सहिद स्मारक ‘ए’ डिभिजन लिगको खेल तालिका सार्वजनिक
रासंसा/काठमाण्डौ, माघ ६,
मुलुकमा सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। नयाँ सिजनको शीर्ष डिभिजनको लिग फागुन १९ गतेबाट सुरु हुनेछ। लिग डबल राउण्ड रोबिनका आधारमा हुने खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एन्फा कम्प्लेक्समा ‘ए’ डिभिजन लिगअन्तर्गत पाँचौं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो। लिगको पहिलो खेलमा नवप्रवेशी क्लब एफसी खुमलटार र फ्रेन्ड्स क्लब प्रतिस्पर्धा गर्नेछन्। रंगशालामा हुने उद्घाटन खेल साँझ ५:३० बजे सुरु हुनेछ। नवप्रवेशी चर्च ब्वाइजले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग फागुन २० गते खेल्नेछ। साविक विजेता मछिन्द्र फुटबल क्लबले पहिलो खेलमा जावलाखेल युथ क्लबसँग फागुन २१ गते खेल्नेछ। यस पटक चर्च ब्वाइज युनाइटेड फुटबल क्लब र एफसी खुमलटारले शीर्ष डिभिजनको लिगमा डेब्यु गर्नेछ। यस पटकको लिगमा कुल १ सय ८२ खेल हुने एन्फाले जनाएको छ। खेल तालिका सार्वजनिक कार्यक्रममा एन्फाका महासचिव किरण राईले नेपाली फुटबलको मेरुदण्डका रूपमा रहेको लिगलाई सानदार ढंगले सम्पन्न गर्ने बताए। मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने एन्फाले जनाएको छ। फेयर प्ले अवार्ड विजेताले ३ लाख पाउने छन्। यसअघि भएका कमी कमजोरीबाट सिक्दै लिगलाई व्यवस्थित गर्ने उनले बताए। सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन्।