतक वा सचेतकसमेत सहभागी हुनेछन्। प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्नु अगाडि सभामुखले छलफल गर्न लागेका हुन्। भन्सारकै गोदाममा इलेक्ट्रिक सिगरेट (भेप) साटफेर गरेर सुन तस्करी गरेको प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ नगरेको र १०० किलो सुन प्रकरणमा पनि माओवादी नेतृत्व संलग्न भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले छानबिनको माग गर्दै निरन्तर संसद अवरुद्ध गरेको छ। हालको अनुसन्धान प्रक्रियाबाट निष्कर्षमा पुग्न नसकिने भन्दै एमाले र राप्रपाले तस्करी भएको सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानवीन समिति वा न्यायिक आयोग गठन गर्नुपर्ने र गृहमन्त्रीले जवाफ दिनुपर्ने बताउँदै आएको छ। एमाले, राप्रपा र रास्वपालगायत सत्ता पक्षकै कतिपय सांसदले विमानस्थलबाट भएको सुन तस्करी प्रकरण अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग बनाउनुपर्ने बताइरहँदा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा हालसम्म जवाफसमेत दिएका छैनन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार गोदामबाट इलेक्ट्रिक सिगरेट (भेप) भित्र लुकाएर ल्याएको करिब ९ किलो सुन हराएपछि उक्त प्रकरणमा संलग्न चिनियाँ व्यापारी समेत रहेका तस्करसँग महरा बाबुछोराले पटकपटक टेलिफोन सम्पर्क गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। तर हालसम्म प्रहरीले महरा बाबुछोरालाई पक्राउ गरेर अनुसन्धान गरेको छैन। उक्त प्रतिवेदनको आधारमा समाचार प्रकाशित भएपनि महराले उक्त प्रकरणमा रहेको नाम र उल्लेख गरिएको फोन नम्बर आफ्नो नभएको दाबी गरिरहेका छन्। प्रमुख विपक्षी दलले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अबरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएको छ। सभामुख घिमिरेले सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ समेत स्मरण गराउँदै सदनको गतिरोध हटाउने विषयमा छलफलका लागि बोलाएको अधिकारीले अन्नपूर्ण पोस्टलाई जानकारी दिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार गोदामबाट इलेक्ट्रिक सिगरेट (भेप) भित्र लुकाएर ल्याएको करिब ९ किलो सुन हराएपछि उक्त प्रकरणमा संलग्न चिनियाँ व्यापारी समेत रहेका तस्करसँग महरा बाबुछोराले पटकपटक टेलिफोन सम्पर्क गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। तर हालसम्म प्रहरीले महरा बाबुछोरालाई पक्राउ गरेर अनुसन्धान गरेको छैन। उक्त प्रतिवेदनको आधारमा समाचार प्रकाशित भएपनि महराले उक्त प्रकरणमा रहेको नाम र उल्लेख गरिएको फोन नम्बर आफ्नो नभएको दाबी गरिरहेका छन्। सभामुख घिमिरेले सदन अवरोध खोल्ने विषयमा यस अगाडि पनि प्रधानमन्त्री, विपक्षी दलका नेता, गृहमन्त्री, प्रमुख सचेतक र सचेतकहरुसँग समेत पटक-पटक छलफल गरेका थिए। आइतबार पनि सिंहदरबारमा प्रमुख सचेतकहरुसँग छलफलमा घिमिरेलाई सदनको अवरोध खुलाउन शीर्ष नेताकै तहमा बैठक बस्नुपर्ने सुझाव दिएका थिए । बैठकमा उनीहरुबीच संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ। वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो। समिति गठन भएको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक सुरु भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरुले विधेयकमाथि छलफल गर्न सकेका छैनन्।
