एआईबाटै जन्माइयो मौरीको रानु

Share to:

रासंसा/काठमाण्डौ, २७,

नेपालमा कृत्रिम गर्भाधानबाट मौरीको रानु उत्पादन गर्न थालिएको छ। मौरीपालन विकास कार्यक्रम भण्डाराले एआई (आर्टिफिसियल इनसेमिनेसन) प्रविधिको प्रयोगबाट मौरीको रानु उत्पादन गर्न थालेको हो। नेपालमा गरिएको यो नौलो प्रयोग हो। ‘आर्थिक वर्ष २०७९/८० मा व्यावसायिक किट विकास केन्द्र हरिहर भवनको समन्वयमा अस्टे«लिया र अमेरिकाका मौरी प्रजनन विज्ञबाट चितवनमा मौरीको नश्ल सुधारसम्बन्धी तालिम सञ्चानल भएको थियो। उनीहरूबाट कृत्रिम गर्भाधानसम्बन्धी थाहा भयो,’ अम्गाईंले भने, ‘त्यसपछि हामीले निरन्तर प्रयास गर्‍यौं। अहिले हामी पाँचवटा रानु मौरी उत्पादन गर्न सफल भएका छौं ।’
चालु आर्थिक वर्षमा एआई प्रविधिबाट पाँचवटा रानु मौरी उत्पादन गर्न सफल भएको मौरीपालन विकास कार्यक्रम भण्डाराका प्रमुख सुजन अम्गाईंले जानकारी दिए। उनका अनुसार तालिम प्राप्त मौरी प्रजनन विज्ञ एलिस महर्जन र मौरीपालन विकास कार्यक्रमका प्राविधिकहरूको सहकार्यमा रानु मौरी उत्पादन गरिएको हो। मौरीपालन विकास कार्यक्रम भण्डाराले अघिल्लो आर्थिक वर्ष एउटा रानु मौरी उत्पादन गरे पनि त्यसलाई बचाउन नसकिएको जनाएको छ। नयाँ प्रविधिबाट उत्पादित रानु मौरीले मह उत्पादन बढाउन सहयोग पुर्‍याउने र त्यसमा रोग प्रतिरोधी क्षमता बढी हुने विश्वास उनको छ। तर यसको जीवनचक्र र असरबारे अध्ययन गर्न बाँकी नै रहेको उनले बताए। कृत्रिम गर्भाधनका लागि मौरी प्रजनन विज्ञले बढी उत्पादन दिने र रोग प्रतिरोधी क्षमता भएको गोलाबाट भाले मौरी छनोट गर्छन्। त्यसबाट सिमेन (वीर्य) निकाली प्रयोगशालामा राखेर कुमारी मौरीलाई गर्भाधान गराइन्छ। यसरी तयार हुने मौरीको फुलमा ग्राफ्टिङ प्रविधि प्रयोग गरी रानु निकालिने उनले बताए। मौरीको नश्ल सुधारका काम कम भइरहेको अवस्थामा कृत्रिम गर्भाधानबाट रानु उत्पादन गर्न सफल हुनु ऐतिहासिक कदम भएको अम्गाईंको भनाइ छ। ‘विदेशी मुलुकमा पनि एआई प्रविधिबाट रानु उत्पादन गरेको त्यति अभ्यास छैन,’ उनले भने, ‘नेपालजस्तो मुलुकका लागि यो ऐतिहासिक कदम हो।’ नेपालमा विदेशबाट २०५१ सालमा एपिस मेलिफेरा जातको मौरी ल्याइएको थियो। त्यसयता नश्ल सुधारका लागि विदेशबाट मौरी ल्याइएको छैन। किसान र मौरी प्रजनन विज्ञ मिलेर र्‍याफ्टिङ विधिबाट रानु मौरी उत्पादन गर्दै आएका छन्। मौरीपालन विकास कार्यक्रम भण्डाराले र्‍याफ्टिङ विधिबाट प्रत्येक वर्ष एक हजार पाँच सयको हाराहारीमा रानु मौरी उत्पादन गरेर किसानलाई बिक्री गर्दै आएको छ। अघिल्लो आर्थिक वर्ष र्‍याफ्टिङ विधिबाट विधिबाट एक हजार पाँच सय ५० वटा रानु मौरी उत्पादन गरिएको थियो। नेपालमा दुई लाख ४५ हजार गोला मौरी छन्। त्यसबाट चार हजार मेट्रिक टन मह उत्पादन हुँदै आएको सरकारी तथ्यांक छ। व्यावसायिक रूपमा मौरीपालन गर्ने किसान आठ हजारजति छन् भने मौरीपालनमा संलग्न किसानको संख्या ५० हजार हाराहारी रहेको उनले बताए। चालु आर्थिक वर्षमा पनि सोही हाराहारीमा उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए। हालसम्म आठ सय रानु मौरी उत्पादन भइसकेका छन्। बाँकी साढे दुई महिनाभित्र आठ सय उत्पादन गर्ने तयारी छ। फागुन–जेठ रानु मौरी उत्पादनका लागि उपयुक्त महिना मानिन्छन्। कार्यालयले दुई सय रुपैयाँमा किसानलाई रानु मौरी दिँदै आएको छ। माग अत्यधिक हुँदा किसानलाई पुर्‍याउन कठिन भएको उनले बताए। ‘बागमती प्रदेशमा प्रत्येक वर्ष चार हजार पाँच सय रानु मौरीको माग छ,’ उनले भने, ‘हाम्रो स्रोत साधनले त्यो मात्रामा उत्पादन गर्न सक्दैन।’

Like