प्रदेश-१प्रदेश-२प्रदेश-३ [बागमती]प्रदेश-४ [गण्डकी]प्रदेश-५ [लुम्बिनी]प्रदेश-६ [कर्णाली]प्रदेश-७ [सुदुर पश्चिम]मुख्य समाचारसमाचारहेडलाइन

तनहुँको किहुँमा नवनिर्मित प्रहरी चौकी भवनको भव्य उद्घाटन: नागरिक सेवा अझ प्रभावकारी हुने विश्वास

Share to:


अन्जन राज न्यौपाने
गण्डकी प्रदेश
​तनहुँ, ३१ भदौ २०८३

जिल्लाको भिमाद नगरपालिका-१ किहुँमा नवनिर्मित प्रहरी चौकी किहुँको भवनको एक औपचारिक समारोहबीच उद्घाटन गरिएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डिआईजी) दीपेन्द्र घर्ती क्षेत्रीज्यूको प्रमुख आतिथ्यमा उक्त नवनिर्मित भवनको उद्घाटन गरिएको हो।
​कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डिआईजी दीपेन्द्र घर्ती क्षेत्रीले आधुनिक भौतिक पूर्वाधारले प्रहरी कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि गर्न सहयोग पुर्‍याउने बताए। उनले नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति गराउन र अपराध नियन्त्रणमा प्रविधिमैत्री र जनमैत्री सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए।
​कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामकृष्ण अधिकारी, तनहुँ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) टेकबहादुर कार्की लगायतका सुरक्षा निकायका प्रमुखहरूको विशिष्ट उपस्थिति रहेको थियो।
​त्यस्तै, विशेष सुरक्षा गण बेलचौतारा तनहुँका प्रमुख, प्रहरी उपरीक्षक महेश थापा, प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक श्यामु अर्याल र राष्ट्रिय अनुसन्धान कार्यालयका उप-अनुसन्धान निर्देशक मनोज ढकालको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।
​स्थानीय तहको तर्फबाट भिमाद नगरपालिका वडा नं. १ का वडा अध्यक्ष दीपक आले र वडा नं. ६ का वडा अध्यक्ष श्यामसुन्दर जोशीले मन्तव्य राख्दै नयाँ भवनबाट यस क्षेत्रका बासिन्दाले अझ सहज रूपमा प्रहरी सेवा लिन सक्ने विश्वास व्यक्त गरे।
​स्थानीय आमा समूह, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय भद्रभलादमीहरू गरी करिब २०० जनाको उत्साहजनक सहभागिता रहेको उक्त उद्घाटन समारोहमा स्थानीय बासिन्दाले प्रहरी चौकीको आफ्नै भवन बनेकोमा खुसी व्यक्त गरेका छन्। नवनिर्मित भवन सञ्चालनमा आएसँगै किहुँ क्षेत्रमा शान्ति सुरक्षा सुदृढ गर्न र नागरिक-प्रहरीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।

Like