Monday, October 19, 2026
Latest:
अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

किन हुँदै छ करोडौंकाे तस्करीमा राजस्व अनुसन्धान विभागको उपस्थिति कमजोर

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुन ९,

मुलुकमा भारत र नेपालका विभिन्न नाकाबाट राजस्व छली गरी करोडौ मूल्यका वस्तु तथा कपडाको तस्करी हुने क्रम बढे पनि राजस्व अनुसन्धान विभागले नाकाहरूमा कडाइ गर्न सकेका छैनन् । राजस्व अनुसन्धान विभाग अस्थिर बनेसँगै तस्करले मौकाको फाइदा उठाउँदै तस्करी व्यापक पारेका हुन् । राजस्वको कमजोर उपस्थिति भएपछि नाकामा चोरीपैठारीमार्फत करोडांै मूल्यका रड, सिमेन्ट, खाद्यन्न, कपडा, चिनी, हार्डवेयर सामान तस्करी हुने क्रम बढेको हो । यसरी तस्करी हुने क्रम बढे पनि राजस्व अनुसन्धान विभागले नाकामा कडाइ गर्न सकेको छैन । विभागमा एक वर्षमा चार जनासम्म महानिर्देशक परिवर्तन हुने गरेका छन् । जसको फाइदा तस्करले उठाउने गरेका छन् । पछिल्ला केही समयदेखि सीमा नाकामा राजस्व अनुसन्धान विभागको उपस्थिति पनि कमजोर रहेको पाइएको छ । विभिन्न सामान ठूलो परिमाणमा तस्करी गरी काठमाडांै ल्याएर बिक्रीवितरण भइरहेको स्रोतको दाबी छ । तर, विभागले तस्करी गर्नेहरूको खोजतलास गर्न सकेको छैन । राजस्व अनुसन्धान विभागले तस्करी नियन्त्रण गर्न भीसीटीएस प्रणाली लागू गरे पनि कतिपय व्यवसायीले कारोबार गर्दा सो प्रणालीमा आबद्ध नगरी कारोबार गरिरहेका छन् । तर, पनि विभागले सो प्रणालीमा आबद्ध नहुनेहरूलाई खोजी गरी कारबाही गर्न सकेको छैन । राजस्व अनुसन्धान विभाग स्रोतअनुसार नवलपरासी, सिराहा, सप्तरी, वीरगन्जको ठोरीलगायतका नाकाबाट भन्सार छली गरी ठूलो मात्रामा सामान भित्रिरहेका छन् । तर, विभाग अस्थिर बन्न पुग्दा त्यसरी हुने तस्करी नियन्त्रणमा समस्या परेको विभागका कर्मचारीको गुनासो छ । विभागमा तीन-तीन महिनामा महानिर्देशक फेरिन पुग्दा तस्करलाई सहज हुने गरेको विभागकै अधिकारीको भनाइ छ । अहिले पनि वस्तुको ओसारपसार गर्दा बिल र भीसीटीएस प्रविष्ट गरेको प्रमाणसँगै लिएर चालक एवं संलग्न कर्मचारी हिँडेको तर कतिपय कारोबार वैधानिक तवरबाट पैठारी नभएका वा खरिद भएका वस्तु मात्र नभई चोरीपैठारीबाट भित्रिएका मालवस्तुसमेत एकै बिलबिजकबाट ओसारपसार हुने गरेको स्रोतको दाबी छ । त्यसरी चितवनमा जम्मा गरिएका तस्करीका सामान त्यहीँबाट विभिन्न जिल्लामा पठाउने गरिएको बताइन्छ । तस्करले सामान राख्न नाकानजिकैका मुख्य सहरी क्षेत्रबाट नजिक पर्ने गाउँ र त्यहाँका मानिसलाई प्रयोग गर्ने गरेका छन् । राजस्व अनुसन्धान विभागका कर्मचारीअनुसार तस्करले भन्सार नाकाभन्दा बाहिरको ठाउँबाट सामान ओसारपसार गरी सीमाक्षेत्र नजिकैको गाउँमा थुपार्ने र त्यहीँबाट सानोसानो परिमाणमा मालवाहक ट्रकबाट ओसारपसार गर्ने गरेका छन् । पछिल्लो समय त्यसरी सामान थुपार्न चितबन जिल्लालाई हबका रूपमा प्रयोग गर्ने गरेको पाइएको छ ।

Like