राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै

Share to:

रासंसा/ललितपुर, फाल्गुण १३,

मुलुकमा नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहान ८:३० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ। राष्ट्रपतिमा कांग्रेसलाई समर्थनसँगै नेताहरूले ‘पुरानो गठबन्धन ब्युँतिएको’ व्याख्या गरेका छन्। चुनावका बेलाको पाँचदलीय गठबन्धनमा नयाँ तीन दल पनि थपिएका छन्। जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले पनि राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णयमा सहमति जनाएका छन्। उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरू सहभागी हुनेछन्। सत्तासीन माओवादी केन्द्रसहित आठ दलको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेको हो। यो निर्णयसँगै कांग्रेसले आफ्नो उम्मेदवार टुग्याउन बैठक बोलाएको हो। सत्तासीन एमालेले भने राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णयप्रति तीव्र असन्तुष्टि जनाएको छ। प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरण बनाएर मुलुकलाई अस्थिरतातर्फ धकेलेको एमालेको आरोप छ। कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारमा वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रबल सम्भावना रहेको नेताहरू बताउँछन्। अर्का नेता कृष्णप्रसाद सिटौलाले पनि राष्ट्रपतिमा चाहना व्यक्त गरेका छन्। केही नेताहरू पार्टी सभापति शेरबहादुर देउवालाई नै उम्मेदवार बन्न दबाब दिइरहेका छन्। तर देउवाले मुख खोलेका छैनन्। पार्टी उपसभापति पूर्णबहादुर खड्काले आठ दलको सहमतिले कांग्रेसले उठाएको उम्मेदवारलाई जिताउने सहमति भएको बताउँदै भने, ‘कांग्रेसको पक्षमा सहमति जुटेको छ। अब उम्मेदवारको कुरा हो। उम्मेदवारको कुरामा त्यस्तो विवाद छैन। अहिले चर्चामा आएकै नामबाट उम्मेदवारी हुने हो।’ कांग्रेस संसदीय दलको निर्वाचनका क्रममा पौडेललाई वचन दिएका कारण पनि देउवाको सहानुभूति पौडेलप्रति रहने चर्चा पनि छ। १४औं महाधिवेशनमा पार्टी सभापतिमा देउवालाई सहयोग गरेका पौडेल संसदीय दलको चुनावमा देउवाकै प्रस्तावक बसेका थिए। त्यतिबेलै पौडेललाई राष्ट्रपति बनाउने प्रतिबद्धता देउवाले जनाएपछि पौडेल प्रस्तावक बसेका थिए। सिटौलासँग पनि सभापति देउवाको सहकार्य बेलाबखत हुँदै आएको छ। पार्टीको १३औं र १४औं महाधिवेशनमा सिटौला देउवाको पक्षमा उभिएका थिए।

Like