आज अक्षय तृतीया व्रत, शिव पार्वती विवाह महोत्सव, राष्ट्रिय याक दिवस मनाइदै

Share to:

अक्षय तृतीया व्रत, शिव पार्वती विवाह महोत्सव, राष्ट्रिय याक दिवस
अक्षय तृतीया व्रत
यस वर्षको अक्षय तृतीयाको चिरञ्जीवी तीथीमा हामी सबैलाई स्वागत छ । यो पर्व वैशाख शुक्ल पक्षको तेस्रो दिन मनाइन्छ । यो पर्वलाई “अक्षय” भनिन्छ जसको अर्थ अमर हुनु हो। यस दिन जे पनि गरिन्छ अक्षय अर्थात् सदा कायम रहन्छ। हिन्दू धर्ममा अक्षय तृतीयाको महत्व धेरै रहेको छ । यस दिन मानिसहरूले धन, समृद्धि, स्वास्थ्य र सुख प्राप्त गर्न विभिन्न उपायहरू अपनाउँछन्। मानिसहरूले अक्षत (चामलको दाना) र भाँडाकुँडामा दान गर्छन्। यस दिन विवाह, गृहकार्य, नयाँ व्यापार सुरु गर्ने आदिका लागि शुभ मुहूर्तहरू छन्। यी मुहूर्तहरूमा मानिसहरूले शुभ कार्यहरू सुरु गर्छन्।
• शिव–पार्वती विवाह भएको दिनको रूपमा पूजा गरिन्छ।
• त्रेता युगको आरम्भ पनि यही दिन भएको मानिन्छ।
कुनै पनि शुभ कार्य (विवाह, व्रत, दान, पूजा, निर्माण आदि) यो दिन मुहूर्त हेर्नु नपरीकनै गर्न सकिन्छ, किनकि यो दिनलाई स्वयम्‌ सिद्ध मुहूर्त मानिन्छ। आजको दिनको मुख्य आकर्षण अनि सरल व्याख्या सातु खाने दिनका रूपमा रहेको छ । सातु अर्थात् चना, जौ जस्ता गेंडागूडी अथवा अन्नलाई भुटेर तयार पारिएको पीठो । यो यात्रामा बोक्न सजिलो, सहजै पच्ने अनि अडिलो खानेकुरा हो । कृष्ण र सुदामाका प्रसङ्ग देखि पौराणिक काल अनि मानव सभ्यताका विभिन्न चरणमा सातु यात्राका क्रममा प्राय लिएर हिँड्ने चलन रहेको छ । आजको दिनलाई युगहरूको सुरुवाती दिनका रूपमा पनि लिइन्छ, आजकै तिथिबाटै औपचारिक रूपमा सत्य युगको सुरुवात भएको थियो भने महाभारतको युगको समाप्ति लगत्तै आजकै दिनबाट द्वापर युग समापन भई त्रेतायूग सुरु भएको हो । यसै उल्लास र उत्सर्गका साथ आज वैशाख शुक्ल तृतीयाका दिन नेपाल, भारत, बगंलादेश, म्यानमार, पाकिस्तान लगायत विभिन्न एसियाली देशहरू अनि एसियाली डायस्पोरामा विश्वभरि अक्षय तृतीया मनाइन्छ ।
• आज सातु खाने दिन हो, चढ्दो ग्रीष्म कालमा शीतलता प्रदान गर्न जौ, मकै, गहुँ आदिजस्ता अन्नहरू बेग्ला बेग्लै भुटेर, पिसेर तयार गरिएको पीठोको आज विशेष महत्त्व रहेको छ । माटोको भाँडामा माथिबाट भिजेको कपडाले छोपिएको पानीको शीतल अवयवसँग सातुलाई घोलेर खानुको मिठास अनन्य छ । अझ यस्ता सातु घोल्ने पानीमा अलैँची, सुकमेल, घयू, मह, मरिच, पिपला, सख्खर आदीजस्ता मरमसला र सुगन्ध मिसाएर सातुको स्वाद लिन पाएमा त उत्साह र उमगंको मिठास एकै पटक समाहित भएर आएको भान हुन्छ । यसरी सातु बनाउन सक्ने अन्नहरू प्राय सबै अकुंरण गर्न सक्ने अन्नहरु हुन्छन् । आजको आधूनिक विज्ञानले पनि नतमस्तक भई स्वीकारेको अकुंरणयोग्य अन्नहरूको महिमालाई प्राचीन काल देखिनै हाम्रो संस्कारमा समाहित गर्न सक्षम हाम्रो वैदिक सनातन संस्कार कति वैज्ञानिक छ, मनन योग्य कुरा हो । पौराणिक रूपमा अत्यन्त सफल मानिएका केही क्रियाकलापहरू आजकै लगनमा भएका हुन् जस्तै आजकै दिन देवाधिदेव महादेव र हिमालय पुत्री पार्वतीबिच विवाह भएको थियो भने सनातन धर्मको आधारशिला महाभारत पनि आजकै दिनको लगनदेखि वेद ब्यासले लेख्न थाल्नुभएको मान्यता छ । जे होस्, आजको दिन केही नयाँ र सकारात्मक आँट्नुभएको छ भने तपाईँ सफल हुने पक्का छ है, इतिहास साक्षी छ । अक्षय भन्ने बित्तिकै क्षय गर्न नसकिने, विध्वशं गर्न नसकिने अर्थ लाग्दछ, आउनुहोस् यस अक्षय तृतीयामा गरिने एउटा नौलो परम्पराका बारेमा कुरा गरौँ । आज अक्षय पुण्य प्राप्त गर्नका लागि वृद्धवृद्धाहरुलाई लौरो, छाता, खानेकुरा लगायत विभिन्न उपयोगी कुराहरू दान गर्ने चलन छ । अक्षय तृतीया यस अर्थमा अन्तर पुस्ता मायाका लागि पनि अत्यन्त महत्त्वपूर्ण दिन हो । अघिल्लो पुस्तालाई माया गर्न आजको दिनले एउटा अब्बल अभिव्यक्ति दिएको छ । अक्षय तृतीयामा आफ्ना प्रयोगकर्तालाई अक्षय माया ।
शिव पार्वती विवाह महोत्सव
परम्परागत विश्वासअनुसार अक्षय तृतियाकै दिन भगवान शिव र माता पार्वतीको विवाह सम्पन्न भएको मानिन्छ। त्यसैले यो दिनलाई हिन्दू धर्ममा अत्यन्त शुभ दिनको रूपमा लिइन्छ।
माता पार्वतीले हिमालय पर्वतको घरमा जन्म लिएर बाल्यकालदेखि नै भगवान शिवलाई पति रूपमा पाउने मनोकामनासहित घोर तपस्या गर्न थाल्नुभयो। वहाँले वर्षौँसम्म कठोर व्रत गरेर भगवान शिवलाई प्रसन्न पार्नुभयो। त्यसपछि ब्रह्माजी, नारदजी आदिको सहयोगमा अक्षय तृतियाकै दिन शिव र पार्वतीको विवाह सम्पन्न भएको थियो। यस दिनले नै दिव्य विवाहको प्रतीक र अक्षय प्रेम र समर्पणको प्रतीकको रूपमा मान्यता पाएको हो। त्यसैले, अक्षय तृतिया को दिन शिव–पार्वतीको विवाह महोत्सव पनि धेरै स्थानमा श्रद्धा र धूमधामका साथ मनाइन्छ।स्त्रीहरूले राम्रो पति वा वैवाहिक सुखका लागि गौरी–शंकर पूजा गर्छन् । दान धर्म गर्नाले अक्षय फल मिल्ने विश्वास छ। सुन, चाँदी, अन्न वा अन्य सम्पत्ति खरिद गर्नु लाभदायक मानिन्छ।
राष्ट्रिय याक दिवस
याक केवल एउटा पशु मात्र होइन, यो त हिमाली अर्थतन्त्रको बलियो आधार हो। दूध, दही, घ्यू र विश्वप्रसिद्ध याक चिजदेखि ऊन र ढुवानीसम्म, याकले शताब्दीऔँदेखि उच्च हिमाली समुदायलाई जीवनदान दिँदै आएको छ। यसले हाम्रो स्थानीय उत्पादनलाई विश्व बजारमा मौलिक पहिचान मात्र दिलाएको छैन, हिमाली सभ्यतालाई नै जीवन्त राखेको छ। हिमालको काख, कठोर भूगोल र प्रकृतिसँगको जीवन्त सहअस्तित्वको पर्याय हो, याक। हिमाली जनजीवन, संस्कृति र पर्यावरणको मेरुदण्ड मानिने यस अद्वितीय प्राणीको सम्मानमा आज नेपालमा दोस्रो ‘राष्ट्रिय याक दिवस’ मनाइँदैछ। परिवर्तित समयसँगै जलवायु परिवर्तन, प्रजनन समस्या र युवा पुस्ताको पलायनले यो पेशा संकटमा पर्न थालेको छ। दोस्रो राष्ट्रिय याक दिवसले हामीलाई यही चुनौतीसँग जुध्न र याक संरक्षणलाई साझा राष्ट्रिय दायित्वका रूपमा आत्मसात् गर्न घच्घच्याएको छ। कठोर हिउँ र चट्टानसँग जुध्दै यो पेशा जोगाउने याक पालक किसानहरू हिमाली जीवनका वास्तविक नायक हुन्। अब याक पालनलाई परम्परामा मात्र सीमित नराखी, आधुनिक प्रविधि र ‘याक पर्यटन’ सँग जोडेर व्यावसायिक रूपान्तरण गर्नु आवश्यक छ। राष्ट्रिय याक दिवस केवल एक उत्सव होइन, यो त हाम्रो हिमाली मौलिकता, जैविक विविधता र दिगो विकासप्रतिको साझा प्रतिबद्धता हो। याकको संरक्षण गर्नु भनेको हाम्रो हिमाल र त्यहाँको गौरवशाली सभ्यतालाई सुरक्षित राख्नु हो।

Like