आज विश्व अटिजम जागरूकता दिवस
रासंसा/काठमाण्डौ, चैत्र २०,
मुलुकमा अटिजमको बारेमा सचेतना दिने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिँदै संयुक्त राष्ट्रसङ्घको आव्हानमा यस वर्ष पनि विश्वभरि यो दिवस मनाइदैछ । अटिजम जागरूकता दिवस अटिजम स्पेक्ट्रम डिसअर्डर को बारेमा जागरूकता र समझदारी बढाउन र अटिजम भएका व्यक्तिहरूको समावेशीकरण र स्वीकृतिलाई बढावा दिन हरेक वर्ष अप्रिल २ मा मनाइने वार्षिक दिवस हो। संयुक्त राष्ट्र सङ्घको महासभाले अप्रिल २ लाई विश्व अटिजम सचेतना दिवसका रूपमा तोक्न सर्वसम्मतिले मतदान गरेपछि पहिलो पटक अटिजम जागरूकता दिवस सन् २००८ मा यो दिवस मनाइएको पाइन्छ । अटिजम सामान्यतया प्रारम्भिक बाल्यकालमा पत्ता लाग्छ यद्यपि यो कहिलेकाहीँ वयस्क जीवनमा पनि पत्ता लागेको पाइन्छ। अटिजमको यति मात्र लक्षण हुन भनेर भन्न सकिने अवस्था नभए पनि सामान्यतया अटिजमका केही सामान्य लक्षणहरू यस प्रकार हुन सक्छन् . अटिजम, वा अटिज्म स्पेक्ट्रम डिसअर्डर एएसडी, एक न्यूरोडेवलपमेन्टल समस्या हो जसले मानिसको सामाजिक अन्तरक्रिया, सञ्चार र व्यवहारलाई असर गर्छ। यो एक स्पेक्ट्रम डिसअर्डर हो जसको लक्षण र विशेषताहरू व्यक्तिहरू पिच्छे फरक फरक वा समान पनि हुनसक्छ । सामाजिक अन्तरक्रिया र कुराकानी गर्न या कुनै पनि प्रकारको सञ्चार समन्वय गर्न कठिनाइ, इन्द्रियहरू र संवेदनशीलता वा संवेदना प्रशोधनमा समस्या, व्यवहार वा दिनचर्या दोहोरिने, एउटा गतिविधि वाट अर्को गतिविधिमा जाँदा वा वातावरण परिवर्तन गरिँदा कठिनाइ अथवा भनौँ कुनै पनि प्रकारको परिवर्तन स्विकार्न गाह्रो हुने, कुनै विशेष विषय वा वस्तुहरूमा गहन चासो हुने गर्दछ र अटिजमको विषयमा मुख्य बुझ्नु पर्ने कुरा भनेको सही अवसर र मार्गदर्शन पाएमा अधिकांश अटिजम सहितका व्यक्तिहरू सफल जीवन यापन गर्न सक्षम हुन्छन्। संसारमा यस्ता धेरै अटिजम सहितका व्यक्तिहरू छन् जो सामाजिक तथा व्यवसायीकरण आत्मनिर्भर भएर बाँचेका छन्। नेपाल अकाडमी अफ साइकोलोजीका अनुसार अटिजम भएका सबैमा यी सबै लक्षणहरू एकमुस्टरुपमा हुन्छन् भन्ने हुँदैन ननै अटिजम सहितका व्यक्तिहरू एक प्रकारका हुन्छन् र यी लक्षणहरू अटिजमको पहिचानमा सहायक सिद्धभएतापनि यी लक्षणहरूकै आधारमा अटिजम भएका व्यक्तिहरूलाई सीमित घेरामा राखी व्याख्या गर्नु उचित हुँदैन। आज न्युरोडाइभरसिटिको अवधारणा विश्वभर गुँजिरहेको अवस्थामा अटिजमलाई समस्याको साटो विविधताको रुपमा हेर्न जरुरी भएको छ र अटिजम सहितका व्यक्तिहरूका गुणहरू पहिचान गरी उपयोगमा ल्याउन सके सो व्यक्ति र समाज सबैका निमित्त फाइदाजनक हुन सक्तछ। अटिजमको कारण पूर्णतया बुझिएको छैन, तर अनुसन्धानहरू अनुसार आनुवंशिक र वातावरणीय कारक दुवै को भूमिका भएको पाइन्छ । अटिजमको कुनै उपचार छैन,
तर प्रारम्भिक उपचारले अटिजम भएका व्यक्तिहरूको लागि जीवनको गुणस्तर सुधार गर्न मद्दत मिल्न सक्छ।
विश्व अटिजम जागरूकता दिवस सन् २०२५ को नारा #Awareness – #Acceptance – #Appreciation: “Celebrate Differences,” अर्थात् भिन्नतालाई मनाउनुहोस् भन्ने अर्थ लाग्दछ । स्वीकारोक्ति र सशक्तताका साथ अब बाँच्ने मात्र हैन प्रतिस्पर्धा नै उत्रने भन्ने पनि अर्थ लाग्दछ । अटिजमको लक्षणहरू प्राय जन्म भएको ३ वर्ष भित्रनै बच्चाहरूमा देखिन थाल्ने गर्दछ । स्पेक्ट्रम डीसअर्डरका रूपमा लिइने यो स्वास्थ्य समस्याको खतरा केटी भन्दा केटाहरूमा ४ गुणाले बढी हुने गरेको पाइएको छ । आमा बुवाको उमेर धेरै भएपछि जन्मिएका बच्चाहरूमा अटिजमको खतरा हुने देखिने गरेको छ । चिकित्सकसँग निरन्तर परामर्शमा रहे अटिजमको रोकथाम गर्न सकिन्छ । निलो रङलाई शान्ति र समानताको प्रतिकका रूपमा लिएर अटिजम भएकाहरूको समावेशिता र समानताका लागि यस वर्ष पैरवी गरिएको छ । आज विश्व अटिजम जागरूकता दिवसका दिन संसारभर जन चेतनामूलक कार्यक्रमहरू गरी अटिजमलाई बुझ्ने प्रयास गरिँदै छ। हामी पनि यसमा सहभागी बनौँ ।