नेपाल सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको राजीनामा प्रधानमन्त्रीले मागेको भन्ने खबर पूर्णतः निराधार, भ्रामक र तथ्यहीन

अन्जन राज न्यौपाने
राष्ट्र संरक्षण डट कम
काठमाडौँ
— नेपाल सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको राजीनामा प्रधानमन्त्रीले मागेको भन्ने खबर पूर्णतः निराधार, भ्रामक र तथ्यहीन रहेको स्पष्ट पारेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले आईजीपीसँग राजीनामा मागिएको वा उहाँमाथि कुनै कारबाही गर्न लागिएको भन्ने हल्लाको खण्डन गर्दै प्रहरी संगठनलाई कमजोर बनाउने नियतले यस्ता भ्रामक समाचार सम्प्रेषण गरिएको बताएका छन्।
‘प्रधानमन्त्रीज्यूले आईजीपीको राजीनामा माग्नुभयो वा कारबाही गर्न लाग्नुभयो भन्ने कुरा हुँदै नभएको र भ्रामक सूचना हो,’ प्रवक्ता पोखरेलले भने, ‘यो सूचना कहाँबाट र कसरी चुहावट भयो भनेर प्रहरीले गरेको सामान्य आन्तरिक सोधपुछ मात्र हो।’
प्रवक्ता पोखरेलका अनुसार प्रहरी संगठनका आन्तरिक तथा संवेदनशील सूचनाहरू बाहिरिएको विषयमा प्रहरीले आफ्नै आन्तरिक संयन्त्रमार्फत सामान्य जाँचबुझ र सोधपुछ मात्र गरेको हो। यसलाई अतिरञ्जित बनाएर राजीनामा वा कारबाहीको रूपमा प्रचार नगर्नसमेत सरकारले आग्रह गरेको छ।
