अन्य थपप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसमाचार

मन्त्री पुनको नेपालमा नवप्रवर्तन प्रवर्द्धन गर्न गैरआवासीय नेपाली विज्ञलाई आह्वान

Share to:

रासंसा/काठमाण्डौ, आषाढ ३१,

मुलुकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता र पेशाकर्मीहरूलाई नेपालको नवप्रवर्तन यात्रामा सक्रिय योगदान गर्न आह्वान गरेका छन् । उनले नेपालको आर्थिक रूपान्तरणका लागि विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकाससँग जोड्नुपर्नेमा जोड दिए। ‘हाम्रो उद्देश्य राष्ट्रको हित हुने र अर्थतन्त्रलाई बलियो बनाउने नवप्रवर्तनको विकास गर्नु हो,’ मन्त्री पुनले भने। ‘विदेशमा रहेका सक्षम नेपालीलाई प्राथमिकता दिँदै उनीहरूको ज्ञान र अनुभवलाई नेपालसँग जोड्ने वातावरण निर्माण गर्नुपर्छ ।’ विज्ञ, अनुसन्धानकर्ता, शिक्षाविद् तथा विदेशमा कार्यरत नेपाली पेशाकर्मीहरूसंगको छलफल कार्यक्रममा बोल्दै मन्त्री पुनले नवगठित मन्त्रालय अहिले शून्यबाट सुरुवात गरिरहेको बताउँदै यसको संस्थागत विकासका लागि स्वदेश तथा विदेशका नेपाली विज्ञहरूको सहकार्य अपरिहार्य रहेको बताए। उनले मन्त्रालयसँग हालसम्म समर्पित प्राविधिक टोली, स्पष्ट कार्य संरचना तथा आवश्यक कानुनी आधार तयार भइनसकेको स्वीकार गर्दै आगामी तीन महिनाभित्र संस्थागत संरचना निर्माणसँगै विश्वविद्यालयमा हुने अनुसन्धानलाई व्यावहारिक तथा उत्पादनमुखी अनुसन्धानमा रूपान्तरण गर्ने लक्ष्य रहेको बताए । उनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) सम्बन्धी कानुन पुरानो भइसकेकाले त्यसलाई समयानुकूल परिमार्जन गर्न पहल सुरु गरिएको पनि जनाए । मन्त्री पुनले नेपाली विश्वविद्यालयहरूमा नवप्रवर्तन केन्द्र तथा उत्कृष्टता केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउँदै गम्भीर अनुसन्धानमा संलग्न हुने अनुसन्धानकर्ताका लागि आवासीय सुविधा सहितका अनुसन्धान केन्द्र स्थापना गर्ने सोचाइ भै रहेको पनि जानकारी दिए ।

Like