स्वतन्त्र पत्रकार संघ नेपालका अग्रज पत्रकार सम्मानित
रासंसा/भक्तपुर बैशाख ९,
मुलुकमा पुराना पत्रकार एवं वरिष्ठ नाटयकार जीतबहादुर देउजा (विजय विस्फोट) ले पत्रकारले पत्रकारिताको सिद्धान्त छोड्नु सिंगो पत्रकारिता नै मृत्युमा पुग्नु सरह रहेको बताएका छन् । आफनो सम्मानमा स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरले शनिबार गरेको बधाई तथा सम्मान कार्यक्रममा उनले पत्रकारिताको सिद्धान्त नछोडनु पत्रकारिताको परम धर्म रहेको बताए । विस्फोट भक्तपुर गुण्डुबासी हुन्।जिल्लाको तर्फबाट विभूषित हुन सफल भएकोमा उनलाई बधाई तथा सम्मान गरेको हो।नाटक क्षेत्रमा चार दशक विताएका विस्फोटलाई नाटक क्षेत्रमा गरेको योगदानको कदरस्वरुप विभूषित गरेको थियो। कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय सल्लाहकार डा इन्दुल केसीले स्वतन्त्र पत्रकारितामा जोड दिए।उनले व्यक्तिले जुनसुकै विचार राख्न पाउने तर त्यो पत्रकारितामा समाचार लेख्दा पोख्न नपाउने बताए। संघका केन्द्रिय पार्षद् स्वतन्त्र पत्रकार कृष्ण किसीले पत्रकारिताको स्वच्छतामा जोड दिए।पत्रकारिता पेशा सम्मानित पेशा भएको भन्दै उनले पत्रकारिता स्वच्छ हुनुपर्ने बताए।कार्यक्रममा स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरका सचिव प्रेम प्रजापति, सदस्य रामकृष्ण प्रजापति लगायतले पत्रकारिताको महत्वबारे चर्चा गरे।कार्यक्रममा हालै निर्वाचित स्वतन्त्र पत्रकार संघ भक्तपुरका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा पहिलाको कार्यकालमा पदाधिकारी रहेर योगदान गर्नेहरुलाई कृतज्ञता प्रमाणपत्र प्रदान गरिएको थियो।साथै सल्लाहकारहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो।