लक्ष्मी पूजा, कुकुर तिहार, महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती, नरक चतुर्दशी, सुखरात्री तथा विश्व रेडियोग्राफी दिवस आस्था, कृतज्ञता, साहित्य, आरोग्य र ज्ञान–विज्ञानको अनुपम सङ्गम
राष्ट्रसंरक्षण डटकम/काठमाण्डौ, कार्त्तिक २२,

डा. के. बि. सम्राट
धन–समृद्धिकी देवी माता लक्ष्मीको आराधना, कुकुरप्रतिको निष्ठा र कृतज्ञताको सम्मान, महाकवि देवकोटाको साहित्यिक योगदान, नरक चतुर्दशीको आध्यात्मिक सन्देश तथा रेडियोग्राफी विज्ञानको मानव स्वास्थ्यमा महत्त्व
श्रीं ह्रीं श्रीं कमले कमलालये प्रसीद प्रसीद ॐ श्रीं ह्रीं श्रीं महालक्ष्मयै नम:॥
नेपालको मौलिक सनातन संस्कृति, धार्मिक आस्था, साहित्यिक चेतना र आधुनिक विज्ञानको महत्त्वलाई एकै सूत्रमा जोड्ने आजका यी पर्व तथा दिवसहरूले मानव जीवनलाई बहुआयामिक प्रेरणा प्रदान गर्दछन्। लक्ष्मी पूजा, कुकुर तिहार, नरक चतुर्दशी र सुखरात्रीले धार्मिक तथा आध्यात्मिक चेतना जागृत गराउँछन् भने महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीले नेपाली भाषा, साहित्य र राष्ट्रिय पहिचानप्रति गौरव गर्ने प्रेरणा दिन्छ। त्यसैगरी विश्व रेडियोग्राफी दिवसले आधुनिक चिकित्सा विज्ञान, रोग पहिचान र मानव जीवन रक्षामा प्रविधिको महत्त्व उजागर गर्दछ। यी सबै पर्व तथा दिवसको मूल सन्देश एउटै छ—मानव जीवनलाई समृद्ध, स्वस्थ, सभ्य, करुणामय, ज्ञानमय र सेवामुखी बनाउनु।
लक्ष्मी पूजा – धन, ऐश्वर्य, सद्बुद्धि र समृद्धिको आराधना :
श्रीं ह्रीं श्रीं कमले कमलालये प्रसीद प्रसीद ॐ श्रीं ह्रीं श्रीं महालक्ष्मयै नम:॥
कमलमा विराजमान श्रीहृश्री जस्ता बीज मन्त्रले आशीर्वाद दिने महालक्ष्मी माताको जय, वहाँ माताको याद मात्र गर्नाले सबै प्रकारको प्रसाद र आशीर्वाद प्राप्त हुन्छ।
हिन्दू धर्मावलम्बीहरूको महान् पर्व तिहारको सबैभन्दा महत्त्वपूर्ण दिनमध्ये लक्ष्मी पूजा एक हो। कार्तिक कृष्ण औँसीका दिन मनाइने यस पर्वमा धन, वैभव, ऐश्वर्य, सौभाग्य र समृद्धिकी अधिष्ठात्री देवी माता लक्ष्मीको विशेष आराधना गरिन्छ। लक्ष्मी पूजाको वास्तविक अर्थ केवल धन प्राप्तिको कामना गर्नु होइन। धनसँगै धर्म, विवेक, सदाचार, परिश्रम, इमानदारी र सामाजिक उत्तरदायित्वको विकास गर्नु यसको गहिरो सन्देश हो।
धार्मिक मान्यताअनुसार यस दिन माता लक्ष्मी पृथ्वीमा विचरण गरी स्वच्छ, उज्यालो, पवित्र र व्यवस्थित घरमा प्रवेश गर्नुहुन्छ भन्ने विश्वास छ। त्यसैले घर, आँगन, कार्यालय, व्यापारिक प्रतिष्ठान तथा सार्वजनिक स्थलहरू सफा गरी दीप, बत्ती, फूलमाला र रङ्गोलीले सजाउने परम्परा छ। धन कमाउनु महत्त्वपूर्ण छ, तर त्यसको सदुपयोग गर्नु अझ महत्त्वपूर्ण छ। अन्याय, भ्रष्टाचार, शोषण र अनैतिक कार्यबाट प्राप्त सम्पत्तिले वास्तविक लक्ष्मीको स्वरूप धारण गर्न सक्दैन। श्रम, सीप, उद्यम, इमानदारी र परोपकारबाट आर्जित सम्पत्ति नै समाजका लागि कल्याणकारी हुन्छ। आजको सन्दर्भमा लक्ष्मी पूजाले व्यक्तिगत आर्थिक समृद्धिसँगै राष्ट्रिय आर्थिक विकास, उद्यमशीलता, उत्पादन वृद्धि, रोजगारी सिर्जना र आर्थिक आत्मनिर्भरताको मार्ग अपनाउन प्रेरित गर्नुपर्छ।
हरियो घाँस खाएर गाइले गोब्य्राएको गोबर अनि त्यसै गोबरले लिपेको हरियो नेपथ्यको रङ्गको पुरापुरी ओभानो नभइसकेको आँगन, कमेरो माटोले या राता माटाले माटाकै भित्ता पोतेको घर अनि हरियो गोबरले लिपेको केराका थम्बाहरूले बनाएको द्वार, थम्बामा दियो राख्न बाँसका साना साना टुक्रा घुसारिएका टेकोहरू, आँगनमा मिठो मिठो आउने सेल रोटी, अर्सा अनि अनर्साको वासना । प्याट्ट पुट्ट गरेर पड्किरहेका पटाका, झिर झिर गरिरहेको छुरछुरे (झिर झीरे), आकाश छुँला जस्तो गरी उज्यालोको फोहोरा छर्ने फूलझरी लगायतका रौनकहरू आजको दिनको विशेषता हो । आजको दिन राति अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवानको पूजा अर्चना गरिन्छ । घरमा भएका सम्पूर्ण द्रव्य, गरगहना अनि श्री-सम्पतीलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ । केराका थम्बाहरूलाई वैदिक सनातन हिन्दु संस्कारमा अत्यन्त महत्त्वपूर्ण लिइन्छ । विशेषगरि विवाह, व्रतबन्ध, पुराण या अन्य शुभ कार्यमा अनिवार्यजसो केराका एक जोर खम्बाहरूलाई मुल द्वारमा राख्ने गरिन्छ । यी द्वारहरूबाट वर्षैभरि खुसी अनि उत्साहको प्रवेश होस् । ऊर्जावान् तिहारको उज्यालो शुभकामना !
“भैलिनी आयौँ आँगन, गुन्यू चोलो माँगन
हे औँसीको बारो, गाईतिहारो भैलो….”
आजको साँझ विभिन्न रङ्गहरू प्रयोग गर्दै आँगनमा विभिन्न आकार प्रकारका रङ्गोली बनाउने चलन पनि छ । रङ्गोली गोलो, थ्याप्चे, चारकुने, त्रिभुजाकार स्वरूपमा तयार पारिन्छ । अर्कोतर्फ आजको दिन राति लक्ष्मी भगवान पृथ्वी लोकमा आउने र आशिष दिएर जाने जनउक्ति पनि छ । त्यसैकारणले आज घर अगाडिको तुलसी मठ या आँगनको प्रवेशद्वारबाटै लक्ष्मीका पाइलारूपी रङ्गिन डोबहरूका छाप घरका सम्पूर्ण कोठाहरूमा लगिन्छ। यिनै पाइलाका छाप अनुरूप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वास पनि छ ।
रङ्गहरू, बत्तीहरू अनि पर्वमय उल्लासले गर्दा आजको दिन सम्पूर्ण ताराहरू आकाशबाट पृथ्वीलोकमा झरेर सबैका आँगनमा बत्तीका रूपमा बलिरहेका छन् जस्तो लाग्छ । यी बत्तीहरू झैँ हामी सबैको जीवनको आशाको बत्ती कहिल्यै ननिभोस्, भैलिनीका आशीषहरू हामीलाई जस्ताको त्यस्तै लागोस् अनि यो उल्लास वर्षभरि कायम रहोस् । रङ्गोलीका उमङ्गहरू हाम्रो आँगनमा सगौरव रहिरहोस्, सप्तरङ्गी चाड तिहारको मङ्गलमय शुभकामना ।
कुकुर तिहार – निष्ठा, सुरक्षा र प्राणीप्रतिको कृतज्ञताको पर्व :
तिहारको दोस्रो दिन मनाइने कुकुर तिहार नेपाली समाजको विशिष्ट सांस्कृतिक र मानवीय पर्व हो। यस दिन कुकुरलाई माला लगाइदिने, टीका लगाउने, मिठा परिकार खुवाउने र सम्मान गर्ने परम्परा रहेको छ। हिन्दू धार्मिक मान्यतामा कुकुरलाई यमराजको दूत तथा भैरवको प्रिय वाहनका रूपमा सम्मान गरिन्छ। महाभारतको स्वर्गारोहण पर्वमा धर्मराज युधिष्ठिरसँग अन्तिम यात्रासम्म साथ नछोड्ने कुकुरको प्रसङ्गले पनि कुकुरको निष्ठा र धर्मको महत्त्वलाई स्मरण गराउँछ।
कुकुर मानव सभ्यताको पुरानो साथी हो। घरको सुरक्षा, अपराध अनुसन्धान, लागुऔषध तथा विस्फोटक पदार्थ पहिचान, उद्धार कार्य, सीमा सुरक्षा र अपाङ्गता भएका व्यक्तिको सहयोगमा समेत कुकुरको भूमिका महत्त्वपूर्ण छ।
कुकुर तिहारले एउटा गहिरो मानवीय शिक्षा दिन्छ—हामीले आफूलाई माया गर्ने र सहयोग गर्ने प्राणीप्रति कृतज्ञ हुन सिक्नुपर्छ। यस अवसरमा घरपालुवा मात्र होइन, सडकमा रहेका असहाय तथा भोकाएका जनावरप्रति पनि माया, दया र संरक्षणको भावना विकास गर्न आवश्यक छ। पशुप्रति क्रूरता नगर्ने, नियमित आहार तथा उपचारको व्यवस्था गर्ने र जिम्मेवार पशुपालन गर्ने संस्कारलाई प्रोत्साहन गर्नुपर्छ।
हिउँदका सुरुवाती दिनहरूको प्रतिनिधित्व गर्ने दीपावली अर्थात् उज्यालोले भरिएको खुसीयालीयुक्त तिहार पर्व झिलिमिली बत्तीहरूको चाडका रूपमा पनि परिचित छ। पाँच दिनसम्म दैनिक जीव, जीवन र सम्बन्धमिश्रित वैदिक सनातन नियमित गतिविधि यसको विशेषता हो र यो पाँच दिनलाई यमपञ्चक पनि भनिन्छ।
मानव सभ्यताको हरेक खोजहरूमा मानव समाजसँग कहिल्यै टाढा नभएको एउटा बफादार र साहसी जीवको रूपमा परिचित छ कुकुर। आज कुकुरमा समर्पित दिन अर्थात् कुकुरलाई पुजिने दिन। वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्त्व दिएर हेरिन्छ।
ऋग्वेदमा स्पष्ट रूपमा ‘सरमा’ को बारेमा उल्लेख गरिएको छ। सरमा अर्थात् कुकुरहरूकी आमाले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ। वैदिक सनातन हिन्दु परम्पराअनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतका रूपमा मानिन्छ र मृत्युपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रहिआएको छ।
महाभारतमा पनि सत्यवादी युधिष्ठिरले आफ्नो भक्त कुकुरविना स्वर्गमा जान नमानेको कुरा उल्लेख छ। कुकुरलाई धर्मको अवधारणागत उदाहरण र सत्मार्गको प्रतिनिधिका रूपमा लिइन्छ। तन्त्रसाधक निडर भगवान् भैरवको वाहन पनि कुकुर नै हो भने चाणक्य नीतिमा कुकुरलाई पातलो निद्रा भएको, बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणीका रूपमा उल्लेख गरिएको छ। आज यिनै कुकुरहरूको पूजा गरिने दिन हो है। आजको दिन कुकुरलाई विधिवत् रूपमा पूजा गरी खान दिने मानिसहरूलाई पुण्य प्राप्त हुने जनश्रुति छ। मानव समाज र कुकुरहरूको बलियो र पुरानो सम्बन्ध छ। आज त्यो सहअस्तित्वको अर्चना गरिन्छ। आज घरपालुवा मात्र नभई सडकका कुकुरहरूलाई पनि माला पहिर्याई, अबिरको टीका लगाई खाना खान दिने गरिन्छ। यसरी फूलको माला लगाइदिनाले, माला पहिराउने यो विशेष कार्यले कुकुरलाई मानव सभ्यता र संस्कारमा विशेष महत्त्व दिएको मानिन्छ। यस अर्थमा आज कुकुरहरूप्रति समर्पित दिन हो।
आजको दिन कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिस यमराजको दण्ड भोगी हुन्छ भन्ने मान्यता रहिआएको छ। यसर्थ बिहान सबेरै उठेर नित्यकर्म र स्नान गरी कुकुर पूजा गर्ने चलन छ। सनातन धर्म एकदमै पृथक छ र त्यत्तिकै वैज्ञानिक पनि छ। यसका संस्कारका आधारहरू, प्रकृति, प्रेम अनि मानवतालाई अत्यन्त विशिष्ट स्थान दिइएको छ अनि प्रकृतिका हरेक सृजनाहरूमा ईश्वरत्वअनुरूप व्याख्या गरिएको छ।
मानव व्यवहार एउटा ऐनाजस्तै हो। हामीले जस्तो व्यवहार गर्छौँ, त्यस्तै प्रतिविम्बस्वरूप व्यवहार पाउँछौँ। यस पृथ्वीका हरेक जनावरहरूलाई हाम्रो माया र सदाचारको खाँचो छ र सायद तिहारका यमपञ्चकका अवधिले हामीलाई यही ज्ञान दिन खोजेको हुनुपर्छ। विज्ञानले पनि पारिस्थितिकीतन्त्र (Eco-System) का रूपमा हरेक प्राणीहरूको अस्तित्व एकअर्कासँग सम्बन्धित देखाएको छ। माया दिऔँ, माया बाँडौँ अनि माया पाऔँ। सबैको मङ्गल होस्। जीव र मानव जीवनबीचको सुमधुर सम्बन्धको यो यात्रा जुगौँजुग चलिरहोस्। शुभकामना!
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती -नेपाली साहित्यको स्वर्णिम गौरव :
नेपाली साहित्यको इतिहासमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाम अत्यन्त सम्मान र श्रद्धाका साथ स्मरण गरिन्छ। वि.सं. १९६६ कार्तिक २७ गते काठमाडौँको डिल्लीबजारमा जन्मनुभएका देवकोटा आधुनिक नेपाली साहित्यका महान् प्रतिभा हुनुहुन्थ्यो।
उहाँको साहित्यिक प्रतिभा कविता, निबन्ध, महाकाव्य, खण्डकाव्य, नाटक र कथाजस्ता विभिन्न विधामा फैलिएको छ। उहाँले नेपाली साहित्यलाई भावनात्मक गहिराइ, मानवीय संवेदना, प्रकृतिप्रेम, राष्ट्रिय चेतना र दार्शनिक उचाइ प्रदान गर्नुभयो। उहाँको प्रसिद्ध महाकाव्य ‘शाकुन्तल’, खण्डकाव्य ‘मुनामदन’, तथा ‘पागल’ जस्ता रचनाहरू नेपाली साहित्यका अमूल्य निधि हुन्।
विशेषगरी ‘मुनामदन’ ले नेपाली समाजको जीवनदर्शन, प्रेम, त्याग, मानवीय संवेदना र सामाजिक यथार्थलाई अत्यन्त मार्मिक रूपमा प्रस्तुत गरेको छ। यस कृतिमा जातिभन्दा मानवता ठूलो हुन्छ भन्ने कालजयी सन्देश अभिव्यक्त भएको छ। देवकोटाको साहित्यिक दर्शनको केन्द्रमा मानवता थियो। उहाँले मानिसको बाहिरी स्वरूप, जात, वर्ग र सम्पत्तिभन्दा उसको मानवीय मूल्यलाई महत्त्व दिनुभयो।
उहाँको जीवनले हामीलाई प्रतिभा, अध्ययन, सिर्जनशीलता र साधनाको महत्त्व सिकाउँछ। साहित्य मनोरञ्जनको साधन मात्र होइन, समाजको चेतना परिवर्तन गर्ने शक्तिशाली माध्यम पनि हो भन्ने कुरा देवकोटाको योगदानले प्रमाणित गरेको छ।
आजको पुस्ताले उहाँका साहित्यिक कृतिहरूको अध्ययन, संरक्षण, प्रकाशन र अन्तर्राष्ट्रिय प्रवर्द्धनमा ध्यान दिनुपर्छ। नेपाली भाषा र साहित्यको विश्वव्यापी पहिचान स्थापित गर्नु नै उहाँप्रतिको सच्चा सम्मान हुनेछ।
कालो बादलबाट खसेको अन्धकारमा भित्र पसेको,
ईश्वर हो कि भिखारी ?
ईश्वर र भिखारीलाई एउटै तराजुमा तुलना गरेर लेखिदिए महाकवि लक्ष्मीप्रसाद देवकोटाले ।
माग्दछ करुणा भाइहरूमा आई पृथिविवारि,
माग्दछ भिक्षा ईश्वर मेरो आँगनको एक भिखारी ?
समाजको छर्लङ्ग चित्रलाई बडो चित्ताकर्षक ढङ्गले पस्कने महाकविका कृति अनि अन्तर्राष्ट्रिय लेखकहरूसँगै अब्बल ढङ्गले पौँठेजोरी खेल्न सक्ने उनका कृतिहरूकै कारणले गर्दा होला, देवकोटालाई कतिले ‘जियोग्राफिक मिस्टेक’ भनेर समेत चित्रण गरेका छन्। स्वर्गभूमि नेपाल अनि नेपालको साहित्यरसका हिरा, कृतिका सर्जक देवकोटा सबै नेपाली हृदयमा सदैव चम्किला तारा बनेर विद्यमान छन्।
आजको दिन नेपाली साहित्यका लागि अत्यन्त विशेष दिन हो। आजकै दिन अर्थात् वि.सं. १९६६ को लक्ष्मीपूजाकै दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको नेपाली साहित्यमा सरस्वतीको प्रसादका रूपमा जन्म भएको हो। नेपाली साहित्य अनि वाङ्मयमा महाकवि देवकोटाको योगदान उल्लेखनीय छ। उहाँका अमर कृतिहरू: मुना-मदन, कुञ्जिनी, शाकुन्तलजस्ता कृतिहरूले आजसम्म पनि नेपाली साहित्यको शोभा बढाइरहेका छन्।
“क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन
मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन”
मुनामदनका यी श्लोकले उति बेला पनि नेपाली समाजमा समानता र विभेदविरोधी सामाजिक न्यायको बिगुलस्वरूप महाकवि छुवाछुत तथा अनेक जातजातिका सवालमा समान धारणा राख्दथे भन्ने स्पष्ट पार्छन्। उति बेलाको नेपाली समाजका लागि यो एउटा ठूलो क्रान्ति नै हुनुपर्छ। सायद यही कारणले गर्दा होला, उनको लेखनको चर्चा विभिन्न अन्तर्राष्ट्रिय लेखकहरूले पनि दिल खोलेर गरेका छन्।
तीन महिनामा शाकुन्तल काव्य लेख्न सक्ने, १० दिनमा सुलोचना लेखेर भ्याउने र एक दिनमा कुञ्जिनी लेखेर भ्याइदिने देवकोटा उनै हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाको आजकै दिन अर्थात् लक्ष्मीपूजाकै दिन जन्म भएको हो।
निबन्धस्वरूपमा अझ प्रखर र भरिला अभिव्यक्तिहरू दिन सक्ने महाकविले सत्र वर्षको उमेरमै भारतको पटनाबाट म्याट्रिक पास गरेर त्रिचन्द्र कलेज, काठमाडौंमा कलामा स्नातकोत्तर अध्ययन गर्नुभएको हो। उहाँका मुनामदन, वनकुसुम, प्रमिथस लगायतका कृतिहरू अनि भिखारी, गाइनेको गीत, पागल, पुतली लगायतका कविता सङ्ग्रहहरू नेपाली साहित्य अनुरागीका लागि सृजनाको कोशेढुङ्गा साबित भएका छन्। उहाँका कृतिमा वेदना र रसिकताको अद्भुत मिश्रणसहितको एउटा सम्मोहन पाइन्छ।
भारतीय महापण्डित डा. राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानव अवतारका रूपमा लिएको छु।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निरालाबराबर एक जना देवकोटा हुन् भनेका थिए।
देवकोटाका जीवनका विभिन्न घटनाक्रमहरू अत्यन्त प्रसिद्ध र अचम्म लाग्दा पनि छन्। विद्यालय जीवनमा आफूले लेखेका कविताहरू साथीहरूलाई सुनाउँदा उनीहरूले त्यो कविता देवकोटाले लेखेका हुन् भनेर पत्याउँदैनथे। सुरुवाती दिनहरूमा कविशिरोमणि लेखनाथ पौड्यालका कृतिहरूबाट प्रेरित देवकोटा पछि गएर पश्चिमी सर्जकहरू वर्ड्सवर्थ र सेलीका अङ्ग्रेजी सृजनाहरूलाई पनि पढ्न थाले। पढाइका हिसाबमा देवकोटाले आईएस्सी त्रिचन्द्र कलेजबाट गर्नुभएको हो भने बीएबीएल चाहिँ पटना विश्वविद्यालयबाट गर्नुभएको हो। बर्खामा पानी पर्दा छाताका कारणले कार्यालय ढिला पुगेका देवकोटाले एक दिनभरि नै लगातार छाताका विषयमा भाषण गरिदिएका थिए। दिनभरि नै एउटा उदेकलाग्दो विषयमा भए पनि आकर्षक शब्दहरूको माला र बहुआयाम केलाउन सक्ने देवकोटाको कलम र मस्तिष्कमा वास्तवमै लक्ष्मी र सरस्वतीका अवतारकै रूपमा नेपाली वाङ्मयको प्रगतिका लागि आएका हुन्।
वर्तमान त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन अनि बढोत्तरीका लागि पनि महाकविले आफू शिक्षामन्त्री हुँदा गरेका दूरगामी कदमहरू प्रशंसनीय छन्।
चिताग्नि तापी जल डाल्न फाली संस्कार आफ्नो सब नै गुमाएँ
म शून्यमा शून्य सरी बिलाएँ, जन्मेँ म यो स्वर्ग विषे पलाएँ, आखीर भै खाक त्यसै बिलाएँ।
वि.सं. २०१६ सालमा संसारबाट बिदा भएका यिनै महाकविको आजको यो जन्मजयन्तीमा उनीप्रति श्रद्धासुमन। भाषा, साहित्य र हाम्रा मूर्धन्य साहित्यकार तथा स्रष्टाहरू उनीहरूका सिर्जनासँगै जिउँदै छन् र यो पृथ्वी रहुन्जेल बाँचिरहनेछन्। नेपाली साहित्यको जय होस्, नेपाली भाषा अमर रहोस्।
नरक चतुर्दशी – अन्धकारमाथि प्रकाश र अधर्ममाथि धर्मको विजय :
नरक चतुर्दशी सनातन हिन्दू परम्पराको महत्त्वपूर्ण धार्मिक पर्व हो। यसलाई रूप चतुर्दशी, छोटी दीपावली तथा काली चौदसका नामले पनि चिनिन्छ। कार्तिक कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वको सम्बन्ध भगवान् श्रीकृष्णद्वारा नरकासुरको वध गरी बन्दी बनाइएका मानिसहरूलाई मुक्त गराइएको पौराणिक प्रसङ्गसँग जोडिएको छ।
धार्मिक कथाअनुसार नरकासुरले देवता, ऋषि र निर्दोष मानिसहरूलाई दुःख दिएको थियो। भगवान् श्रीकृष्णले उसको अत्याचार अन्त्य गरी धर्म, न्याय र स्वतन्त्रताको स्थापना गर्नुभएको मान्यता छ। यस पर्वमा बिहानै स्नान गर्ने, शरीरको शुद्धि गर्ने, दीप प्रज्वलन गर्ने र भगवान्को आराधना गर्ने परम्परा छ। नरक चतुर्दशीले मानिसलाई बाहिरी सफाइसँगै मनभित्र रहेका लोभ, मोह, क्रोध, अहङ्कार, ईर्ष्या र द्वेषजस्ता विकार हटाउन प्रेरित गर्दछ।
नरक केवल मृत्युपछिको कुनै स्थानको धार्मिक कल्पना मात्र होइन; अज्ञान, अन्याय, हिंसा, भ्रष्टाचार, घृणा र अमानवीय व्यवहारले भरिएको समाज पनि नरकसरह हुन सक्छ। त्यसैले नरक चतुर्दशीको वास्तविक सन्देश आफूभित्रको अन्धकार हटाएर सत्य, सदाचार, विवेक र मानवताको प्रकाश फैलाउनु हो।
यस वर्षको यमपञ्चकका दिनमध्ये एउटा मानिने नरक चतुर्दशीमा सबैलाई स्वागत छ। मलाई यस चतुर्दशी असाध्यै दार्शनिक र तार्किक लाग्छ। आउनुहोस्, कुरा सुरु गरौँ ।
आखिर जन्म र मरणपछिका सनातन विश्वासमा सदैव आउने कुरा नै स्वर्ग र नर्क त हो। राम्रो कर्म गरेमा स्वर्ग जाने र नराम्रो कर्म गर्दा नर्क जाने जनमान्यता छ। यो सनातन दर्शनमा मात्र नभई लगभग हरेक धर्म र विश्वासमा पाइने तर्क हो। नर्क कसैको रोजाइमा पर्दैन, किनभने नर्कमा अनेक सास्ती र दुःखका भोगाइ रहने विश्वास गरिन्छ। वैतरणी नदी तरेमा मात्र स्वर्ग पुगिन्छ भन्ने मान्यता छ। नरक चतुर्दशी मात्र यस्तो तिथि हो जसले नर्कको उपस्थिति र केही हदसम्म नर्कको महत्त्व पनि बयान गर्दछ। नर्कबिनाको स्वर्गले खासै मान्यता राख्दैन। नरक चतुर्दशीले यस कुरालाई सबैका लागि विचारयोग्य बनाएको छ।
यस चतुर्दशीले हरेक मान्छेलाई नर्कमा नजानका लागि सत्कर्मको बाटो अवलम्बन गर्न पैरवी पनि गर्दछ। यस दिन नरके नुहाउने चलन हुन्छ। तिलको तेल दलेर जलाशयमा नुहाउनुलाई नरके नुहाउने भनिन्छ। कार्तिकको यस मन्द जाडोमा नुहाएपछि तिलका झिँगटाहरू बालेर ताप्ने चलन छ। आजको दिन बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काई बाली बगाउनाले मृत्युपछि नर्कको दर्शन गर्नुपर्ने धार्मिक विश्वास छ। यसरी बत्ती बालेर बगाउने कार्यलाई नरके बगाउने भनिन्छ।
स्नान गर्दा हरेक पल नर्क नजानका लागि सत्कर्म गर्ने तत्परता र धर्मको पथमा हिँड्ने वचनलाई आत्मसात् गर्नुपर्दछ। भन्ने नै हो भने नर्क र स्वर्ग पृथ्वीमा नै छन्। नरक चतुर्दशीले सबैलाई कर्मको पथमा सत्यले डोर्याउन सकोस्।
सुखरात्री – दीप, श्रद्धा र आध्यात्मिक जागरणको पवित्र रात्रि :
तिहारको लक्ष्मी पूजाको रात्रिलाई सुखरात्रीका रूपमा पनि सम्बोधन गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा पाइन्छ। यो रात्रि माता लक्ष्मीको आराधना, दीप प्रज्वलन, पारिवारिक सुख, शान्ति र समृद्धिको कामनासँग सम्बन्धित छ। यस पवित्र रात्रिमा घरका ढोका, झ्याल, आँगन र पूजास्थलमा दीप बाल्ने, लक्ष्मीको पदचिह्न बनाउने, भजनकीर्तन गर्ने र परिवार तथा समाजमा सुख–शान्तिको कामना गर्ने चलन छ।
सुखरात्रीको अर्थ केवल भौतिक सुख र सम्पत्ति प्राप्त गर्नु होइन। वास्तविक सुख भनेको स्वस्थ शरीर, शान्त मन, सन्तुष्ट परिवार, नैतिक आचरण, सद्भावपूर्ण समाज र आध्यात्मिक चेतनाको विकास हो। आजको प्रतिस्पर्धात्मक तथा तनावपूर्ण जीवनमा सुखरात्रीले परिवारसँग समय बिताउने, आपसी सम्बन्ध सुधार्ने, दुःखी र असहायलाई सहयोग गर्ने तथा समाजमा प्रेम र सद्भाव फैलाउने प्रेरणा दिन्छ। दीपको सानो ज्योतिले विशाल अन्धकारलाई चुनौती दिएझैँ मानिसको एउटा असल कर्मले पनि समाजमा सकारात्मक परिवर्तनको सुरुवात गर्न सक्छ। यसैले सुखरात्रीलाई आत्मचिन्तन, आत्मशुद्धि, कृतज्ञता र सत्कर्मको सङ्कल्प गर्ने अवसरका रूपमा लिनुपर्छ।
सुखरात्रि बुझ्नका लागि चार विशेष रात्रिहरू पहिले बुझ्नुपर्दछ। सनातन दर्शनमा वर्षभरिमा चार रात्रिहरूलाई महत्त्व र चन्द्रमानका आधारमा विशेष मानिन्छ। यी चार रात्रिहरू वर्षका फरक-फरक दिनमा पर्दछन्।
पहिलो, भदौ महिनामा पर्ने भगवान् श्रीकृष्णको जन्मसँग सम्बन्धित श्रीकृष्णजन्माष्टमीको रात हो, जसलाई मोहरात्रि पनि भनिन्छ। मोहरात्रिबाट वर्षका चार विशेष रात्रिहरूको सुरुवात हुन्छ।
दोस्रो, असोज महिनामा पर्दछ। नवरात्रिको अष्टमीको रातलाई कालरात्रि पनि भनिन्छ। यस रात्रि शक्ति र सामर्थ्यका लागि विशेष महत्त्वपूर्ण रहन्छ।
तेस्रो, कार्तिक महिनामा पर्ने ऐश्वर्यसँग सम्बन्धित लक्ष्मीपूजाको रात अथवा सुखरात्रि हो।
चौथो, फागुन महिनामा पर्ने मोक्षसँग सम्बन्धित भगवान् शिवको रात अथवा शिवरात्रि हो। आज चाहिँ सुखरात्रि। यस वर्षको सुखरात्रिको सबैलाई शुभकामना छ।
विश्व रेडियोग्राफी दिवस – चिकित्सा विज्ञान, प्रविधि र मानव जीवन रक्षाको सम्मान :
हरेक वर्ष नोभेम्बर ८ तारिखमा विश्व रेडियोग्राफी दिवस मनाइन्छ। सन् १८९५ नोभेम्बर ८ मा जर्मन वैज्ञानिक विल्हेल्म कोनराड रोन्टगेनले एक्स–रेको खोज गर्नुभएको ऐतिहासिक घटनाको स्मरणमा यो दिवस मनाउने गरिन्छ।
एक्स–रेको खोजले चिकित्सा विज्ञानमा क्रान्तिकारी परिवर्तन ल्यायो। शरीरको बाहिरी भागबाट मात्रै रोगको पहिचान गर्न कठिन हुने अवस्थामा शरीरभित्रका हड्डी, जोर्नी र विभिन्न संरचनाको अवस्था हेर्न सकिने प्रविधिको विकास भयो।
आज रेडियोग्राफी चिकित्सा निदानको अत्यन्त महत्त्वपूर्ण क्षेत्र बनेको छ। एक्स–रे, कम्प्युटेड टोमोग्राफी (CT Scan), म्याग्नेटिक रेजोनेन्स इमेजिङ (MRI), म्यामोग्राफी, फ्लोरोस्कोपी तथा अन्य इमेजिङ प्रविधिले रोग पहिचान र उपचारमा उल्लेखनीय योगदान पुर्याएका छन्।
यस क्षेत्रमा रेडियोग्राफर, रेडियोलोजिस्ट, चिकित्सा भौतिकशास्त्री, रेडियोलोजी प्राविधिक तथा अन्य स्वास्थ्यकर्मीहरूको भूमिका महत्त्वपूर्ण छ। रेडियोग्राफी केवल तस्बिर खिच्ने प्रविधि होइन; यो चिकित्सकलाई सही निदान गर्न सहयोग गर्ने वैज्ञानिक प्रक्रिया हो। दुर्घटना, हाडजोर्नी भाँचिएको अवस्था, छाती तथा फोक्सोका समस्या र विभिन्न रोगको पहिचानमा यसको योगदान उल्लेखनीय छ।
तर विकिरण प्रयोग गर्दा सुरक्षालाई विशेष प्राथमिकता दिनुपर्छ। आवश्यकताअनुसार मात्र परीक्षण गर्ने, बिरामी र स्वास्थ्यकर्मीलाई विकिरणबाट सुरक्षित राख्ने तथा आधुनिक उपकरणको उचित प्रयोग गर्ने व्यवस्था हुनुपर्छ।
विश्व रेडियोग्राफी दिवसले स्वास्थ्य सेवामा प्रविधि, दक्ष जनशक्ति, वैज्ञानिक अनुसन्धान र मानवीय सेवाको महत्त्वलाई उजागर गर्दछ। नेपालमा पनि रेडियोग्राफी तथा रेडियोलोजी सेवाको गुणस्तर वृद्धि, दक्ष जनशक्ति उत्पादन, आधुनिक उपकरणको उपलब्धता र ग्रामीण क्षेत्रमा पहुँच विस्तार गर्न राज्यले विशेष ध्यान दिनुपर्छ।
हरेक वर्षको नोभेम्बर ८ मा विश्व रेडियोग्राफी दिवस मनाइन्छ। विल्हेल्म रोन्टगेनले सन् १८९५ मा आजकै दिन एक्स-रेको आविष्कार गरेका हुन्। यसकै सम्झनास्वरूप विश्व रेडियोग्राफी दिवस मनाइन्छ। रेडियोग्राफीलाई सामान्यतया हामी एक्स-रे भनेर बुझ्दछौँ र आधुनिक चिकित्सा प्रणालीमा यसको ठूलो महत्त्व छ। हामी अस्पताल जाँदा हाम्रो एक्स-रे गर्ने रेडियोग्राफरदेखि हाम्रो एक्स-रेको रिपोर्ट बनाउने डाक्टर, एमआरआई, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी र एनजियोग्राफीजस्ता अत्याधुनिक उपकरणहरू सञ्चालन गर्ने प्राविधिकहरू यस प्रविधिका उदाहरणीय सारथि बनी सक्रिय छन्।
विश्वभरका रेडियोग्राफीसम्बन्धी पेसाकर्मीहरूले यो दिन र यस दिनको वरिपरिका दिनलाई रेडियोग्राफीलाई करियरका रूपमा प्रवर्द्धन गर्न, आधुनिक स्वास्थ्य सेवामा यसको महत्त्वपूर्ण योगदानबारे जानकारी दिन र निदानसँग सम्बन्धित इमेजिङ तथा विकिरण थेरापीबारे जनचेतना बढाउने अवसरका रूपमा प्रयोग गर्न सक्छन्।
यी पर्व तथा दिवसको साझा सन्देश – मानवता, संस्कृति र विज्ञानको समन्वय :
यी सबै पर्व तथा दिवसका आ–आफ्नै धार्मिक, सांस्कृतिक, साहित्यिक र वैज्ञानिक विशेषता छन्। तर तिनको अन्तर्यमा मानव जीवनलाई उत्कृष्ट बनाउने साझा उद्देश्य रहेको छ।
• लक्ष्मी पूजाले श्रम, इमानदारी र सदाचारबाट समृद्धि प्राप्त गर्न सिकाउँछ।
• कुकुर तिहारले निष्ठा, कृतज्ञता र प्राणीप्रतिको प्रेम सिकाउँछ।
• देवकोटा जन्मजयन्तीले साहित्य, सिर्जना, भाषा र मानवताको महत्त्व बुझाउँछ।
• नरक चतुर्दशीले विकृति, अज्ञान र अधर्म त्यागेर सत्यको बाटोमा हिँड्न प्रेरित गर्छ।
• सुखरात्रीले पारिवारिक सुख, शान्ति, श्रद्धा र आध्यात्मिक जागरणको सन्देश दिन्छ।
• विश्व रेडियोग्राफी दिवसले विज्ञान, प्रविधि र स्वास्थ्य सेवामार्फत मानव जीवनको रक्षा गर्न प्रेरित गर्छ।
यी पर्व तथा दिवसलाई केवल औपचारिक उत्सव र मनोरञ्जनमा सीमित राख्नु हुँदैन। यिनका मूल आदर्शलाई व्यवहारमा उतार्नु आजको आवश्यकता हो। सरकारले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा प्रभावकारी नीति निर्माण गर्नुपर्छ। महाकवि देवकोटाजस्ता राष्ट्रिय प्रतिभाको योगदानलाई विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा जीवन्त बनाउनुपर्छ।
त्यसैगरी पशुपक्षी संरक्षण, वातावरणीय स्वच्छता, सामाजिक सद्भाव र आर्थिक आत्मनिर्भरताका कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ।
स्वास्थ्य क्षेत्रमा आधुनिक प्रविधि, दक्ष जनशक्ति र गुणस्तरीय निदान सेवाको विस्तार गर्नुपर्छ। विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकले पनि सहज र सुलभ रेडियोग्राफी सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो। तिहार मनाउँदा वातावरणमैत्री दीपावली, ध्वनि तथा वायु प्रदूषण नियन्त्रण, विद्युत् सुरक्षाको सावधानी र मितव्ययी उत्सवलाई प्रोत्साहन गर्नुपर्छ।
अन्त्यमा लक्ष्मी पूजाको दीपले घर उज्यालो बनाओस्, कुकुर तिहारको प्रेमले प्राणीप्रतिको करुणा जगाओस्, महाकवि देवकोटाको साहित्यले नेपाली मनमा ज्ञान र सिर्जनशीलताको ज्योति फैलाओस्, नरक चतुर्दशीले विकारमाथि विजय प्राप्त गर्ने शक्ति प्रदान गरोस्, सुखरात्रीले परिवार तथा समाजमा शान्ति र समृद्धि ल्याओस् र विश्व रेडियोग्राफी दिवसले विज्ञान तथा प्रविधिको माध्यमबाट मानव जीवनलाई सुरक्षित बनाउने प्रेरणा प्रदान गरोस्। हामीले धर्मलाई मानवताको आधार, संस्कृतिलाई राष्ट्रिय पहिचान, साहित्यलाई सामाजिक चेतना र विज्ञानलाई मानव कल्याणको माध्यम बनाउन सक्नुपर्छ।
वास्तविक समृद्धि बैंक खातामा रहेको सम्पत्तिले मात्र मापन हुँदैन; स्वस्थ शरीर, स्वच्छ विचार, संस्कारित समाज, शिक्षित नागरिक, संरक्षित प्रकृति र न्यायपूर्ण राष्ट्रबाट समृद्धिको वास्तविक पहिचान हुन्छ। दीपावलीको उज्यालोसँगै अज्ञानको अन्धकार हटाऔँ, देवकोटाको मानवतावादी चेतनालाई आत्मसात् गरौँ र विज्ञान तथा प्रविधिको सदुपयोग गर्दै समुन्नत, समृद्ध, सभ्य र आत्मनिर्भर नेपालको निर्माणमा हातेमालो गरौँ।
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा लक्ष्मी पूजा, कुकुर तिहार, नरक चतुर्दशी तथा सुखरात्रीको हार्दिक मंगलमय शुभकामना। महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रति भावपूर्ण श्रद्धासुमन तथा विश्व रेडियोग्राफी दिवसका अवसरमा सम्पूर्ण रेडियोग्राफी तथा स्वास्थ्यकर्मीहरूमा उच्च सम्मान व्यक्त गर्दछौँ। माता लक्ष्मीको कृपा, आरोग्य, सुख, शान्ति, ज्ञान, विवेक र समृद्धि सबैको जीवनमा छाइरहोस्।
(लेखक डा. के. बि. सम्राट पशुपति अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष तथा राष्ट्र संरक्षण साप्ताहिकका सम्पादक हुनुहुन्छ)
