फ्युजनमार्फत आणविक स्वच्छ ऊर्जा उत्पादन
एजेन्सी,
विश्वमा अमेरिकी वैज्ञानिकहरूले आणविक फ्युजनमार्फत असीमित स्वच्छ ऊर्जा उत्पादन गर्न सकिने प्रविधि पत्ता लगाएको घोषणा गरेका छन्। वैज्ञानिकहरूले दशकौंदेखि यो प्रविधिमार्फत स्वच्छ ऊर्जा उत्पादनको सम्भावनाको खोजी गर्दै आएका थिए। यही निरन्तर अनुसन्धानअन्तर्गत मंगलबार घोषणा भएको प्रविधिमार्फत असीमित स्तरमा ऊर्जा उत्पादनको बाटो खुलेको हो। आणविक फ्युजनभन्दा फरक रहेको आणविक विस्फोट (न्युक्लियर फिजन) मा भारी अणुहरूलाई टुक्र्याइन्छ। आणविक ऊर्जा केन्द्रले न्युक्लियर फिजनको प्रविधि अवलम्बन गर्छन्। तर यो प्रविधिबाट निस्कने फोहोर धेरै पछिसम्म रहिरहने र यसले विकिरणको समस्या ल्याउने गरेको छ। यही खतराका कारण यसको भण्डारण सुरक्षित हिसाबले गर्ने गरिन्छ। आणविक फिजनको तुलनामा आणविक फ्युजनमार्फत झन् धेरै ऊर्जा उत्पादन गर्न सकिन्छ। यो प्रविधिबाट निस्कने रेडियोधर्मी फोहोर थोरै समयसम्म मात्र रहन्छ। यसबाहेक यो प्रविधिले हरितगृह ग्यास उत्पादन नगर्ने भएकाले जलवायु परिवर्तनलाई कुनै योगदान गर्दैन। क्यालिफोर्नियाको लरेन्स लिभरमोर नेसनल लेबोरेटरी (एलएलएनएल) अन्तर्गत नेसनल इग्नाइसन फेसिलिटीमा गरिएको परीक्षणबाट यो प्रविधि पत्ता लागेको वैज्ञानिकहरूले बताएका छन्। तर यो प्रविधिमार्फत ऊर्जा उत्पादन गर्नचाहिँ अझै केही समय पर्खनुपर्ने विज्ञको राय छ। एलएलएनएलका निर्देशक डा. किम बुडिलका अनुसार विगत ६० वर्षमा हजारौं वैज्ञानिकको लगातारको प्रयासका कारण यो ऐतिहासिक सफलता सम्भव भएको हो। आणविक फ्युजनमार्फत हुने ऊर्जा उत्पादनलाई अन्य ऊर्जा उत्पादनको तुलनामा पवित्र प्याला (होली ग्रेल) मानिएको छ। यही प्रविधिबाट सूर्य र ताराहरूले शक्ति हासिल गरेका हुन्छन् र हलुका अणुहरूको आपसी फ्युजनमार्फत प्रशस्त ऊर्जा उत्पादन गर्ने गर्छन्। वैज्ञानिकका अनुसार आणविक फ्युजनका लागि आवश्यक पर्ने अवयवहरूलाई ठुलो तापक्रम र चापमा राख्नुपर्ने बताउँछन्। हालसम्म यस प्रकारको ऊर्जा उत्पादनका लागि ठुलो स्तरको परीक्षण भएको छैन। तर यो घोषणासँगै यो प्रविधिको व्यावसायिक प्रयोग हुन सक्ने ढोका खुलेको छ। इम्पेरियल कलेज अफ लन्डनका प्लाज्मा फिजिक्सका प्राध्यापक जेरेमी चिटेनडेन यो आविष्कारलाई ‘सफलताको क्षण’ मान्छन्। ‘अमेरिका, बेलायत र विश्वभरका विभिन्न वैज्ञानिकले यसअघि गर्दै आएका अनुसन्धानका आधारमा यो सफलता हासिल भएको हो। यसले विज्ञानको नयाँ ढोका खुलेको छ,’ अक्सफोर्ड विश्वविद्यालयका भौतिकशास्त्री तथा प्राध्यापक जिआनलुका ग्रेगरी भन्छन्। उनले फ्युजन प्रविधिमार्फत पवित्र ऊर्जा उत्पादन सम्भव देखिएको बताए। यो आविष्कारलाई विश्वभरका भौतिक शास्त्रीहरूले प्रशंसा गरेका छन्। सो केन्द्रमा यो प्रविधिमार्फत ऊर्जा उत्पादन गर्न अझै केही दशक लाग्नसक्ने एलएलएनएलका निर्देशक डा. किम बुडिल ठान्छन्। लागत मूल्य घटाउने र ऊर्जा उत्पादनको स्तरलाई बढाउने जस्तो विषय अझै चुनौतीपूर्ण रहेको वैज्ञानिक ठम्र्या छ। तत्कालका लागि १५/२० कित्ली पानी उमाल्न यो प्रविधि सफल भएको बताउँदै वैज्ञानिकहरूले यसका लागि अबाैं डलर लगानी आवश्यक रहेको बताएका छन्। बिबिसीकी साइन्स इडिटर रेवेका मोरेल यो आविष्कार सानो स्तरमा भए पनि यसको ठुलो महत्व रहेको बताउँछिन्।