अन्य थपदेशप्रदेश-२मुख्य समाचारहेडलाइन

गृहमन्त्री र मृतक यादवका परिवारबीच ८ बुँदे सहमति

Share to:

रासंसा/धनुषा, श्रावण १६,

मुलुकमा गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्युु भएका गणेश यादवको परिवारसँग आठबुँदे सहमति भएको बताएका छन् । मृतकका परिवारले राखेको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने, क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, मृतकका परिवारका सदस्यलाई निःशुल्क शिक्षाको सुनिश्चितता गर्नुपर्नेलगायत मागमा सहमति भएको गृहमन्त्री गुरुङले जानकारी दिए । यसबाहेक सरकारका तर्फबाट मृतकका बुबा र आमाको निःशुल्क उपचार गरिने, परिवारका सदस्यलाई रोजगारीको सुनिश्चितता गरिने सहमति भएको उनले बताए । लहानमा जिल्ला सुरक्षा समितिको बैठकपश्चात् गए राति गृहमन्त्री गुरुङ यादवको घर सिरहाको औरही गाउँपालिकाको तुलसीयाही पुगेका थिए । मृतक यादवका बुबा र आमा तथा आफन्तसँग भएको छलफलमा आठबुँदे सहमति भएको गृहमन्त्रीले बताए । सरकारको तर्फबाट गृहमन्त्री गुरुङ र मृतकका तर्फबाट उनका बुबा रामवृक्ष यादवले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । गृहमन्त्री गुरुङ र मृतकका बुबा रामवृक्ष यादवबीच भएको सहमतिअनुसार मृतकका परिवारलाई नेपाल सरकारको तर्फबाट १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइनेछ । सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा गोलबजारमा प्रदर्शन गरिरहेका बेला यही १४ साउनमा गोली लागेर गणेश यादवको मृत्यु भएको थियो । गोलबजार घटनाको छानबिनमा कुनै कमजोरी नहुने प्रतिबद्धता व्यक्त गर्दै गृहमन्त्री गुरुङले घटनामा दोषीलाई कारबाही गरिने बताए ।

Like