अन्य थप

देवघाटधामको ऐतिहासिक रहस्य र गुरुकुलम आश्रम : सनातन धर्म, ऋषि परम्परा, वेद–वेदाङ्गको ज्ञान, तपस्या, संस्कृत शिक्षा र आध्यात्मिक चेतनाको अनुपम तीर्थभूमि

Share to:

रासंसा/काठमाण्डौ, कार्त्तिक १८,


डा. के. बि. सम्राट
नेपालको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा आध्यात्मिक पहिचान बोकेको पवित्र तीर्थस्थलमध्ये देवघाटधाम एक विशिष्ट महत्त्वको धाम हो। चितवन, तनहुँ र नवलपुर जिल्लाका क्षेत्रको धार्मिक तथा सांस्कृतिक सङ्गमका रूपमा परिचित देवघाट केवल नदीहरूको सङ्गमस्थल मात्र होइन, यो सनातन वैदिक सभ्यता, ऋषिमुनिहरूको तपस्या, धार्मिक आस्था, योग–ध्यान, संस्कृत शिक्षा र मानव कल्याणको गहिरो आध्यात्मिक केन्द्र पनि हो।
कालीगण्डकी र त्रिशूली नदीको पवित्र सङ्गमबाट बनेको नारायणी नदीको तटमा अवस्थित यस धामले हजारौँ वर्षदेखि धार्मिक विश्वास, सांस्कृतिक निरन्तरता र आध्यात्मिक साधनाको इतिहास बोकेको जनविश्वास छ। यहाँको प्राकृतिक सौन्दर्य, नदीको पवित्रता, मठमन्दिर, आश्रम, साधुसन्तको उपस्थिति र वैदिक संस्कारले देवघाटलाई नेपालको महत्त्वपूर्ण तीर्थस्थलका रूपमा स्थापित गरेका छन्।
देवघाटको वास्तविक महिमा यसको धार्मिक प्रसिद्धिमा मात्र सीमित छैन। यसको अर्को महत्त्वपूर्ण पक्ष हो—गुरुकुल शिक्षा र ऋषि परम्पराको संरक्षण। यही सन्दर्भमा गुरुकुलम आश्रमको भूमिका, उद्देश्य र योगदानलाई पनि गम्भीरतापूर्वक बुझ्न आवश्यक छ।
देवघाटधामको ऐतिहासिक तथा पौराणिक रहस्य : देवघाटलाई धार्मिक ग्रन्थहरूमा आदिप्रयाग, हरिहर क्षेत्र तथा देवताहरूको तपोभूमिका रूपमा वर्णन गरिएको पाइन्छ। वराहपुराण, स्कन्दपुराण, पद्मपुराण तथा हिमवत्खण्डमा यसको धार्मिक महिमासम्बन्धी प्रसङ्ग उल्लेख भएको विभिन्न धर्मग्रन्थहरुमा पाइन्छ ।
देवघाटको नामसँग जोडिएको एउटा गहिरो आध्यात्मिक मान्यता छ – यहाँ देवता, ऋषिमुनि र सिद्धपुरुषहरूले तपस्या तथा साधना गरेको पवित्र भूमि हो। धार्मिक आख्यानअनुसार यस क्षेत्रको जलमा स्नान, दान, जप, तप, श्राद्ध र तर्पण गर्नाले पुण्य प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ। यसलाई केवल धार्मिक विश्वासका रूपमा मात्र नभई नेपाली सभ्यतामा नदी, प्रकृति र मानव जीवनबीचको सम्बन्ध बुझाउने सांस्कृतिक सम्पदाका रूपमा पनि हेर्नुपर्दछ ।
देवघाटको विशिष्टता यसको नदी सङ्गममा छ। कालीगण्डकी र त्रिशूली नदीको मिलनपछि नारायणी नदीको प्रवाह सुरु हुन्छ। कालीगण्डकी शालिग्राम शिलाका कारण भगवान् विष्णुसँग सम्बन्धित पवित्र नदीका रूपमा प्रतिष्ठित छ भने त्रिशूलीको सम्बन्ध गोसाइँकुण्ड क्षेत्रसँग जोडिन्छ। यी दुई नदीको मिलनलाई धार्मिक दृष्टिले अत्यन्त पुण्यदायी मानिन्छ।
देवघाटका ऐतिहासिक सम्पदा र धार्मिक स्थल : देवघाट क्षेत्रभित्र रहेका विभिन्न धार्मिक स्थलहरूले यसको ऐतिहासिक पहिचानलाई अझ समृद्ध बनाएका छन्।
चक्रेश्वर मन्दिर: पाल्पाका राजा मुकुन्द सेनले यहाँ ध्यान तथा साधना गरेको धार्मिक इतिहाससँग सम्बन्धित स्थल।
हरिहर मन्दिर: भगवान् विष्णु र भगवान् शिवको एकात्म स्वरूपको उपासना गर्ने महत्त्वपूर्ण धार्मिक केन्द्र।
वसिष्ठ गुफा: ऋषि परम्परा र तपस्यासँग जोडिएको धार्मिक स्थल।
सीता गुफा: रामायणकालीन धार्मिक आख्यानसँग सम्बन्धित स्थल।
वाल्मीकि आश्रम: रामायण परम्पराअनुसार महर्षि वाल्मीकिको तपोभूमि तथा सीता र लव–कुशसँग सम्बन्धित स्थल।
गलेश्वर आश्रम: धार्मिक साधना, संस्कृत शिक्षा, वैदिक अध्ययन र सामाजिक सेवामा योगदान पुर्‍याउँदै आएको संस्था।
यी स्थलहरूका ऐतिहासिक प्रमाण, स्थानीय जनश्रुति र धार्मिक आख्यानलाई छुट्टाछुट्टै अध्ययन गर्नु देवघाटको वास्तविक इतिहास बुझ्न आवश्यक छ।
देवघाटको ऐतिहासिक विकास र आधुनिक पहिचान : देवघाटको इतिहास केवल प्राचीन धार्मिक आख्यानमा सीमित छैन। आधुनिक नेपालको इतिहासमा पनि यस क्षेत्रको विकासका महत्त्वपूर्ण चरणहरू भेटिन्छन्। वि.सं. १९०४ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले देवघाटमा मेला लगाउने विषयमा स्थानीय नाथयोगीहरूलाई जारी गरेको रुक्का यहाँको धार्मिक गतिविधिको ऐतिहासिक अभिलेखमध्ये एक मानिन्छ।
त्यसैगरी वि.सं. २०२३ मा योगी नरहरिनाथको सक्रियतामा आध्यात्मिक सम्मेलन, वि.सं. २०३७ मा चितवन र तनहुँलाई जोड्ने झोलुङ्गे पुलको निर्माण, वि.सं. २०४२ मा राजा वीरेन्द्रबाट देवघाटलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने घोषणा र वि.सं. २०५० मा देवघाट क्षेत्र विकास समितिको गठन यस क्षेत्रको आधुनिक विकासका महत्त्वपूर्ण घटना हुन्।
यसरी देवघाट धार्मिक आस्थाको केन्द्रबाट क्रमशः शैक्षिक, सांस्कृतिक, सामाजिक तथा आध्यात्मिक गतिविधिको साझा केन्द्रका रूपमा विकसित हुँदै आएको छ।
गुरुकुलम आश्रम – प्राचीन ज्ञान परम्पराको आधुनिक पुनर्जागरण : देवघाटधामको अर्को महत्त्वपूर्ण पहिचान गुरुकुल शिक्षा परम्परा हो। यस सन्दर्भमा महेश संन्यास आश्रमअन्तर्गत सञ्चालित महेश संस्कृत गुरुकुल विशेष उल्लेखनीय छ। महेश संन्यास आश्रमका संस्थापक स्वामी डा. रामनन्द (रमाणानन्द) गिरिजी महाराजको सङ्कल्प र पहलमा वि.सं. २०५२ सालदेखि महेश संस्कृत गुरुकुल शैक्षिक संस्थाका रूपमा सञ्चालन भएको विवरण उपलब्ध छ। यसको उद्देश्य वैदिक सनातन धर्म, आर्य संस्कृति, संस्कृत भाषा तथा पूर्वीय ज्ञान परम्पराको संरक्षण, संवर्द्धन र प्रचारप्रसार गर्नु हो। हाल यस महेश सन्यास आश्रममा डा. रमाणानन्द जी माहाराज उत्तराधिकारी हुनुहुन्छ । यस्तै हरिहर संन्यास आश्रमका संस्थापक राष्ट्रसन्त ब्रह्मलीन स्वामी श्री १००८ परमानन्द सरस्वती महाराज हुनुहुन्छ।
उहाँ आद्यजगद्गुरु भगवान् शङ्कराचार्यको संन्यास परम्परामा दीक्षित त्याग, तपस्या र आध्यात्मिक साधनामा समर्पित सन्तका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँको जीवनको पूर्वार्द्धका तीन दशक हिमालयका गुफा तथा दुर्गम क्षेत्रमा तपस्या र साधनामा बितेको आश्रमको आधिकारिक परिचयमा उल्लेख छ। जीवनको उत्तरार्द्धका तीन दशक उहाँले नेपालको विभिन्न क्षेत्रमा सनातन वैदिक धर्मको प्रचार, गुरुकुल स्थापना, विद्यालय, आश्रम, मठमन्दिर, धर्मशाला, खानेपानी, बाटो तथा पुल निर्माणजस्ता सामाजिक सेवामा समर्पित गर्नुभयो।
गलेश्वर आश्रमको स्थापना अष्टाङ्गयोगसिद्ध योगीराज ईश्वरानन्द ब्रह्मचारी अर्थात् गलेश्वर बाबाले गर्नुभएको हो।
आश्रमको आधिकारिक ऐतिहासिक विवरणअनुसार उहाँ वि.सं. १९८० देखि देवघाट आउने–जाने क्रममा वि.सं. १९८२ मा यहाँ कुटी निर्माण गरी तपस्या र साधना गर्न थाल्नुभएको थियो। यही कुटीलाई गलेश्वर आश्रमको स्थापनाको आधार मानिन्छ।
योगीराज श्री ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा)को जन्म वि.सं. १९५४ साल फागुन शुक्ल द्वादशीका दिन ताप्लेजुङ जिल्लाको दोखु क्षेत्रमा भएको आश्रमको जीवनीमा उल्लेख छ।
बाल्यकालदेखि नै उहाँको रुचि योग, ध्यान, तपस्या र आध्यात्मिक चिन्तनमा थियो। उहाँले पाथीभरा क्षेत्रबाट आफ्नो साधनायात्रा सुरु गरी उत्तरकाशी, गङ्गोत्री, यमुनोत्री, शिवपुरी, गोकर्ण र अन्य पवित्र तीर्थस्थलमा साधना गर्नुभएको विवरण आश्रमले प्रकाशित गरेको छ।
पछि कालीगण्डकीको आध्यात्मिक महत्त्वबाट आकर्षित भएर देवघाटलाई आफ्नो साधनास्थल बनाउनुभयो। आश्रमको जीवनीअनुसार उहाँले २४ पटक गायत्री पुरश्चरण सम्पन्न गर्नुभएको थियो।
वि.सं. २०३२ साल जेठ शुक्ल द्वितीयाका दिन उहाँ ब्रह्मलीन हुनुभयो। तर उहाँले स्थापना गर्नुभएको आश्रम र गुरुकुलीय शिक्षाको परम्परा आज पनि निरन्तर छ।
गलेश्वर आश्रमको सबैभन्दा महत्त्वपूर्ण ऐतिहासिक योगदानमध्ये एक हो—श्री वेद–वेदाङ्ग संस्कृत विद्यालयको स्थापना। वि.सं. २०२३ साल पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन गलेश्वर बाबाले गुरुकुलीय शिक्षापद्धतिमा आधारित यस संस्कृत पाठशालाको स्थापना गर्नुभएको थियो। विद्यालयले वि.सं. २०२४ चैत १२ गते अस्थायी अनुमति प्राप्त गरेको अभिलेखमा उल्लेख छ।
यस गुरुकुलको प्रमुख उद्देश्य नयाँ पुस्तालाई वेद, वेदाङ्ग, संस्कृत भाषा, व्याकरण, साहित्य, ज्योतिष, दर्शन र वैदिक संस्कारको ज्ञान प्रदान गर्नु हो।
यसका साथै आधुनिक शिक्षाको आवश्यकता बुझेर कम्प्युटर शिक्षा तथा समसामयिक विषयहरूलाई समेत समेट्ने प्रयास गरिएको छ।
गुरुकुलीय शिक्षाको वास्तविक लक्ष्य विद्यार्थीलाई विद्वान् मात्र होइन, चरित्रवान्, अनुशासित, नैतिकवान् र सेवाभावी नागरिक बनाउनु हो। गुरुकुल शिक्षा भनेको केवल पुस्तक पढ्ने वा परीक्षा उत्तीर्ण गर्ने पद्धति होइन। यो गुरुको सान्निध्यमा अनुशासन, आत्मसंयम, सदाचार, सेवाभाव, नैतिकता, आध्यात्मिकता र व्यावहारिक जीवनकौशल सिकाउने समग्र शिक्षण पद्धति हो।
यस शिक्षाको मूल आधार गुरु र शिष्यबीचको ज्ञानात्मक, नैतिक तथा आध्यात्मिक सम्बन्ध हो। गुरुबाट प्राप्त ज्ञानलाई जीवनमा व्यवहारतः उतार्नु नै गुरुकुलीय शिक्षाको वास्तविक उपलब्धि हो।
गुरुकुलमा वेद, वेदाङ्ग तथा पूर्वीय वाङ्मयको अध्ययन अध्यापनका साथै औपचारिक शैक्षिक तहहरूमा अध्ययन गर्ने व्यवस्था रहेको संस्थागत विवरणमा उल्लेख छ। आधारभूत तहदेखि उच्च अध्ययनसम्मको शैक्षिक संरचना यसको विशेषता हो।
गुरुकुल शिक्षाका प्रमुख उद्देश्य र विशेषता :
गुरुकुलम आश्रमको शैक्षिक दर्शनलाई निम्न आधारमा बुझ्न सकिन्छ।
वैदिक ज्ञानको संरक्षण: वेद, उपनिषद्, पुराण, दर्शन, संस्कृत व्याकरण र वैदिक साहित्यको अध्ययन तथा अनुसन्धान।
चरित्र निर्माण: सत्य, अहिंसा, अनुशासन, परोपकार, सदाचार, सहिष्णुता र आत्मसंयमको विकास।
गुरु–शिष्य परम्पराको निरन्तरता: गुरुको मार्गदर्शनमा ज्ञान, संस्कार र जीवनोपयोगी व्यवहारको अभ्यास।
राष्ट्रियता र मौलिक संस्कृतिको संरक्षण: नेपाली मौलिक परम्परा, भाषा, साहित्य, संस्कृति र सभ्यताको पहिचानलाई नयाँ पुस्तामा हस्तान्तरण।
विश्वबन्धुत्व र मानवता: जाति, भाषा, भूगोल तथा सम्प्रदायभन्दा माथि उठेर मानव कल्याण, सहअस्तित्व र विश्वशान्तिको भावना विकास।
आधुनिक युगमा गुरुकुल शिक्षाको आवश्यकता : आजको विश्व विज्ञान, प्रविधि, कृत्रिम बुद्धिमत्ता, डिजिटल सञ्चार र तीव्र आर्थिक प्रतिस्पर्धाको युगमा प्रवेश गरिसकेको छ। तर आधुनिक प्रविधिको विकाससँगै मानव जीवनमा नैतिकता, अनुशासन, सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको आवश्यकता पनि उत्तिकै बढेको छ। शिक्षा केवल रोजगारी प्राप्त गर्ने साधन बन्नु हुँदैन। शिक्षाले व्यक्तिलाई असल नागरिक, जिम्मेवार परिवार सदस्य, नैतिक नेतृत्वकर्ता र मानवताप्रति समर्पित व्यक्तित्व बनाउन सक्नुपर्छ।
यस दृष्टिले गुरुकुल शिक्षाले आधुनिक शिक्षालाई पूरक योगदान दिन सक्छ। संस्कृत भाषा र वैदिक दर्शनसँगै विज्ञान, गणित, सूचना प्रविधि, वातावरण विज्ञान, अनुसन्धान पद्धति र समसामयिक विषयहरूको अध्ययनलाई पनि प्राथमिकता दिनुपर्छ। महेश संन्यास आश्रमसँग सम्बन्धित संस्थागत दृष्टिकोणले समेत प्राचीन संस्कृत ज्ञानको आधुनिक अनुसन्धान र प्रविधिमैत्री शिक्षासँगको समन्वयलाई महत्त्व दिएको देखिन्छ।
देवघाटधाम र गुरुकुलम आश्रमको सामाजिक तथा राष्ट्रिय योगदान : देवघाटधामको महत्त्व धार्मिक कर्मकाण्डमा मात्र सीमित राख्नु हुँदैन। यस क्षेत्रलाई राष्ट्रिय ज्ञान, अनुसन्धान, संस्कृति, पर्यटन र सामाजिक सेवाको केन्द्रका रूपमा विकास गर्न सकिन्छ। यसका लागि निम्न कार्यहरू विशेष महत्त्वपूर्ण छन्। देवघाटको प्राचीन इतिहास, पुरातात्त्विक सम्पदा र धार्मिक आख्यानहरूको वैज्ञानिक अनुसन्धान गरी आधिकारिक अभिलेख तयार गर्ने।
गुरुकुलम आश्रमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्कृत अध्ययन र अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने। वेद, उपनिषद्, योग, आयुर्वेद, दर्शनशास्त्र र संस्कृत साहित्यको उच्चस्तरीय अध्ययन तथा अनुसन्धानलाई प्रोत्साहन गर्ने।
आधुनिक विज्ञान र वैदिक ज्ञानबीच तुलनात्मक अध्ययन गर्ने अनुसन्धान केन्द्र स्थापना गर्ने।
गुरुकुलका विद्यार्थीलाई आधुनिक प्रविधि, अङ्ग्रेजी भाषा, कम्प्युटर शिक्षा र अनुसन्धान सीप प्रदान गर्ने। देवघाटको नदी, वनजङ्गल, धार्मिक सम्पदा र प्राकृतिक वातावरणको संरक्षण गर्ने।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक, सांस्कृतिक र शैक्षिक सम्मेलन नियमित आयोजना गर्ने।
देवघाटलाई धार्मिक पर्यटनसँगै शैक्षिक तथा आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बनाउने।
संरक्षणका चुनौती र राज्यको दायित्व :
देवघाटधामको ऐतिहासिक तथा आध्यात्मिक महत्त्व जति विशाल छ, यसको संरक्षणको जिम्मेवारी पनि त्यति नै गम्भीर छ। नदी कटान, बाढी, पहिरो, अव्यवस्थित भौतिक संरचना, प्रदूषण, फोहोर व्यवस्थापन, प्राकृतिक सम्पदाको क्षयीकरण र योजनाबिनाको सहरीकरण यस क्षेत्रका सम्भावित चुनौती हुन्।
गलेश्वर आश्रमसमेत विगतमा पहिरो र नदी कटानको जोखिममा परेको समाचार सार्वजनिक भएको थियो। यसले देवघाटका आश्रम, मठमन्दिर र सांस्कृतिक सम्पदाको दीर्घकालीन संरक्षणका लागि वैज्ञानिक योजना आवश्यक रहेको देखाउँछ।
यसैले नेपाल सरकार, देवघाट क्षेत्र विकास समिति, स्थानीय तह, धार्मिक संघसंस्था, गुरुकुल आश्रम र नागरिक समाजबीच समन्वय हुनुपर्छ। राज्यले देवघाटको संरक्षणलाई सामान्य पर्यटन विकासको विषयका रूपमा मात्र नहेरी राष्ट्रिय धार्मिक, सांस्कृतिक र शैक्षिक सम्पदाको संरक्षणको विषयका रूपमा लिनुपर्छ।
देवघाटलाई विश्वस्तरीय आध्यात्मिक तथा ज्ञान केन्द्र बनाउने सम्भावना : देवघाटमा रहेको प्राकृतिक शान्ति, धार्मिक वातावरण, वैदिक परम्परा, संस्कृत शिक्षा र आश्रम संस्कृतिले यसलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रशस्त सम्भावना प्रदान गरेका छन्।
महेश संन्यास आश्रम तथा महेश संस्कृत गुरुकुलको पहलमा आयोजित शास्त्रसभा र विद्वत् विमर्शले देवघाटलाई अन्तर्राष्ट्रिय शास्त्रीय अध्ययन तथा अनुसन्धानको केन्द्र बनाउने सम्भावना उजागर गरेको छ। सन् २०२६ मा आयोजित रमणानन्द प्रज्ञा शास्त्रसभामा नेपाल र भारतका विद्वान्हरूले यस विषयमा जोड दिएका थिए।
यदि देवघाटमा अन्तर्राष्ट्रिय वैदिक अध्ययन केन्द्र, संस्कृत अनुसन्धान विश्वविद्यालयस्तरीय कार्यक्रम, योग तथा ध्यान केन्द्र, डिजिटल पाण्डुलिपि संरक्षण केन्द्र र अन्तर्राष्ट्रिय विद्वत् सम्मेलनको व्यवस्था गर्न सकियो भने नेपालले विश्वसमक्ष आफ्नो प्राचीन ज्ञान परम्परालाई नयाँ पहिचान दिन सक्नेछ।
देवघाट हाम्रो आस्था मात्र होइन, राष्ट्रिय सभ्यताको जीवन्त धरोहर हो :
देवघाटधाम नेपालको धार्मिक, ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक पहिचानको महत्त्वपूर्ण आधार हो। यहाँका नदी, मन्दिर, गुफा, आश्रम, ऋषि परम्परा, साधुसन्त र गुरुकुल शिक्षाले नेपाली सभ्यताको गहिरो परिचय दिन्छन्। महेश संन्यास आश्रम तथा महेश संस्कृत गुरुकुलजस्ता संस्थाहरूले वैदिक ज्ञान, संस्कृत शिक्षा र गुरु–शिष्य परम्परालाई निरन्तरता दिने प्रयास गरिरहेका छन्। यस्ता संस्थाको संरक्षण र विकास गर्नु भनेको केवल धार्मिक संस्थाको संरक्षण गर्नु होइन, नेपालको मौलिक ज्ञान, संस्कार, संस्कृति र सभ्यताको संरक्षण गर्नु हो।
आजको पुस्ताले आधुनिक विज्ञान र प्रविधिको ज्ञान हासिल गर्दै आफ्नो मौलिक संस्कृतिको मूल्य पनि बुझ्न आवश्यक छ। पुरानो ज्ञानलाई अन्धविश्वासका रूपमा त्याग्ने होइन, त्यसको विवेकपूर्ण अध्ययन, अनुसन्धान र उपयोगी पक्षलाई आधुनिक जीवनसँग जोड्नुपर्छ। देवघाटको पवित्र सङ्गमले दुई नदीलाई एउटै प्रवाहमा मिसाएझैँ प्राचीन ज्ञान र आधुनिक विज्ञानलाई एउटै मानवकल्याणकारी धारामा प्रवाहित गर्न सक्नु नै आजको आवश्यकता हो।
देवघाटको महिमा नदीको सङ्गममा मात्र छैन, ज्ञान, संस्कार, साधना र मानवताको सङ्गममा पनि छ। गुरुकुलको महत्त्व भवनमा मात्र छैन, त्यहाँबाट निर्माण हुने चरित्रवान्, ज्ञानी, अनुशासित र सेवाभावी नागरिकमा छ। त्यसैले देवघाटधाम र गुरुकुलम आश्रमको संरक्षण, संवर्द्धन तथा विकास गर्नु राज्य, समाज, धार्मिक नेतृत्व, शिक्षाविद् र नयाँ पुस्ता सबैको साझा राष्ट्रिय दायित्व हो।
देवघाटको आध्यात्मिक ज्योति विश्वभर फैलियोस्, गुरुकुलको ज्ञान परम्परा पुस्तौँपुस्तासम्म जीवित रहोस् र नेपालको सनातन सभ्यता मानव कल्याणको प्रेरणास्रोत बनिरहोस्।
ॐ शान्तिः शान्तिः शान्तिः।
(लेखक आध्यात्मिक तथा धार्मिक खोजकर्ता एवं सेभ द नेशन मिडियाका अध्यक्ष हुनुहुन्छ)

Like