प्रधानमन्त्री बालेन्द्र शाहको उद्घोष, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ
रासंसा/काठमाण्डौ, कार्तिक १६,
मुलुकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत ‘सही समय आएपछि सबैको गलत समय आउँछ’ भन्दै चेतावनी दिनुभएको छ । प्रधानमन्त्री बालेनले आइतबार फेसबुकमा स्टाटस लेख्दै एकदुई जना उम्किन्छु भनेर सपना नदेख्न चेतावनी दिनुभयो । गत शुक्रबार विभिन्न सञ्चारमाध्यममा प्रवेश गरेर पत्रकार पक्राउ गरिएको र केही मिडिया हाउसमा धरपकड भएको घटनापछि सरकारको आलोचना भइरहेको छ । समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गरिएको भन्दै पत्रकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रबाट विरोध भइरहेको छ । उहाँले लेख्नु भएको छ, ‘सही समय आएपछी, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’ पक्राउ परेका पत्रकार केही घण्टामै रिहा भए पनि घटनाबारे सरकारको जवाफदेहिता माग भइरहेको छ । पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री बालेन, उहाँको सचिवालय र गृहमन्त्री सुधन गुरुङको भूमिकामाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको हो । यसअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले २८ जना पत्रकारको सूचीबारे व्यङ्ग्यात्मक टिप्पणी गर्नुभएको थियो । उक्त पोस्टमा प्रधानमन्त्री बालेनले पनि ‘कुपण्डोल जाने मात्र पत्रकार, अरू कलाकार’ भन्दै प्रतिक्रिया दिनुभएको थियो । पत्रकार पक्राउ प्रकरणको विरोध भइरहेका बेला प्रधानमन्त्रीले दिएको पछिल्लो अभिव्यक्तिको आशय र लक्षित समूहबारे भने नखुलाएकादेखिन्छ ।
