राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री तीन दललाई आलोपालो हुने गरि भत्कियो सत्तागठबन्धन

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण १३,

मुलुकमा राष्ट्रपति निर्वाचनको सँघारमा देशको राजनीतिक कोर्स बदलिएको छ । नेपाली कांग्रेसलाई राष्ट्रपति दिन नेकपा माओवादी केन्द्र तयार भएसँगै प्रतिनिधिसभा निर्वाचनपछि १० पुसमा बनेको एमाले नेतृत्वको सत्ता गठबन्धन शुक्रबारबाट औपचारिक रूपमा भत्किएको हो । अब कांग्रेस नेतृत्वकै नयाँ गठबन्धन बन्ने भएको छ । तर, बिहीबार र शुक्रबार बिहानबाटै भइरहेका संवादबाट माओवादी केन्द्र राष्ट्रपति पद कांग्रेसलाई दिन तयार भएपछि एमाले–माओवादीसहितका दलको गठबन्धन भत्किएको हो । शुक्रबार बिहान १० पुसअघिको पुरानै गठबन्धन ब्युँताएर कांग्रेसलाई राष्ट्रपति दिन त्यसबखत गठबन्धनमा सामेल दल सहमत भएका हुन् । विगत दुई सातायता कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपासहितका दलहरू राष्ट्रपति पदका लागि एमालेइतरको व्यक्तिको खोजीमा थिए । त्यसअघि नै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको खोजी भइरहेको बताउँदै आइरहेका थिए । यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीचमा शुक्रबार दिउँसो नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो । सो भेटका क्रममासमेत प्रचण्डले राष्ट्रपतिमा सहमतिको अडान लिएपछि एमाले अध्यक्ष ओली निराश हुँदै बालुवाटारबाट बाहिरिएका थिए । त्यसपछि पुनः १० पुसअघिको कांग्रेस नेतृत्वको गठबन्धनको बैठक बालुवाटारमा नै बसेको थियो । ‘बिहीबार र शुक्रबार बिहान साँझ गरी घनीभूत छलफल भयो, राष्ट्रपति कांग्रेसलाई दिएर केन्द्र र प्रदेशको सरकारमा समझदारी गर्नेगरी एउटा तहमा सहमति भएको छ,’ कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राजधानीसँग भने । सो बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसलाई राष्ट्रपति दिन तयार भएको सुनाएका थिए । शुक्रबार साँझ बसेको आठ दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले संसद्को सबैभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपतिको चुनावमा समर्थन गर्ने प्रस्ताव राखेका थिए । प्रचण्डको प्रस्तावमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् । योसँगै कांग्रेस नेतृत्वको गठबन्धन आठ दलीय बनेको छ । ‘राष्ट्रपति कांग्रेसलाई, उपराष्ट्रपति जसपालाई, प्रधानमन्त्री कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच आलोपालो गर्ने सहमति भएको छ, अब कांग्रेसले तोकेको व्यक्ति राष्ट्रपति हुन्छन्,’ नेकपा एकीकृत समाजवादीका महासचिव भुषालले राजधानीसँग भने । एकीकृत समाजवादीका महासचिव वेदुराम भुषालले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री पदमा प्याकेजमा नै सहमति भएको जानकारी दिए । भुषालका अनुसार जसपालाई उपराष्ट्रपति दिने सहमति बनेको हो । यसैगरी पहिले दुई वर्ष माओवादी नेतृत्वमै सरकार कायम रहने, त्यसपछि कांग्रेसले र नेकपा एसले डेढ÷डेढ वर्ष सरकारको नेतृत्व गर्ने सहमति बनेको हो । नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका आठ दलबीचमा कांग्रेसलाई राष्ट्रपति दिने सहमति भएसँगै राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने चासो छ । कांग्रेसले राष्ट्रपतिका लागि रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलामध्ये एक जनालाई अघि सार्ने सम्भावना छ । बैठकले औपचारिक रूपमा जसलाई निर्णय गर्छ उही नै राष्ट्रपति बन्ने कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । कांग्रेसले राष्ट्रपतिको उम्मेदवार चयन गर्ने विषयमा छलफल गर्न भन्दै शनिबार बिहान साढे ८ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । ‘शनिबार बैठक छ, बैठकले जसको नाममा निर्णय गर्छ उही नै राष्ट्रपतिको उम्मेदवार बन्ने हो,’ कांग्रेस उपसभापति खड्काले भने । कांग्रेस संस्थापन समूहका नेताहरू भने सभापति शेरबहादुर देउवालाई नै राष्ट्रपतिका लागि अघि सार्न तयार देखिएका छैनन् । नेता पौडेल र सिटौलाले भने आफ्नो नाममा सहमति गराउन कसरत जारी राखेका छन् । नेपाली राजनीति एकाएक नयाँ मोडमा पुगेको छ । प्रतिनिधिसभा निर्वाचनपछि १० पुसमा बनेको नेकपा एमाले–नेकपा माओवादी केन्द्र नेतृत्वको सत्ता गठबन्धन राष्ट्रपति निर्वाचनको सँघारमा आइपुग्दा ६१ दिनमा नै भत्किएको हो । एमालेको नेतृत्वमा बनेको सत्ता गठबन्धनमा माओवादी केन्द्रसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टी थिए । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनेगरी एमालेले प्रतिनिधिसभा निर्वाचनसम्म कायम रहेको कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्काइदिएको थियो । १० पुसमा प्रचण्ड एमालेको मुख्य समर्थनमा देशको प्रधानमन्त्री बन्दा कांग्रेस सत्ता विमुख बनेको थियो । प्रतिनिधिसभाका २ सय ७५ सदस्यमध्ये एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र स्वतन्त्र सांसद प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहलेको समर्थन प्रधानमन्त्रीका लागि त्यस समय प्रचण्डलाई थियो । सरकार गठनका लागि १ सय ३८ सांसदको समर्थन आवश्यक पर्नेमा प्रचण्डले सात दलबाट र अन्य स्वतन्त्र सांसद गरी १ सय ६९ जनाको समर्थन पाएका थिए । प्रचण्डले कांग्रेसका ८९ मध्ये ८५, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३, जनता समाजवादी पार्टीका १२, नेकपा एकीकृत समाजवादीका १०, लोकतान्त्रिक समाजवादी पार्टीका चार, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका चार र स्वतन्त्र सांसद तीन जनाको विश्वासको मत पाएका थिए । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा २६ पुसमा विश्वासको मत लिएका थिए । त्यसबखत कांग्रेसले पनि प्रचण्डलाई विश्वासको मत दिएर साथ दिएको थियो । प्रचण्डलाई प्रतिनिधिसभाका कुल २ सय ७५ सांसदमध्ये बैठकमा सहभागी २ सय ७० जनामा २ सय ६८ सांसदले विश्वासको मत दिएका थिए । प्रतिनिधिसभामा सहभागी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले भने प्रचण्डलाई विश्वासको मत दिएका थिएनन् भने बैठकमा त्यस समय चार सांसद अनुपस्थित थिए । पुरानो गठबन्धन ब्युँताउने विषयमा प्रधानमन्त्री प्रचण्डसमेत सक्रिय रूपमा लागिपरेका थिए । यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव पनि पुरानै गठबन्धन ब्युँताउन सहमत भएपछि एमाले नेतृत्वको गठबन्धन भत्किएको हो । कांग्रेस त्यसयता मौन रहँदै आएको थियो । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको मनोनयनको अघिल्लो दिन शुक्रबार कांग्रेस पुरानै गठबन्धन ब्युँताउन सफल भएको हो । पुरानै गठबन्धन ब्युँतिँदा प्रतिनिधिसभा निर्वाचनपछि संसद्मा प्रवेश पाएका दुई दल नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी पनि कांग्रेस नेतृत्वको गठबन्धनमा भित्रिएका छन् । यी दुई दल एमाले डिजाइनमा बनेको गठबन्धनमा पनि छिरेका थिए ।

Like