पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी
रासंसा/कास्की, पौष २,
मुलुकमा राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएर सञ्चालनको तयारीमा छ। २०२३ जनवरी १ (पुस १७ गते) देखि उडान सुरु गर्ने गरी नागरिक उड्डयन कार्यालयले तयारी गरिरहेको छ। २२ अर्ब रुपैयाँ खर्चेर विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनको तयारीमा रहँदासम्म पनि ल्यान्डफिल साइटका कारण चराको बाक्लो गतिविधिले उडानमा जोखिम हुन सक्ने पहिलेदेखि नै जानकारी हुँदाहुँदै ल्यान्डफिल साइट अन्यत्र व्यवस्थापन गर्नका लागि संघ र प्रदेश सरकारले चासो दिएको नपाइएको हो। सञ्चालनको मिति नजिकिए पनि अझै विमानस्थलदेखि तीन किलोमिटरभित्रै रहेको ल्यान्डफिल साइटमा पोखरा बजारको फोहोर फाल्ने क्रम रोकिएको छैन। यसैकारण ल्यान्डफिल साइट र विमानस्थल वरपर गिद्ध, चिललगायतका चराको गतिविधि अझै पनि उस्तै छ। ल्यान्डफिल साइट सार्ने विषयमा धेरै पहिलेदेखि संघ, प्रदेश र महानगरपालिकालाई आग्रह गरे पनि समयमै समस्या समाधान हुन नसकेको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए। राष्ट्रिय गौरवको आयोजनालाई प्रभावित हुन सक्ने अवरोध पहिचान गरेर योजना सुरु गरेसँगै संघ सरकारले नै बजेट छुट्ट्याएर ल्यान्डफिल अन्यत्र व्यवस्थापन गर्न पहल गर्नुपर्नेमा महानगरपालिकाको मात्र भर पर्दा यो समस्या आएको नागरिक समाज पोखराका पूर्वसंयोजक विष्णुहरि अधिकारी बताउँछन्। पोखरा—१४ सेती किनार बाच्छेबुडुवामा रहेको ल्यान्डफिल साइटको वरपर मांसाहारी चरा चिल, विभिन्न प्रजातिका गिद्धका गतिविधि अहिले पनि देख्न सकिन्छ। विमानस्थल नजिकै रहेको ल्यान्डफिल साइटका कारण विमानस्थलको रनवेमा समेत सेतो गिद्ध, चिल बस्ने र उड्ने गरिरहेका छन्। चरालाई अन्यत्र जान बानी पार्न पनि कम्तीमा ६ महिना लाग्ने भएकाले विमानस्थल सञ्चालनमा आउनुभन्दा कम्तीमा ६ महिनाअघि नै ल्यान्डफिल साइटमा फोहोर फ्याँक्न छाडेर सफा गर्नुपर्ने चराविद्हरूले सुझाव दिँदै आएका छन्। जनताका माग धान्ने बजेटको समस्या छ। संघ र प्रदेश सरकरले आवश्यक जमिनको खोजी र निर्माणका लागि आवश्यक बजेट नछुट्ट्याउँदा महानगरपालिका एक्लैको प्रयासले मात्रै नपुग्ने ल्यान्डफिल साइटका लागि आवश्यक जमिन खोजी कार्यमा संलग्न इन्जिनियर नेत्र तिमिल्सिना बताउँछन्। ल्यान्डफिल साइट सार्ने भन्ने कुरा ‘छु मन्तरकी बाचा’ होइन रहेछ। एक दर्जनभन्दा बढी ठाउँमा जमिन हेरे पनि स्थानीयका असीमित माग र विरोधका कारण ल्यान्डफिल साइटका लागि जमिन पाउनै गाह्रो भएको उनी बताउँछन्। आवश्यक जमिन खरिद गर्न र ल्यान्डफिल साइट निर्माणका लागि आवश्यक खर्च महानगरपालिकाको मात्र बजेटले नभ्याउने मेयर धनराज आचार्य बताउँछन्। संघ र प्रदेश सरकारले अहिलेसम्म ल्यान्डफिलका लागि कुनै रकम नछुट्ट्याएको पोखरा महानगरपालिकाका मेयर आचार्यले बताए। अघिल्ला मेयर मानबहादुर जीसीकै पालामा संघ र प्रदेश सरकारलाई ल्यान्डफिल साइटका लागि बजेट छुट्ट्याउन अनुरोध गरे पनि नछुट्ट्याएको महानगरपालिकाका कर्मचारी बताउँछन्। ल्यान्डफिल साइटका लागि कम्तीमा एक सय रोपनी जमिन चाहिने उनले बताए। पोखरामा जमिनको मूल्य अचाक्ली महँगो छ। पोखरा बजारबाट अलि पर पाखातिर जाँदा पनि त्यति बराबरको जमिन पाउन १० करोड बढी लाग्ने उनले सुनाए। त्यसपछि आधुनिक वातावरणमैत्री ल्यान्डफिल साइट निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने उनले सुनाए। सन् २०१७ नोभेम्बरबाट निर्माण सुरु भएको राष्ट्रिय गौरवको आयोजना निर्माणसँगै सञ्चालनका क्रममा हुन सक्ने बाधा अड्चन सुरुमै हल गर्न योजनाभित्रैको काम हुनुपर्ने पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष गोपीबहादुर भट्टराई बताउँछन्। बेलैमा समस्या समाधानतर्फ संघ, प्रदेश र महानगर संयुक्तरूपमा लाग्नुपर्नेमा सञ्चालनको तयारी हुँदै गर्दा चराका कारण समस्या आउन सक्छ कि भनेर डराउनुपर्ने अवस्था आउनु राष्ट्रिय गौरवको योजनाकै महŒव नबुझनु भएको उनी बताउँछन्।