सडक छ, सुगमता र समृद्धि छैन
रासंसा/लमजुङ, पौष २,
मुलुकमा सडक यातायात विकासको मुख्य पूर्वाधारका साथै समृद्धि ल्याउने आधार हो तर मुलुकका धेरैजसो जिल्ला सदरमुकामसम्म सडक सञ्जाल पुग्दैमा सुगमता र समृद्धि नआउने रहेछ। सडकको दुरवस्थाले कुनै पनि ठाउँको समृद्धिमा ठुलै धक्का पुर्याउँदो रहेछ। त्यसको एउटा उदाहरण हो, लमजुङ। सडक सुधार र विस्तार यहाँका जनप्रतिनिधिको पहल र प्राथमिकतामा नपर्दा विकासका सम्भावना रहेको लमजुङले समृद्ध हुने अवसर गुमाउँदैछ। झन्डै दुई दशकअगाडि सदरमुकाम बेंसीसहरलाई सडक सञ्जालले जोडे पनि यहाँका बासिन्दा जिल्ला दुर्गम बन्दै गएको अनुभव गर्दैछन्। यो खण्ड भएर यात्रा गर्ने यात्रु र पर्यटकले सडकको दुरवस्थालाई लिएर गुनासो गर्ने गरेको सुनिन्छ। मध्य नेपालको सुगम जिल्ला लमजुङ सडक जीर्ण भएकै कारण दुर्गम बन्दैछ। समृद्धिका धेरै कुरा उक्त जिल्लाले गुमाउँदैछ। पृथ्वी राजमार्गबाट डुम्रे हुँदै लमजुङको बेंसीसहरसम्मको दुरी धेरै लामो छैन। ४२ किलोमिटर यात्रा गर्न सडक राम्रो भए एक घन्टा खर्चिए पुग्छ तर अहिले भने सडकको दुरवस्थाले यात्रुले तीन घन्टा खर्चिनुपर्छ। ज्यानको जोखिम मोल्दै यात्रा गर्नुपर्दा यात्रु र पर्यटकले दुःख पाइरहेका छन्। वार्षिक ३० हजार पर्यटक यो सडक हुँदै अन्नपूर्ण पदयात्रा गर्छन्। यता बेंसीसहर हुँदै मनाङसम्मको ६५ किलोमिटर सडक यात्रा गर्दै सयौं पर्यटक ट्रेकिङ र हिमालको दृश्यावलोकन गर्न पुग्छन्। डुम्रे बेंसीसहर सडक मनाङको चामेसम्म पुग्ने हुँदा विदेशी पर्यटकसमेत बाक्लै आउजाउ गरिहन्छन्। डुम्रेदेखि बेंसीसहरको खण्ड जति जीर्ण छ, त्योभन्दा बढी जीर्ण मनाङ पुग्ने सडक छ। तर छोटो दुरीको यात्रा गर्न पनि लामो समय खर्चिनुपर्ने र ज्यानकै जोखिम सहेर यात्रा गर्नुपर्ने यात्रु र पर्यटकको गुनासो बढ्दो छ। डुम्रे–बेंसीसहर ४२ किलोमिटरमध्ये २४ किलोमिटर सडकखण्ड तनहुँ जिल्लामा पर्छ। तर तनहुँका जनप्रतिनिधिहरूले उक्त सडक स्तरोन्नतिका लागि कुनै चासो दिएको देखिन्न। बर्सेनिजसो यही सडक हुँदै मनाङको चामे ट्रेकिङ जाने गरेका काठमाडौंका प्रवीण पौडेलले पछिल्ला दिनमा बाटोको अवस्था थप नाजुक बन्दै गएको सुनाए। सडकको बिजोगले पर्यटन प्रवद्र्धनमा समेत नकारात्मक असर पुगेको स्थानीय व्यवसायी बताउँछन्। उद्योग वाणिज्य संघ लमजुङका अध्यक्ष गुणराज सिलवाल जिल्लाको आन्तरिक पर्यटन प्रवद्र्धन र व्यवसाय विस्तारमा सडकको अवस्थाले निकै असर परेको बताउँछन्। स्पेनबाट एक महिनाका लागि नेपाल भ्रमणमा आएका मिकेल आर्टेटाले डुम्रेबेंसी हुँदै मनाङ यात्रामा जीर्ण सडकलाई लिएर नमिठो अनुभव सुनाए। उनले भने, ‘सडक यात्रा गर्दा पाइलैपिच्छे ज्यानको जोखिम हुन्छ। प्राकृतिक र मनोरम क्षेत्र आउजाउ गर्न सडकको विकास र सहजतामा ध्यान दिए पर्यटकलाई सुविधा हुन्थ्यो। लमजुङ र मनाङका प्राकृतिक र मनोरम दृश्यले पर्यटकलाई रोमाञ्चित बनाए पनि सडक यात्रामा अनावश्यक कहर खेप्नुपर्दा उनीहरूलाई दुःख अनुभव हुन्छ।’ यो सडकमा पाइलैपिच्छे खाल्टाखुल्टी छन्। पक्की सडक जीर्ण र धुलाम्य छ। बर्खामा पहिरोले निरन्तर यो सडकखण्डमा क्षति पुर्याइरहेको छ। सडकमा धेरैखाल्टाखुल्टी भएकाले आवागमनमा असुविधा हुने गरेको छ। लमजुङको उदीपुरमा गत असारमा गएको १ सय ६० मिटर लम्बाइ र १ सय ५० मिटर चौडाइको पहिरोले सडक यातायातमा थप समस्या निम्त्याएको छ। सडकको दुरवस्थाले दैनिकजसो दुर्घटना निम्त्याएको जिल्ला ट्राफिक कार्यालय लमजुङका प्रमुख सुवास रानाभाट बताउँछन्। ‘कालोपत्रे सडकको अधिकांश पिच उप्किएर धुलाम्य भएको छ। बगे्रल्ती खाल्डाखुल्डी भएकाले गाडी उफ्रिने र दुर्घटना निम्तिने जोखिम छ’, उनले भने। बर्खामा नियमित क्षतिले सडक जीर्ण हुने तर सुधार नहुने अवस्थाले पनि जोखिम निम्तिएको हो। २३ वर्षअगाडि बनेको सडक नियमित मर्मत नहुँदा यात्रुहरूले कहर खेप्न बाध्य बनेका हुन्। लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवाल भन्छन्, ‘साँघुरा र जोखिमयुक्त सडक भएकाले ठुला गाडी आउन कठिन छ। एक घन्टाको बाटो काट्न पनि तीन घन्टा खर्च गर्नुपर्ने अवस्था छ। व्यवसायीले पर्यटकका लागि महँगा र स्तरीय गाडी सञ्चालन गरे पनि सडकको अवस्थाले छिट्टै जीर्ण बन्ने गरेको व्यवसायीको गुनासो छ। बाटोको अवस्थाले जिल्लाको शिक्षा, स्वास्थ्य पर्यटन व्यवसाय र समृद्धिमा धक्का पुगेको छ।’ जिल्लास्थित नेपाली सेनाले प्रयोग गर्दै आएको सहायक सडक मुख्य सडकका रूपमा प्रयोग हुँदै आएको छ। पहिरोका कारण तीन किलोमिटर डाइभर्सन गरिए पनि बाटो खाल्डाखुल्डी र जोखिमयुक्त हुँदा यात्रुले अनावश्यक सास्ती पाइरहेका छन्। २०२८ सालमा कामका लागि खाद्यान्नस्वरूप स्थानीयलाई मकै वितरण गरी श्रमदान गराएर बाटो खन्ने काम भए पनि त्यसमा भ्रष्टाचार भएको थियो। सडक निर्माण कार्यले लामो समय गति लिन सकेन। २०५६ सालमा मात्रै यो सडक बेसीसहर पुगेको थियो। त्यस समय लमजुङसम्मका लागि एक लेनको सडकले मनाङ छिचोलेको छ। सडक उपयोग गर्ने जनसंख्याको चापले पनि एक लेनको सडक साँघुरो र आफैंमा समस्या बनिरहेको छ। सडकको मापदण्डअनरूप विस्तार गर्न भनिए पनि कार्यान्वयन हुन सकेको छैन। लमजुङबाटै साढे २ सय मेगावाट विद्युत् उत्पादन भइसकेको छ। त्यस्तै विभिन्न आयोजनाबाट थप २ सय मेगावाट उत्पादन हुने क्रममा छ। जलविद्युत्बाट आम्दानी राम्रो गरिरहेको जिल्लाको सदरमुकामसम्म आउजाउका लागि मुख्य पूर्वाधार सडक सञ्जाल राम्रो नहुँदा अरू सम्भावना भए पनि पछि परेको हो। निर्माणको सुरुवात चरणदेखि भ्रष्टाचार भएको सडक अहिले स्तरोन्नति र विस्तार कार्यमा समेत नेता र ठेकेदार मोटाउने अवस्थाले काम नै सुस्त गतिमा भएको स्थानीयको गुनासो छ। बाटो निर्माण र स्तरोन्नतिजस्ता काममा स्थानीय राजनीतिक दल र ठेकेदारबीच कमिसनका कारण गुणस्तरहीन भएकाले हरेक साल सडकमा बजेट खर्च भए पनि सुधार नभएको स्थानीय धर्मराज केसीले बताए। जिल्लाले पटकपटक मन्त्री र मुख्यमन्त्री पाए पनि पूर्वाधार विकासमा जिल्ला पछि परेको मस्र्याङ्दी बहुमुखी क्याम्पसका प्रमुख विनोद न्यौपाने बताउँछन्। जिल्लामा आन्तरिक पर्यटन तथा प्राकृतिक स्रोतको राम्रै सम्भावना भए पनि सडक सञ्जाल राम्रो नहुँदा समृद्धि हासिल गर्न नसकेको उनको धारणा छ। लमजुङ सांस्कृतिक पर्यटनका रूपमा प्रख्यात भए पनि यही रुट हुँदै मनाङ सयाैं विदेशी पर्यटक पुग्छन् तर यो जिल्लाले पर्यटक आकर्षित गर्न सकेको छैन। लमजुङको विकासले नेतृत्व नपाउँदा यो अवस्थामा पुगेको स्थानीय समाजसेवी रामराज खनियाँले बताए। समाजसेवी खनियाँ शिक्षा, स्वास्थ्य, पर्यटन र सिंगो जिल्लाको समृद्धिमा अहिले सडक सञ्जालको दुरवस्थाले बाधा परेको बताउँछन्। ‘प्राकृतिक सुन्दरताले आकर्षित भएर नियमित भ्रमणका लागि आउने आन्तरिक र बाह्य पर्यटक पनि सडकको यो अवस्थाले विरक्त अनुभव गर्दैछन्’, उनले भने। ‘दुई दशकदेखि सडक सञ्जाल पुगे पनि समयसमयमा मर्मत तथा स्तरोन्नति भएन। बर्खामा त सिंगो जिल्ला सडक सञ्जालबाट वञ्चित हुने गर्छ। बाटोको नियमित स्तरोन्नतिमा ध्यान नपुग्दा जिल्ला सुगम भए पनि दुर्गम बन्दै गएको छ। सडक सञ्जालबाट जिल्लाले लाभ लिन सकेको छैन’, उनले भने। निर्वाचनताका चुनावी अजेन्डा बाटो बने पनि जिल्ला आउजाउ गर्न सहज र सुगम बनाउने र सडक समृद्धिसँग जोड्ने विषयमा कसैको प्राथमिकतामा नपरेको उनले बताए। गत असारमा उदीपुरमा पहिरो गएको स्थानमा पनि बायोइन्जिनियरिङ र प्रविधियुक्त तरिकाले व्यवस्थापन गरी २० करोड लागतमा सडक निर्माण अगाडि बढाउन टेन्डर प्रक्रियाबाट केही महिना अगाडिदेखि काम सुरु भएको सडक कार्यालयका प्रमुख अच्यूतविलास पन्तले बताए। अरू दुई वर्ष यो सडक स्तरोन्नतिमै समय लाग्ने हुँदा यात्रुले अहिले झैं यात्रामा कहर खेप्नुपर्र्ने पन्तले बताए। डुम्रेदेखि ४२ किलोमिटर सडकको ४ अर्ब ६० करोडको लागतमा गत असारदेखि बल्ल स्तरोन्नतिको काम सुरु भएको छ। जिल्ला सडक कार्यालयका प्रमुख अच्युतविलास पन्तका अनुसार डुम्रे चाम्बास आठ किमी सडक ३८ करोडमा ठेक्का लगाएर विस्तार र स्तरोन्नतिको काम भइरहेको छ। यो खण्ड सम्पन्न भए पनि सोही सडकको चाम्बासदेखि पाउदीसम्मको १५ किमी बाटो निर्माण सुरु हुनेछ। पन्तका अनुसार आउने वर्ष तौदीदेखि बेंसीसहरसम्मको १९ किलोमिटर सडक डेढ अर्ब लागतमा स्तरोन्नतिको काम गरिनेछ। यो खण्डको मनाङको चामेसम्म स्तरोन्नतिका लागि टेन्डर प्रक्रिया अगाडि बढेको र त्यसमा ३ अर्ब ६० करोड रकम खर्च हुँदैछ।