अन्य थपदेशमुख्य समाचारविश्वसमाचारस्पेसलहेडलाइन

चन्द्रमाको नजिक पुगेका ४ अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

Share to:

एजेन्सी,

विश्वमा चन्द्रमाको परिक्रमा गरेर करिब १० दिनको अन्तरिक्ष यात्रापछि आर्टेमिस-२ मिसनका ४ जना अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किएका छन्। शुक्रबार उनीहरू चढेको ओरायन क्याप्सुल प्रशान्त महासागरमा अवतरण भएको हो। पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दाको अन्तिम १३ मिनेट निकै चुनौतीपूर्ण र खतरनाक थियो। यस क्रममा क्याप्सुलको बाहिरी तापक्रम २ हजार ७ सय ६० डिग्री सेल्सियससम्म पुगेको थियो। आधा शताब्दीभन्दा बढी समयपछि मानिसलाई चन्द्रमाको नजिक पुर्‍याएर सकुशल पृथ्वीमा फर्काउने यो पहिलो ऐतिहासिक मिसन थियो। नासाको इन्टिग्रिटी नाम दिइएको गमड्रप आकारको ओरायन क्याप्सुल क्यालिफोर्नियाको दक्षिणी तटमा स्थानीय समयअनुसार बेलुकी ५ बजेपछि प्यारासुटको सहायताले समुद्रमा खसेको थियो। अत्यधिक ताप र हावाको दबाबका कारण उत्पन्न प्लाज्माले गर्दा केही मिनेटका लागि यात्रीहरूसँगको रेडियो सम्पर्क समेत पूर्ण रूपमा विच्छेद भएको थियो। तर, सम्पर्क पुन: स्थापित भएसँगै क्याप्सुलबाट प्यारासुटहरू खुलेको देखिएको थियो जसले क्याप्सुलको गतिलाई करिब २५ किलोमिटर प्रतिघण्टामा झार्दै सुरक्षित रूपमा पानीमा अवतरण गरायो। यस यात्राले थुप्रै ऐतिहासिक कीर्तिमानहरू बनाएको छ। ग्लोभर चन्द्रमाको नजिक पुग्ने पहिलो अश्वेत, कोच पहिलो महिला र ह्यान्सन पहिलो गैर-अमेरिकी नागरिक बनेका छन्। उनीहरू पृथ्वीबाट ४ लाख ६ हजार ७ सय ७१ किलोमिटरभन्दा टाढा पुगेर सन् १९७० मा एपोलो १३ मिसनले बनाएको सर्वाधिक दूरीको कीर्तिमानलाई समेत तोडेका छन्। अप्रिल १ मा फ्लोरिडाको केप क्यानाभेरलबाट नासाको विशाल स्पेस लन्च सिस्टम (एसएलएस) रकेटमार्फत उडेको यो मिसनले कुल ११ लाख १७ हजार ५ सय १५ किलोमिटरको यात्रा तय गर्‍यो। यस मिसनमा अमेरिकी अन्तरिक्ष यात्रीहरू ५० वर्षीय रिड वाइसम्यान, ४९ वर्षीय भिक्टर ग्लोभर, ४७ वर्षीया क्रिस्टिना कोच र ५० वर्षीय क्यानेडियन अन्तरिक्ष यात्री जेरेमी ह्यान्सन सहभागी थिए। सन् २०२२ मा मानवरहित ओरायन क्याप्सुलको सफल परीक्षणपछि यो मानवसहितको पहिलो परीक्षण उडान थियो। यसको मुख्य उद्देश्य आगामी सन् २०२८ बाट अन्तरिक्ष यात्रीलाई चन्द्रमाको सतहमा उतार्ने र भविष्यमा मंगल ग्रहसम्म मानव अन्वेषण विस्तार गर्ने नासाको दीर्घकालीन योजनाको आधार तयार गर्नु हो। अघिल्लो उडानमा देखिएको समस्यालाई मध्यनजर गर्दै नासाका इन्जिनियरहरूले यसपटक पृथ्वीमा प्रवेश गर्ने बाटोमा परिवर्तन गरेका थिए। त्यस्तै, बोइङ र नर्थरोप ग्रुम्यानले एक दशकभन्दा बढी समय लगाएर विकास गरेको एसएलएस रकेट मानिसलाई सुरक्षित रूपमा अन्तरिक्षमा लैजान पूर्ण रूपमा तयार र सक्षम छ भन्ने कुरा पनि यो मिसनले सिद्ध गरेको छ। शितयुद्धको समयमा एपोलो मिसनमार्फत अमेरिका र सोभियत संघबीच अन्तरिक्ष होडबाजी चले जस्तै अहिले आर्टेमिस कार्यक्रममार्फत अमेरिकाले अन्तरिक्ष दौडमा चीनलाई उछिन्ने लक्ष्य राखेको छ। यस सफल अवतरणले लकहिड मार्टिन कम्पनीले बनाएको ओरायन अन्तरिक्षयानको हिट सिल्ड (तातो खप्न सक्ने क्षमता) लाई प्रमाणित गरिदिएको छ। अवतरणपछि नासा र अमेरिकी नौसेनाको टोलीले पानीमा तैरिइरहेको क्याप्सुलबाट चारै जना यात्रीको उद्धार गरी प्रारम्भिक स्वास्थ्य परीक्षणका लागि नजिकैको पानीजहाजमा लगेका छन्।

Like