राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुन ९,

मुलुकमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा आजदेखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ। राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुने गरी निर्वाचन आयोगले गत माघ १६ गते मिति तय गरेको थियो। सो परिसरमा आज आयोजित कार्यक्रमबिच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कार्यालयको उद्घाटन गर्दै उक्त निर्वाचनका लागि आयोगका तर्फबाट मतदाता नामावलीको अन्तिम सूची आज कार्यालयलाई उपलब्ध हुने र कार्यालयले स्वीकृत निर्वाचन कार्यक्रमअनुसार यही फागुन १० गते मतदाता नामावली प्रकाशन गर्ने बताए। उनले पछिल्लो राष्ट्रिय जनगणनाको प्रतिवेदन प्राप्त भइनसकेकाले विद्यमान कानुनअनुसार २०६८ सालकै राष्ट्रिय जनगणनाको परिणामलाई आधार मानी यस निर्वाचनमा मत भार कायम गरिएको जनाए। प्रमुख आयुक्त थपलियाले राष्ट्रपतिको निर्वाचनको मतदानका दिन साँझ ७ गतेभित्र मत परिणाम प्रकाशन गर्ने गरी तयारी भएको र कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा भोलिपल्ट फागुन २६ गते नै निर्वाचन गराइने बताए। मतदान अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै हुनेछ। आयोगले न्याय परिषद्को परामर्शमा उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौड्याललाई उक्त निर्वाचनका लागि निर्वाचन अधिकृत तोकेको छ। निर्वाचन अधिकृत पौड्यालले मुलुकको सर्वोच्च पदको निर्वाचन स्वच्छ र स्वतन्त्र रूपमा गराउन दिइएको विश्वासलाई कामबाट पुष्टि गर्ने प्रतिबद्धता व्यक्त गरे। अन्य निर्वाचन आयुक्तसमेत सहभागी कार्यक्रममा आयोगका सचिव गोकर्णमणि दुवाडीले आयोगबाट स्वीकृत कार्यक्रमअनुसार राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका कार्यक्रम सञ्चालन गर्न निर्वाचन अधिकृतको कार्यालयले कार्यक्रम गरेको जानकारी दिए। दुवै पदका लागि सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहनेछन्। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सङ्घीय संसद्का तीन सय ३४ र प्रदेशसभाका पाँच सय ५० गरी कूल आठ सय ८४ मतदाता रहनेछन्। प्रतिनिधिसभामा हाल दुई सदस्य निलम्बित र एक सदस्य रिक्त रहेको छ। विद्यमान कानुनअनुसार सङ्घीय संसद्का प्रति सदस्यको ४८ मत भारका दरले २६ हजार ४०० र प्रदेशसभा सदस्यको प्रति सदस्य ७९ मत भारका दरले २६ हजार तीन सय ८६ गरी कूल ५२ हजार सात सय ८६ मत भार कायम हुनेछ। वर्तमान राष्ट्रपतिको पदावधि २०७९ साल फागुन २८ गते र उपराष्ट्रपतिको पदावधि आगामी चैत ३ गते समाप्त हुँदैछ। संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक फरक लिङ्ग र समुदायबाट प्रतिनिधित्व हुनुपर्नेछ। स्वीकृत निर्वाचन कार्यक्रमअनुसार राष्ट्रपतिको निर्वाचनका लागि फागुन १० गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ। साथै फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता गरिनेछ। उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नेलगायतका कार्यक्रम तय गरिएको छ।

Like