अन्य थपदेशप्रदेश-३ [बागमती]समाचारहेडलाइन

वर्षाका कारण बाढीपहिरोले देशभरका मुख्य राजमार्ग ठप्प

Share to:

रासंसा/काठमाण्डौ, आषाढ ३०,

मुलुकमा लगातारको वर्षा, बाढी र पहिरोका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। निरन्तरको वर्षासँगै नारायणघाट-मुग्लिङ सडक खण्ड अन्तर्गत तुइन खोला नजिकै पहिरो खसेपछि दुईतर्फी यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। साँझ ७:०० बजेसम्मको आधिकारिक तथ्याङ्क अनुसार कान्तिलोकपथ, कालीगण्डकी करिडोर र कर्णाली राजमार्ग लगायतका दर्जनभन्दा बढी महत्त्वपूर्ण सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। काठमाडौं उपत्यका जोड्ने छोटो दुरीको कान्तिलोकपथ सडक खण्ड ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडा स्थित पाण्डुर, टाकुर्चे र भालु खोलामा पहिरो खसेका कारण पूर्ण रूपमा बन्द भएको छ। सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै काभ्रेस्थित बीपी राजमार्ग र कान्तिलोकपथको हेटौंडा–ललितपुर खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। अरनिको राजमार्गको सिन्धुपाल्चोक भोटेकोशी खण्ड भने एकतर्फी सुचारु रहेको छ। बागमती प्रदेशकै फाखेल–कुलेखानी सडक खण्ड र हेटौंडा–काठमाडौं जोड्ने सिसनेरी खण्ड पनि पहिरोका कारण बन्द छन्। कोशी प्रदेश अन्तर्गत पाँचथरको याङवरक गाउँपालिका स्थित मध्यपहाडी लोकमार्ग र इलामको मेची राजमार्ग पूर्ण रूपमा बन्द छन् भने भोजपुर खण्ड एकतर्फी रूपमा सञ्चालनमा छ। लुम्बिनी प्रदेशको गुल्मीस्थित कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग तथा अर्घाखाँचीको सालझन्डी–ढोरपाटन सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन्। गण्डकी प्रदेशको कास्कीस्थित पोखरा–ताङतिङ भित्री सडक खण्ड ठप्प छ भने नयाँपुल–घान्द्रुक सडक खण्ड एकतर्फी सुचारु रहेको छ। यस्तै, कर्णाली प्रदेशको हुम्लास्थित कर्णाली करिडोर र कालिकोटको कर्णाली राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा ठप्प भएका छन्।

Like