धर्म–संस्कृति/रीतिथितिप्रदेश-४ [गण्डकी]मुख्य समाचारहेडलाइन

व्यास भगवानको जन्मस्थल तनहुँमा हो भनेर विश्वमाँझ चिनाउन ११ औँ ओमकार तथा हिन्दू महामिलन पर्व

Share to:


अन्जनराज न्यौपाने
गण्डकी प्रदेश

​दमौली (तनहुँ) — वेदका रचयिता महर्षि व्यास भगवान्को पावन जन्मस्थल दमौलीस्थित व्यास गुफा परिसरको धार्मिक तथा पौराणिक महत्त्वलाई विश्वसामु प्रचार-प्रसार गर्ने उद्देश्यका साथ “११ औँ ओमकार तथा हिन्दू महामिलन पर्व २०८३” आयोजना गरिएको छ।
​वेदानुयायी प्रतिष्ठानको आयोजनामा संचालनमा रहेको उक्त धार्मिक अनुष्ठानको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ। कार्यक्रममा व्यास क्षेत्रको ऐतिहासिक र धार्मिक पहिचानलाई विश्वभर उजागर गर्ने, वैदिक सनातन धर्मको संरक्षण गर्ने तथा धार्मिक पर्यटनको प्रवर्द्धन गर्ने विषयमा बृहत् छलफल एवं आध्यात्मिक जागरणका कार्यक्रमहरू सञ्चालन गरिनेछ।
​समारोहमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, वेदानुयायी प्रतिष्ठानका संरक्षक शान्ति स्वरुपानन्द दामोदर बाबा, व्यासका अध्येता काशीनाथ न्यौपाने, नर्मदेश्वर पीठका सन्त राम बाबा, र व्यास क्षेत्र विकास कोषका अध्यक्ष प्रेमप्रकाश भट्टराई लगायतका विशिष्ट धार्मिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहनेछ।
​त्यस्तै, पशुपति अन्नपूर्ण आश्रमका अध्यक्ष डा. के.बी. सम्राट, महर्षि संस्कृति विद्यालयका प्रधानाध्यापक चेतनारायण लामिछाने, धार्मिक व्यक्तित्व डा. रघुनाथ न्यौपाने, व्यास-३ का वडा सदस्य विनु श्रेष्ठ र व्यास ज्योति भजन कीर्तन सत्संग समितिका अध्यक्ष राजकुमार श्रेष्ठ लगायतले व्यास गुफाको धार्मिक पर्यटकीय सम्भावनाबारे विचार व्यक्त गर्नुहुने कार्यक्रम रहेको छ।
​वेदानुयायी प्रतिष्ठानका अध्यक्ष कृष्णकान्त काफ्लेको सभापतित्वमा हुने उक्त महामिलन पर्वको सञ्चालन महासचिव सत्यप्रसाद खनालले गर्नुहुनेछ। कार्यक्रममा विभिन्न क्षेत्रका साधु-सन्त, धार्मिक व्यक्तित्व तथा श्रद्धालु भक्तजनहरूको व्यापक सहभागिता रहने आयोजकले जनाएको छ।

Like