ललिता निवासको जग्गामा रोपनीको ६ लाख दिएर नक्कली मोही खडा

Share to:

रासंसा/काठमाण्डौ, श्रावण ९,

मुलुकमा बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा भूमाफियाले नक्कली मोहीलाई प्रतिरोपनी ६ लाख रुपैयाँसम्म दिएर हडपेको खुलेको छ । किर्ते कागजातका आधारमा नक्कली मोहीका नाममा जग्गा लगिएको र लगत्तै मोही बनाइएकालाई उक्त रकम दिएर भूमाफियाले आफू र परिवारका सदस्यका नाममा लगेको अनुसन्धानबाट खुलेको हो । किर्ते कागजातका आधारमा नक्कली मोहीका नाममा जग्गा लगिएको र लगत्तै मोही बनाइएकालाई रकम दिएर भूमाफियाले आफू र परिवारका सदस्यका नाममा लगेको खुलासा भएको छ । कर्मचारीलाई हातमा लिएर किर्ते कागजात तयार पारी गिरोहले जोतभोग गर्न दिएका किसानलाई ललिता निवासको जग्गामा मोही दाबी गर्न लगाएको र मोहीका नाममा गएलगत्तै आफू र परिवारका नाममा लगेको अनुसन्धानबाट पत्ता लागेको हो । त्यसपछि भूमाफियाले उनीहरूका नाममा आएलगत्तै रोपनीको सरदर ६ लाख रुपैयाँ दिएर उक्त जग्गा हात पारेको थियो । नक्कली मोहीबाट रामकुमार सुवेदी र उनकी पत्नी माधवी, शोभाकान्त ढकाल तथा उनकी पत्नी उमाकुमारी, मीनबहादुर गुरुङ र उनकी पत्नी सरला घलेसहितका नाममा पुगेको थियो । पछि यो गिरोहले जग्गा प्लटिङ गरेर तेस्रो पक्षलाई बिक्री गरेको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्नविरुद्ध किर्ते र संगठित अपराधका दफा लगाएर अनुसन्धान जारी राखेको छ । अनुसन्धानले देखाएअनुसार लक्ष्मीनारायण महर्जन, मयजु महर्जन, रामकृष्ण महर्जन, बेखानारायण महर्जन, माया प्रजापति, अष्टनारायण महर्जन, चैत्यनारायण डंगोल, दिलबहादुर महर्जन, मोहन महर्जन, पञ्चनारायण महर्जन, पूर्ण महर्जन, रामदेवी महर्जन, बसनारायण महर्जन, आशनारायण महर्जन, देवनारायण महर्जन, हेरामाया महर्जन, सानुकान्छा महर्जन, लक्ष्मी महर्जन, अर्जुन महर्जन, तीर्थमाया महर्जन, साहिँला महर्जन, जोगलाल महर्जन, न्हुच्छेमाया महर्जन, सञ्जयकुमार महर्जन, कान्छा महर्जन र सकुलानन्द महर्जनले नक्कली मोही बनेबापत ललिता निवासको जग्गा पाएका थिए । नक्कली मोही बनेर जग्गा हिनामिना गर्नेमध्येका सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जनलाई सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंबाट पक्राउ गरेको छ । आफ्ना नाममा जग्गा आएलगत्तै सञ्जयले मीनबहादुर गुरुङकी पत्नी सरला घलेका नाममा पास गरिदिएका थिए । त्यस्तै सकुलानन्दले माधवी सुवेदी र उमाकुमारी ढकालका नाममा पास गरिदिएका थिए । नक्कली मोही बनेबापत पाएको जग्गा आफ्ना भूमाफियालाई दिँदा महर्जनद्वयले रकम हात पारेका थिए । यसको पृष्ठभूमि तीनै जनाले २०४९ ताकै तयार पारेको पनि अनुसन्धानबाट खुलेको छ । सोमबार पक्राउ परेका दुवै जनामाथि केही वर्षअघि नै ब्युरोले सोधपुछ गर्दा रकम पाउने लोभमा सुवेदीको समूहले मोही दाबी गर्न लगाएको र त्यसअनुसार आफूहरूले वारेस उनैलाई दिएको स्वीकार गरेका छन् ।ब्युरोका एसएसपी दिनेश आचार्यले असार १२ मा केही आरोपितलाई पक्राउ गरी अघि बढेको अनुसन्धानका क्रममा हालसम्म २३ जना पक्राउ परेको र अदालतको आदेशमा एक जना रिहा भएको बताए । पक्राउ परेकामध्ये ७ जना नक्कली मोहीमध्येका हुन् । पञ्चायतकालमै सुवर्णशमशेर राणाको परिवारलाई मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको ललिता निवासको जग्गा हडप्न भूमाफियाले २०४८/२०४९ तिरै योजना बुनेको थियो । सुरुमा सरकारी जग्गा राणा परिवारका नाममा लैजाने, त्यसपछि नक्कली मोही खडा गर्ने र आफ्नो बनाउने गरी गिरोहले योजना बुनेको थियो । त्यही योजनाबमोजिम नक्कली मोही दाबी गर्ने व्यक्तिका तर्फबाट भूमाफिया सुवेदी वारेस बसेका थिए । भूमाफिया किटान अर्का व्यक्ति ढकालले राजनीतिक शक्तिकेन्द्र र कर्मचारी संयन्त्र मिलाउने तथा भाटभटेनी सुपरमार्केटका सञ्चालकसमेत रहेका गुरुङले नक्कली मोहीका नाममा आएको जग्गा कौडीको भाउमा लिन रकम जोहो गर्ने जिम्मा लिएका थिए । नक्कली मोही बनेबापत जग्गा लिएर पछि भूमाफियालाई हस्तान्तरण गर्नेमध्येका केहीले आफूहरूलाई मोहियानी हक दिलाइदिने लोभ देखाएर नचिनेका व्यक्तिहरू सम्पर्कमा आएको र पछि उनीहरूमार्फत जग्गामा मोही बनेको कागज पाएको स्वीकार गरेका छन् । मोही बन्दा कसरी के प्रक्रियाबाट कागज मिलाइयो भन्ने कुनै जानकारी नभएको र यो सबै काम रामकुमार सुवेदीको समूहले गरेको नक्कली मोहीमध्येका एक जनाले प्रहरीमा दिएको बयानमा उल्लेख छ । तत्कालीन सरकारले पञ्चायतकालमा राणा परिवारबाट अधिग्रहण गरिएको करिब २ सय ८४ रोपनी जग्गा गृह मन्त्रालयअन्तर्गतको समरजंग कम्पनीको रेखदेख र संरक्षणमा राखेको थियो । अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणअनुसार अधिग्रहणबापत त्यसबेला सरकारले राणा परिवारलाई १६ लाख ३३ हजार ९ सय ९२ रुपैयाँ तिरेको तथ्य अनुसनधानबाट खुलेको छ । त्यही बखत सरकारले सुवर्णशमशेर र उनका छोरा कञ्चनशमशेरविरुद्ध राजकाज मुद्दा लगाएर ललिता निवासकै १४ रोपनी ११ आना जफत गरेको थियो । २०४६ को राजनीतिक परिवर्तनपछि कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्ले पञ्चायतकालका राजनीतिक मुद्दा र जफत सम्पत्ति फिर्ता गर्ने निर्णय गर्‍यो । प्रधानमन्त्री निवास (नीलो माथि) र हाल राष्ट्रिय सभा अध्यक्ष निवास (नीलो तल) । सुनौलो रङ– १ नं. कित्ता दामोदरप्रसाद उपाध्यायलाई राजा वीरेन्द्रले ०२९ जेठ ५ मा दिएको, ३५ र २३ नं. कित्ता कुमार बस्नेतलाई दिएको, ३१ नं. कित्ता नेपालकी पहिलो महिला प्रहरी पविता देवीलाई ०२७ असार १८ मा दिएको र १६ नं. कित्ता सुवर्णशमशेरको जग्गा कनकशमशेरलाई बेचेको । जफत सम्पत्ति फिर्तासम्बन्धी निर्णयको अपव्याख्या गरी भूमाफिया र भूमि प्रशासनका कर्मचारीलाई हातमा लिएर राणा परिवारले २०४९ का विभिन्न मितिमा १ सय १२ रोपनी ४ आना जग्गा हडपेका थिए । सरकारका नाममा जग्गा हडप्न सघाएबापत राणा परिवारले कर्मचारी र केही बिचौलियालाई २२ रोपनी जग्गा घूस नै दिएका थिए । राणा परिवारले हात पारेको मध्ये केही वर्षमै भूमाफियाकै योजनामा फेरि आधा (५६ रोपनी) मा नक्कली मोही खडा गरी ‘मोही’ कै नाममा दर्ता गराइयो । त्यसपछि २०६२, २०६६/०६७ र २०६९ का विभिन्न मितिका निर्णयले करिब ३१ रोपनी जग्गा भूमाफियाले हडपेका थिए । त्यसमा पनि नक्कली मोही कायम गरी गिरोहले आफ्ना नाममा कायम गराएको थियो । नक्कली मोही बन्न तयार भएका सबै ललिता निवास परिसरको जग्गा सरकारलाई कुत बुझाएर भोगचलन गर्नेमध्येका थिए । गिरोहले ललिता निवासको जग्गामा मोही कायम गरिदिने भन्दै इनबहालमा बोलाएर विश्वास दिलाएपछि जग्गा आउनेमा आफूहरू लोभमा परेको अर्का ‘नक्कली मोही’ को बयानमा उल्लेख छ । २०४९ मा राणा परिवारले लगेको १ सय १२ रोपनी ४ आनाको आधा हिस्सा, २०६२ मा सुनीति राणाले छुट दर्ताबापत हत्याएको १२ आनाको आधा, २०६६/६७ तिर प्रधानमन्त्री निवास विस्तारका नाममा २५ रोपनीभन्दा बढीको आधा र पशुपति टिकिन्छा गुठीका नाममा लगिएको ५ रोपनीमा नक्कली मोही बनाएर गिरोहले जग्गा हत्याएको थियो । ‘२०५६/५७ तिर मोही कायम भएको कागजात आएपछि मलाई प्राप्त भएका कागजात वारेसनामा बनाएर रामकुमार सुवेदीलाई दिएको थिएँ । त्यसपछि उनले के गरे, कुन अड्डामा के कस्ता कागजात पेस गरे, थाहा छैन,’ नक्कली मोहीमध्येका एक जना देवनारायण महर्जनले प्रहरीलाई दिएको बयानमा भनिएको छ, ‘म राणा परिवारका कसैलाई पनि चिन्दिनँ, रामकुमार सुवेदीले उक्त जग्गामा मोहियानी हक दिलाइदिन्छु भनी विश्वास दिलाएर वारेसनामा लिई काम गरेका हुन् ।’ त्यसपछि नक्कली मोहीलाई सुवेदीको समूहले प्रतिरोपनी ६ लाखसम्ममा पैसा दिएर गिरोहले आफू र परिवारका सदस्यको नाममा लगेको अनुसन्धानका तथ्य र प्रमाणले पुष्टि गरेको हो । नक्कली मोही बनाइएका कतिपयको विभिन्न मितिमा मृत्यु भइसकेको छ । मृत्यु भएकाको हकमा उनीहरूका हकदारले गिरोहबाट रकम बुझेको देखिन्छ । जुन कुरा प्रहरी बयानमा पनि उनीहरूले स्वीकार गरेका छन् । नक्कली मोहीबाट प्राप्त अन्य जग्गा पनि अर्का बिचौलिया ढकाल र गुरुङले यसरी नै सस्तोमा हत्याएका थिए । त्यही जग्गा सुवेदी, ढकाल र गुरुङको समूहले २०६४ पछि प्लटिङ गरेर अरु व्यक्तिलाई बिक्री गरेका थिए । ललिता निवासको जग्गा प्लटिङ गर्न भाटभटेनी डेभलपर्स प्रालि र डीएलएफ प्रालिलगायत कम्पनी खडा गरिएको थियो । हाल विभिन्न व्यक्ति तथा संस्था गरी ललिता निवासका जग्गा ७३ जनाका नाममा छ । स्रोतका अनुसार नक्कली मोही बनाइएकामध्येका केहीले प्रहरीसँगको बयानमा सरकारी जग्गा हडप्न रामकुमार सुवेदीको समूहले आफूहरूलाई नक्कली मोही दाबी गर्न लगाएको र त्यसका लागि पैसाको लोभ देखाएको स्वीकार गरेका थिए । मोही दाबी गर्ने अधिकांशको वारेस उनै सुवेदी बनेका थिए । पञ्चायतकालमै ललिता निवासको ५ रोपनीमा खेतीपाती गर्नेमध्येका एक व्यक्तिले प्रहरीलाई दिएको बयानमा नक्कली मोहीबापत पाएको जग्गाबाट आफूहरूलाई ३० लाख दिएर सुवेदीकै समूहले लगेको उल्लेख छ ।

Like