देउसी भैलो खेलेर संकलन गरिएको रकमबाट विद्यार्थीलाई लत्ता कपडा वितरण

राष्ट्र संरक्षण डट कम
दमौली, तनहुँ ।
तिहारको अवसरमा देउसी भैलो खेलेर संकलन गरिएको रकमबाट तनहुँको व्यास नगरपालिका–१२, भडखलास्थित आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ।
दमौलीका युवा सामाजिक अभियन्ता सुदीप गफ्फार र उनको युवा समूहले देउसी भैलोबाट उठेको रकमको सार्थक सदुपयोग गर्दै विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीलाई विद्यालयको लोगो सहितको न्यानो स्विटर वितरण गरेका हुन्।
बढ्दो जाडो मौसमलाई मध्यनजर गर्दै बालबालिकालाई चिसोबाट जो dai जोगाउन र पठनपाठनमा सहजता ल्याउने उद्देश्यले उक्त सहयोग गरिएको अभियन्ता सुदीप गफ्फारले जानकारी दिए। देउसी भैलोबाट संकलित रकमलाई मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक सेवा र बालबालिकाको हितमा खर्च गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ।
युवाहरूको यस्तो रचनात्मक र मानवीय कार्यले स्थानीयस्तरमा सामाजिक उत्तरदायित्व, आपसी सहयोग र परोपकारी भावनाको विकास गर्न ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुनिता देवकोटाले जाडोको समयमा न्यानो कपडा पाएपछि विद्यार्थीहरूलाई विद्यालय आउन र नियमित अध्ययन गर्न ठूलो राहत पुग्ने बताएकी छन्।
