आज गोरखकाली पूजा, चैते दशैँ

Share to:

रासंसा/काठमाण्डौ, चैत्र २३,

गोरखकाली पूजा
बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा असाध्यै धेरै महत्त्व छ । पृथ्वी नारायण शाह र बाबा गोरख बिचको भेट, पृथ्वी नारायण शाहको गोडामा पर्न गएको बान्ता र बाबा गोरखले पृथ्वी नारायण शाहलाई दिएको जहाँ जहाँ टेकिन्छ त्यहाँ त्यहाँ विजय हुनु भन्ने आर्सीवाद नै नेपाल एकीकरणको एउटा असाध्य बलको ऊर्जा र सामर्थ्यको कारण पनि मानिन्छ ।बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ । यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ । गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन् –
देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।
अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।।
हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो । गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सैयौं वर्ष देखि चलिआएको थियो । गणतन्त्र पछिका वर्षहरुमा यस्ता चलनहरुमा खासै वास्ता दिइएको छैन यद्यपि नेपाली भूमिको रक्षामा बाबा गोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ ।गौ रक्षा गर्नका लागि बाबा गोरख र गोरखकाली देवीको आशिष् नेपाली जनलाई थप चाहिएको छ । गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ । बाबा गोरखनाथ र गोरखकाली भगवतीको अनन्त कालसम्म जय होस् ।
चैते दशैं
दशैंको एउटा प्रतिबिम्ब चाड दशैं अर्थात् नेपालीहरुको महान चाड अनि नवरात्रिका रुपमा प्रसिद्ध सांस्कृतिक महत्व बोकेको पर्व । यो चैते दशैं पनि असोज कार्तिकमा आउने मुख्य दशैंको एउटा प्रतिबिम्ब चाड हो । यो चैते दसैँको महत्त्व नवमी सँग जोडिएर आउँछ यस कारण पनि चैते दसैँलाई रामले रावणमाथि विजय प्राप्त गरेको उत्सर्गका रूपमा लिइन्छ । आजकै दिन मर्यादा पुरूषोत्तम प्रभू श्री रामचन्द्र आफ्नो १४ वर्षे वनवास सकाएर अयोध्या फिर्नुुभएको मानिन्छ, आफ्नी श्रीमती सीताको अस्मिता रक्षार्थ अनि पापी रावणको दुस्साहस र असुरमुखी व्यवहारबाट संसारलाई जोगाउन भगवान श्री रामले रावणको वध गर्नुभएको थियो । यसरी रावणको वध गर्नकालागि देवी दुर्गाले रामलाई मद्धत गर्नुभएको थियो, आज राम अनि दुर्गा लगायत अन्य धेरै देवीदेवताको पूजा गरिन्छ । यी सम्पूर्ण कुराहरु वहाँको १४ वर्षे वनवास भित्रै भएको थियो र आज अर्थात चैते दशैंका दिन वहाँको सकुशल आगमन भएकोमा अयोध्यावासी लगायत सबैले असत्यमाथी सत्यको जितको रुपमा चैते दशैं मनाएका हुन् भन्ने सामाजिक मान्यता रहेका छन् । यस वर्षको चैतेदशैं सम्म आईपुग्दा एकतर्फ गएको वर्षको विदाईको तर्कना छ भने अर्को तर्फ नयाँ वर्षको रौनक चढेको छ । पुराना कथनहरुका अनुसार पहिले पहिले मुख्य दशैं चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, माैसम बदली साथै दशैंको गरिष्ठ भोजन अनि हिँडडूलले धेरैजना बिरामी परेपछी दशैंलाई वर्षको मध्यमा सारीएको मान्यता छ । जे होस् जसो होस्, चैते दशैंको रौनक पनि कम छैन् । चैते दशैंलाई कतिपय ठाँउमा सानो दशैं भन्ने चलन पनि छ भने भारत, बंगलादेश अनि म्यानमारमा चैते नवरात्रि भन्ने चलन पनि छ । चैत शुक्ल अष्टमिका दिन उपत्यकाभित्र गुह्येश्वरी, दक्षिणकाली, शोभाभगवती, रक्तकाली, नक्साल भगवती, मैतिदेवी र संकटामा बिहानैदेखि दर्शनार्थीको घुँइचो लाग्ने गर्दछ । तलेजु भवानी, हनुमान ढोका दरवार स्क्वायर, भक्तपुर दरवार स्क्वायर लगायतका उपत्यकाका मन्दिरहरुमा आज वली दिईन्छ र यस्ता वली दिने कार्यक्रमहरुमा नेपाली सेनाको समेत सहभागीता रहन्छ । वलीका क्रियाकलापहरु पर्यटकहरुले सार्वनजिक रुपमा हेर्न पाउँछन्, पर्यटकिय रुपमा पनि आजको चाड उत्तिकै महत्पूर्ण छ । अर्कोतर्फ प्राचिन समय देखिनै काठमाण्डौ उपत्यकाका यी देवालयहरुमा वली चढाउने क्रम निरन्तर चलिरहेको छ । उपत्यका बाहिर पनि भगवति मन्दिरहरु अनि शक्तिपीठहरुमा समेत दर्शनार्थीको घुँइचो हुने गर्दछ । कतिपय भगवती मन्दिर क्षेत्रमा भने भव्य मेला लाग्ने गर्दछ । वास्तवमा दशैं भन्ने वित्तिकै दशमी भन्ने बुझिन्छ, तर फेरि नेपालमा दशैंको रौनक भने अष्टमीको दिन बली दिने कुराहरुमा केन्द्रित रहन्छ । आजको दिन पनि तिथीका हिसाबले अष्टमी हो । दानवीय शक्तिमाथि दैवी शक्तिको विजय उत्सवका रुपमा मनाइने चैते दशैंमा पनि मुख्य दशैंमा झै विभिन्न शक्तिपीठहरुमा पशुवली भोग दिने गरिन्छ । मुख्य दशैंमा झै चैते दशैंमा पनि दुर्गा पुजा गरी मिष्ठान्न भोजन चढाइन्छ । देवी मन्दिरहरुमा देवी भागवत पाठ पारायण तथा कालिका पुराणका देविस्त्रोतहरु पाठ गरिन्छ । घरमा उपलब्ध खाद्यान्न परिकारहरुलाई बनाई तुल्याई खाई रमाइलो गरी चैते दशैं मनाइन्छ । आज अशोकको फूल खाने गरिन्छ । फुल खादा रोगब्याधी नष्ट हुने आम विश्वास छ । छोरी चेली लगायत दिदि वहिनी अनि कर कुटुम्भहरुलाई बोलाएर खुवाउने चलन रहेको छ । माशांहारीरुले माछा मासु खाने चलन छ र यसकालागि जनावरहरु वली दिईन्छ भने शाहाकारीहरुले भने घिरौला, भाण्टा , कुभिन्डो या अन्य फलफूललाई खुट्टाको टेको लगाएर वली दिने चलन छ । असत्य अनि असमानता घटदै जाओस्, सत्य अनि सत्यवक्ताको सधैँ जित होस् । असत्य भन्दा सत्यको महत्व जिवन्त हुन्छ र भईरहोस् । जय होस् !!!!

Like