विश्व कल्याणका लागि त्रिदिवसीय महारुद्राभिषेक यज्ञ: वैदिक सनातन धर्मावलम्बीहरूलाई विशेष निमन्त्रणा

अन्जनराज न्यौपाने
काठमाडौं,
नेपाल महर्षि वैदिक फाउन्डेसनको आयोजनामा यही आउँदो २०८३ साल कार्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म त्रिदिवसीय विश्वकल्याण महारुद्राभिषेक यज्ञ भव्य रूपमा सञ्चालन हुने भएको छ। ब्रह्मानन्द सरस्वती ग्राम, दक्षिणकाली–१, काठमाडौंमा आयोजना गरिने यस ऐतिहासिक यज्ञमा सम्पूर्ण वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूलाई सहभागिताका लागि सादर निमन्त्रणा गरिएको छ।
भावातित ध्यान शिक्षिका बसुन्धरा पन्थी पौडेलका अनुसार ‘विश्वको नेतृत्वका लागि नेपाल’ भन्ने मूल उद्देश्यसहित ५२ वर्षअघि काठमाडौंको टुँडिखेलबाट उद्घोष गरिएको महाअभियान र महर्षि महेश योगीको नेपाल आगमनको स्मरणमा हरेक वर्षझैं यस वर्ष पनि यो महायज्ञ आयोजना गरिएको हो। राष्ट्रिय तथा प्राकृतिक विपत्तिमा दिवङ्गत भएकाहरूको मुक्तिको संकल्पसहित विश्व शान्ति र कल्याणको कामना गर्दै सञ्चालन हुने यस महायज्ञमा शास्त्रीय विधिपूर्वक महालक्ष्मीको विशेष आराधनासमेत रहनेछ।
यज्ञमा स्वेच्छाले स्वयं यजमान बन्न चाहने महानुभावहरूका लागि रु. ५,१११ (पाँच हजार एक सय ११) दक्षिणासहित नाम दर्ताको व्यवस्था मिलाइएको छ। भौतिक रूपमा उपस्थित हुन नसक्नेहरूका हकमा गोत्र, नाम र ठेगानाको आधारमा वैदिक पण्डितहरूबाट संकल्प गराइनेछ। वैदिक सनातन धर्मका सम्पूर्ण अनुयायीहरूलाई यज्ञ दर्शन गर्न र प्रसाद ग्रहण गर्न फाउन्डेसनले हार्दिक अपिल गरेको छ।
