आकर्षक पर्यटकीय गन्तव्य बागलुङको चौरीखर्क
रासंसा/बागलुङ, भाद्र ६,
मुलुकमा बादलको लुकामारी, हरियो पाटन र रङ्गीचङ्गी बुकी फूलले ढकमक्क ढाकिएको स्वर्गजस्तै दृश्य, यो हो बागलुङ पश्चिमको निसीखोला गाउँपालिका –६ पातिहाल्ने र पूर्वी रुकुमको भूमे गाउँपालिकाको सिमानामा अवस्थित पर्यटकीय गन्तव्य चुङरी बुकी अर्थात चौरीखर्क। स्थानीय नरबहादुर घर्तिमगरले पछिल्लो समय चौरीबुकी हेर्न देशभरबाट मानिसहरु आउने गरेको बताउनुभयो। ‘यहाँ मानिसहरु देशभरबाट आउने गर्नुभएको छ ।’ उहाँले भन्नुभयो, ‘यहाँ काठमाडौं, पोखरा, दाङलगायतको ठाउँबाट मानिसहरु आउने गरेका छन्।’ चौरी बुकी घुम्न पुगेका ढोरपाटका हेमेन्द्र घर्ति मगरले चौरी बुकी गज्जब लागेको बताउनुभयो । हिमालको काखमा फैलिएको हरियो पाटन, बादलसँग लुकामारी खेल्ने डाँडाहरू, रङ्गीचङ्गी बुकी फूल र चिसो शीतल हावाले जोकोहीलाई मोहित बनाउने ठाउँ हो पूर्वी रुकुमको चुङरी बुकी । प्राकृतिक सौन्दर्य, जैविक विविधता र मनोरम हिमाली दृश्यका कारण पछिल्ला वर्षहरूमा चौरी बुकी आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। ‘यहाँको सबैभन्दा सुन्दरता हरियाली डाँडा हुन्, प्राकृति सुन्दरता हुन्, भेडाका ठुला–ठुला बथान हुन्।’ उहाँले भन्नुभयो, ‘अझ मौसम खुलेको समयमा त यहाँबाट देखिने हिमालको सुन्दरता बेग्लै हुन्छ ।’ घुम्नकै लागि चौरी बुकी पुगेका निसीखोलाका लोकेन्द्र सुनारले चौरी बुकी प्राकृतिक सुन्दरताले भरिएको बताउनुभयो । मौसम सफा भएका बेला यहाँबाट धौलागिरि, सिस्ने, पुथा हिमाल लगायतका हिमशृंखलाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। बुटवलदेखि घुम्न पुगेका आशिष थापाले चौरीखर्क पुग्दा आनन्द आएको बताउनुभयो। ‘टिकटकमा हेरेर यहाँ घुम्न आएका हौँ ।’ उहाँले भन्नुभयो ‘ठाउँ निकै रमाइलो छ, गज्जब छ ।’समुद्री सतहबाट करिब ४ हजार १०० मिटरभन्दा बढी उचाइमा रहेको चौरी बुकीमा वर्षायाम सुरु भएसँगै विभिन्न प्रजातिका बुकी फूलहरू फक्रिन्छन् । हरियो पाटनभरि रातो, निलो, पहेँलो, बैजनी र सेता फूलहरू ढकमक्क फुलेको दृश्यले यहाँ पुग्ने हरेक पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ। चौरी बुकी प्राकृतिक सौन्दर्यको मात्र होइन, स्थानीय कला, संस्कृति र जीवनशैलीको पनि परिचायक हो । यहाँ पुग्ने पर्यटकले स्थानीय समुदायको आत्मीय आतिथ्यता, परम्परागत खानपान र ग्रामीण जीवनशैलीको अनुभव गर्न सक्छन् । यसले स्थानीय पर्यटन व्यवसायसँगै आर्थिक गतिविधिलाई पनि टेवा दिएको छ । ‘चौरीखर्कको कारण रुकुम र पश्चिम बागलुङको व्यवसायमा टेवा पुगेको छ । उहाँले यातायात व्यवसायीले काम पाएका छन्, होटलमा पुग्नेहरुको संख्या बढ्दो छ, घोडचढी गर्नेहरुले पनि राम्रो आम्दानी गरिरहेका छन्, सबैतिर राम्रो भइरहेको बताउनुभयो। चौरीखर्क घुम्न पुगेका ढोरपाटनका व्यवसायी कृष्ण खनालले चौरीखर्कले बागलुङ पश्चिममा व्यवसायमा वृद्धि भएको बताउनुभयो। हरेक वर्ष हजारौँ पर्यटक यहाँ पुग्ने गरे पनि आवश्यक पूर्वाधारको विकास अझैं चुनौतीकै रूपमा रहेको छ । पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्गको पातिहाल्ने खण्डबाट नजिकै रहे पनि सडकको दुरावस्था छ। चौरी बुकीमा जति धेरै मानिसहरु पुग्छन् फोहोर पनि उत्तिकै बढ्दो छ । बाटोमा प्रशस्त मात्रामा प्लाष्टिकका फोहोरहरु देखिन्छन् । यसले जैविक विविधतामा नकरात्मक असर पार्नुका साथै यहाँ पुग्ने पर्यटकलाई चिन्तित तुल्याएको छ। चौरीखर्कमा घुम्न पुगेकी भविसरा मगरले फोहोर व्यवस्थापनको विषयमा सबै सचेत बन्नुपर्ने बताउनुभयो।
