आज आमलकी एकादशी व्रत, विश्व गैरसरकारी संस्था दिवस मनाइदै

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुन १५,

आमलकी एकादशी व्रत
राजा मान्धाता र वशिष्ठ मुनीको संवादमा पनि यो एकादशीको वर्णन सुन्न पाइन्छ । वशिष्ठ मुनीको प्रेरणाबाट अनि जानकारीबाट आमलकी एकादशीको महत्त्व चाल पाएर राजा मन्धाताले निरन्तर रूपमा यो एकादशीको व्रत लिन थालेको पाइन्छ । विष्णु पुराणमा उल्लेख भए अनुसार भगवान् विष्णुले थुक्ने क्रममा उहाँको दिव्य मुखभित्रबाट चन्द्रमा झैँ देखिने एउटा आकृति प्रकट भयो । उक्त चन्द्रविन्दु आकाश लोक हुँदै पृथ्वीमा झर्‍यो । पृथ्वीमा झरेको उक्त वस्तु बीज छेदन भई आमलक अर्थात् अमलाको बिरुवाका रूपमा पलायो र पछि रुखको रूप धारण भयो । त्यही बेलादेखि अमलालाई विष्णु अवतार सम्झिएर धार्मिक कार्यमा समेत चलाउने गरी पवित्र फलका रूपमा स्वीकार गरियो । यही कारण पूजादि कार्यमा अमलाको पात, हाँगा र फललाई प्रयोग गरिँदै आएको हो । पवित्र फल अमलालाई जटिबुटी औषधीका रूपमा समेत प्रयोग गरिन्छ । आयुर्वेदमा त्रिफलामध्येको एक महत्त्वपूर्ण फल अमला हो । यसको नियमित सेवनले शरीरका धेरै विकारहरू नाश हुने भनाई छ । महाशिवरात्रि र होलीको बिच समयमा पर्ने एकादशी आमलकी एकादशी हो । फाल्गुन शुक्ल पक्षमा पर्ने एकादशीलाई आमलकी एकादशी भनिन्छ । आमलकी एकादशीका दिन अमलाको वृक्षलाई भगवान् विष्णुको रूप सम्झेर पूजा गरिन्छ । त्यही भएर हिन्दु परम्परामा आमलकी एकादशीको पनि अन्य एकादशी झैँ विशेष महत्त्व छ । आमलकी अर्थात् अमला, त्रिफला जडीको मुख्य फल अनि शास्त्रले असाध्यै चर्चा गर्ने यो अमृत समान फल । जसरी भगवानमा विष्णु पूजनीय छन्, त्यसै गरी फलहरूमा अमला पवित्र र पूजनीय मानिएको छ । विष्णुले जब सृष्टिको रचनाका लागि ब्रह्मालाई पुकारा गर्नुभयो, त्यही बेला अमलाको रुखको उत्पत्ति भएको मानिन्छ । भगवान् विष्णु स्वयंले पनि अमलालाई आदि वृक्षका रूपमा प्रतिष्ठापित गर्नु भएको धार्मिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ । भगवान् विष्णुलाई समेत अत्यधिक प्रिय लाग्ने अमला खाँदा तीन गुणा धेरै शुभ फल प्राप्ति हुने शास्त्रीय भनाई छ । खासमा स्वर्ग र मोक्ष फलका लागि आमलकी एकादशीको व्रत बस्नु उचित मानिएको छ । एकादशी महात्मै अनुसार, एक नगरका सबै बासिन्दाहरू भगवान् विष्णुका भक्त थिए । उनीहरू सबैले हरेक एकादशी व्रतको नियमित पालना गर्दथे । एक पटक आमलकी एकादशीकै दिनमा सबै जना व्रत बसी मन्दिरमा जाग्राममा थिए । रातिको समय भएकाले एउटा धेरै हिंस्रक र असहिष्णु भोको सिकारी पनि सिकार खोज्दै खोज्दै त्यहाँ आइपुग्यो । सिकारीले मन्दिरमा पर्याप्त खानेकुरा देख्यो, तर धेरै मानिस भएका कारण उसले भोजन चोरेर भए पनि खाने सोच गर्‍यो, तर सकेन । उसले भोजनकै लागि भए पनि त्यो रात विष्णुका भक्तहरूसँगै जागै बस्ने निर्णय गर्‍यो । भोलिपल्ट बिहान भएपछि सिकारीसहित सबै भक्तजनहरू आ–आफ्नो घर फर्किए । समय बित्दै जाँदा सिकारीको अचानक मृत्यु भयो । तर सिकारीले नजानीकनै भए पनि आमलकी एकादशीको व्रत गरेको थियो । त्यही भएर मरे पनि सबै पापहरू नास भई उक्त सिकारीलाई पुण्य प्राप्त हुन गयो । उसको पुनर्जन्म एउटा राजकीय खानदानमा भयो ।
त्यस जन्ममा उक्त सिकारीको नाम राजा चित्र सेन रहन गयो । ऊ असाध्यै वीर, धार्मिक, सत्यवादी र विष्णुभक्त राज सदस्यका रूपमा देखापर्यो । दान धर्मवादी कार्यमा उसको तीव्र रुचि देखियो । समय बित्दै जाँदा उ राजपरिवारको सदस्यका नाताले सिकार खेल्न गयो, तर उ डाँकाहरूको चङ्गुलमा पर्‍यो । हातहतियारसहितका डाँकाहरूले उसलाई मार्ने तयारी गर्न थाले । उसलाई विभिन्न हतियारले डाँकाहरूले प्रहार गर्न थाले । तर कुनै पनि हतियारले उसलाई केही चोट पुर्‍याउन सकेन । अझ शस्त्रहरू प्रहार गर्न थाले, तर डाँकाहरूको प्रहारबाट आफूमा कुनै असर नपरेपछि उसलाई अचम्म लाग्यो । अझ पछि त डाँकाहरू उसलाई आक्रमण गर्न छाडेर आफू आफूमै झगडा र आक्रमण गर्न थाले । त्यही बेला एक अलौकिक शक्ति प्रकट भयो । उक्त शक्तिका कारण सबै डाकाको मृत्यु भयो । उसले अलौकिक शक्तिसँग सोध्यो, मेरो रक्षा गर्ने को हो ? जवाफ मिल्यो, पुर्वजन्मको आमलकी एकादशी व्रतको प्रभावले तिम्रो रक्षा भगवान् विष्णुले गर्नुभयो भन्दै आकाशवाणी भयो । यस्तो सुनेर उ सारै विष्णु भगवान्प्रति झन् धेरै कृतज्ञ बन्यो । सदा लागि विष्णुभक्त भई समर्पित बनेको पौराणिक कथा छ । पछि आएर राजा चित्र सेनले आफ्ना समस्त प्रजाहरूलाई आमलकी एकादशीको कथा बताए । आमलकी एकादशी व्रतको प्रभावले समस्त पापहरू नाश हुने धार्मिक विश्वास छ । यो एकादशी व्रत गर्नाले एक सय गाई दान गरेसरह फल प्राप्त हुने बताइएको छ । भगवान् विष्णुको मुखबाट उत्पत्ति भएको अमलाको रुखको पूजा गर्नाले विशेष धार्मिक फल प्राप्त हुने धार्मिक मान्यता छ । विभिन्न कारणले आमलकी एकादशीको व्रत बस्न नसकेका व्यक्तिहरूले यस एकादशीको स्मरण मात्रै गरे पनि पुण्य प्राप्त हुनेछ ।
विश्व गैरसरकारी संस्था दिवस
सन् १९४५ मा नव निर्मित संयुक्त राष्ट्र सङ्घको चार्टरको एक अनुच्छेदमा पहिलो पटक “गैरसरकारी सङ्गठन” शब्दले एउटा औपचारिक स्थान पायो। त्यहाँ गैरसरकारी सङ्गठनको परिभाषा कुनै पनि देशको सरकारको कुनै पनि प्रभावबाट मुक्त एउटा संस्था जसले गैर नाफा मूलक कार्यमा मात्र आफ्नो सहभागिता जनाउँछ भनेर उल्लेख गरियो। त्यसपछि अहिले सम्म आइपुग्दा प्रत्येक देशमा धेरै यस्ता गैरसरकारी संस्थाहरू छन् जसले हरेक सहर वा जिल्लामा हुने स्थानीय समस्याहरूको ध्यानाकर्षण ठुला राष्ट्र अथवा मञ्चमा गराउने गर्दछन्। नेपालमा कार्यरत गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको दर्ता तथा नियमन समाज कल्याण परिषद्ले गरिरहेको छ । समाज कल्याण ऐन २०४९ को अधीनमा रहेर सामाजिक कल्याण तथा विकासका काममा सहयोग गर्न चाहने संस्थाहरू यस परिषद्बाट स्वीकृति लिएर काम गरिरहेका छन् । थुप्रै यस्ता गैरसरकारी संस्थाहरूले समाज उत्थानको लागि दिएका योगदानहरूलाई थप हौसाउन हरेक वर्षको २७ फेब्रुअरीको दिन संयुक्त राष्ट्र सङ्घले विश्व गैर सरकारी संस्था दिवस मनाउने गरेको छ। आजको दिनको मूलभूत उद्देश्य भने “साथ र सहयोगको उत्सव मनाउ” भन्ने रहेको छ। आजको दिनले स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमा गैर-सरकारी संस्थाले समाजमा पुराएको योगदान र अन्य गतिविधिहरूको महत्त्वलाई विश्वसामु प्रस्ट पार्ने प्रयास गर्दछ। सबैभन्दा धेरै अमेरिका, बेलायत, जर्मनी, जापान, इटाली, स्वीजरल्यान्ड लगायतका मुलुकबाट सञ्चालित आईएनजीओ छन् ।२०४९/५० पछि नेपालमा एनजिओ तथा आईएनजीओ दर्ताको क्रम अत्यधिक धेरै छ । नेपाल जस्तो विकासोन्मुख देशमा गैरसरकारी संस्थाहरूले महत्त्वपूर्ण भूमिका महत्त्वपूर्ण हुन्छ । गैर सरकारी संस्थाहरू समाजको आवश्यकता हुन्, झन् नेपाल जस्तो विकाशको पथमा लम्किरहेको देशमा यी संस्थाहरूको योगदान अतुलनीय रहने गरेको छ। त्यसबाहेक आजको दिन ती सबै स्वयंसेवक, सदस्य र समर्थकहरूलाई उनीहरूले समाजमा पुराएको योगदानको लागि सम्झना गर्ने दिन पनि हो। यस्ता थुप्रै व्यक्तिहरू छन् जसले कुनै न कुनै रूपमा यस्ता गैर-सरकारी संस्थाहरूका कार्य र परियोजनाहरूलाई सफल पार्न आफूलाई समर्पित गरेका छन्। आजको दिन हामी सबैले एक पटक ती निस्वार्थ सहयोगीहरूलाई सम्झना गर्दै सम्मान दिन पर्छ। ती व्यक्तिहरूलाई हामीले दिने सम्मानले नै अन्य मानिसहरूलाई यस्ता गैर सरकारी संस्थाहरूसँग सहकार्य गर्न हौसला प्रदान गर्नेछ।

Like