अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

फागुनको चुनावमा होमिने, वैशाखमा महाधिवेशन गर्ने नेपाली कांग्रेस संस्थापन पक्षको निर्णय

Share to:

काठमाण्डौ/कार्तिक १७,

मुलुकमा नेपाली कांग्रेसको संस्थापन पक्षधर केन्द्रीय सदस्यहरूको भेलाले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधि सभा निर्वाचनमा होमिने र निर्वाचनलगत्तै पार्टीको १५ औं महाधिवेशन गर्ने निष्कर्ष निकालेको छ। संस्थापन पक्षले फागुन २१ गतेको निर्वाचनमा भाग लिनका लागि सम्पूर्ण पार्टी पंक्तिलाई सक्रिय रहन आह्वान गर्ने प्रस्ताव गरेको छ। नयाँ बानेश्वरमा बसेको भेलाले महाधिवेशनको मिति समेत प्रस्ताव गर्दै पार्टीको केन्द्रीय कार्यसमितिमा पेस गर्ने ७ बुँदे प्रस्ताव तयार पारेको हो। त्यसका लागि पौष १५ गतेभित्र क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण सम्पन्न गर्न, देशव्यापी घरदैलो अभियान सञ्चालन गर्न र निर्वाचनका लागि जागरण अभियानमार्फत संगठनलाई तयारी अवस्थामा राख्न प्रस्ताव गरिएको छ। भेलाले प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपछि २०८३ साल वैशाख २५, २६, २७ र २८ गते पार्टीको १५ औं केन्द्रीय महाधिवेशन गर्ने मिति प्रस्ताव गरेको छ। भेलाले प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रिय सभाका उम्मेदवारहरूको सिफारिस प्रक्रिया अघि बढाउन समेत सुझाएको छ। पार्टीभित्र अवसरको न्यायोचित वितरण हुनुपर्नेमा जोड दिँदै संस्थापन पक्षले समानुपातिक र राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरू बनाउँदा पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरू बाहेक, हालसम्म अवसर नपाएका व्यक्तिहरूलाई प्राथमिकता दिनुपर्ने प्रस्ताव गरेको छ। पार्टीको आन्तरिक संगठन सुदृढीकरणका लागि क्रियाशील सदस्यता छानबिन समिति र विधान संशोधन समिति तत्काल गठन गर्न पनि भेलाले प्रस्ताव गरेको छ। साथै, केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समितिमा अवसर नपाएका युवाहरूलाई उचित प्रतिनिधित्व गराउन माग गरिएको छ। केन्द्रीय सदस्य गुरु बरालका अनुसार यी प्रस्तावहरू संस्थापन पक्षको साझा धारणाको रूपमा पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिनेछ।

Like