भानु-१ को सडक ४ वर्षदेखि अलपत्र, स्थानीय सरकार मौन

तनहुँ ।
भानु, तनहुँ —भानु नगरपालिका वडा नं. १ स्थित स्वास्थ्य चौकी नजिकको सडक ३-४ वर्षदेखि स्तरउन्नति नहुँदा स्थानीय बासिन्दा मर्कामा परेका छन्। खाल्डाखुल्डी र पानीको डुबानका कारण आवतजावत गर्न समेत कठिन भएको भन्दै स्थानीयले गुनासो गरेका छन्।
स्थानीय युवा रूपक पन्थले यो अवस्थालाई स्थानीयका लागि दुर्भाग्य भएको बताएका छन्।
> “३-४ वर्षसम्म पनि सडकको स्तरउन्नति नहुनु हाम्रो लागि दुर्भाग्य हो। स्थानीय सरकार र सरोकारवाला निकाय मौन बसेका छन्। यो बाटोको हालत आजभन्दा ३-४ वर्ष अगाडिदेखि नै उस्तै छ, खाल्टो परेर पानी जम्ने, मान्छे हिड्नै नसक्ने अवस्था छ,” पन्थले भने।
उनले यस विषयमा ध्यानाकर्षण गराउँदै भने, “यहाँको टोल सुधार समितिले पनि पहल गर्न सक्छ। नजिकै वडा कार्यालय छ, वडा अध्यक्ष र सदस्यहरुले केही त गर्नुपर्यो। मेयर साब कहाँ हुनुहुन्छ? भोट माग्दा त बाटो बनाउँछु, पानी खुलाउँछु, युवालाई रोजगार दिन्छु भनेर भोट माग्नुभएको होइन? त्यो वाचा कहाँ गयो?”
स्थानीयले मेयरलाई खुला पत्र मार्फत आग्रह गर्दै केही दिनभित्रै सडकमा ग्राभेल हालेर मर्मत गर्न माग गरेका छन्।
“डोजर पनि आफ्नै नगरपालिकामा छ, टिप्पर पनि आफ्नै नगरपालिकामा छ। एक-दुई टिप ग्राभेल हाल्दैमा कसैको केही जाँदैन। राम्रो काम गर्नलाई चाँडोभन्दा चाँडो बनाउनुपर्यो,” पन्थको भनाइ छ।
स्थानीयको माग छ – आश्वासन होइन, तत्काल एक्सन चाहियो पन्थ भन्छन।
