Share to:

रासंसा/काठमाण्डौ, चैत्र ०१,

तराई होली
मुलुकको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तराईमा सुन्दर भू–भागहरू छन् । ठुला–ठुला घरदेखि स–साना झुपडीसम्म, स्फूर्ति फलेका खेतदेखि धानका बालासम्म अनि विभिन्न भाषा अनि संस्कृतिबिच तराई नेपालमा शोभायमान छ । खोलानाला अनि उब्जाऊ माटोले सिञ्चित यो भूभाग नेपालको अन्न भण्डार अनि पौरखीहरूको थलो हो, जहाँ मानो खाएर मुरी उब्जाइन्छ । काठमाडौँ लगायत देशका विभिन्न भू–भागमा रङ्गबाट रङ्ग मंगिएकाहरु आराम गरिरहेका होलान् । अझ भनौँ, नेपालको पहाडी, भित्री मधेस अनि मध्य पहाडी भेगमा रङ्गमा रमाउनेहरूले हिजो रङ्ग अनि उमङ्ग साटासाट गरिसके । आज होलीमा पनि तराईका धेरै ठाउँहरूमा पारम्परिक नटुवा नृत्यका साथ नटुवाहरु नाच्छन् । तराईको पारम्परिक यी कलाकार समुदाय फागुको रङ्गमा नृत्य प्रस्तुत गर्दै एउटा गाउँबाट अर्को गाउँमा पुग्ने गर्छन् । साइकलका घण्टहरू अनि पाइडलका कुँई कुँई आवाज, खेतका आली आली कुदेका होलीका खेलाडी, घर पछाडिका परालको टाली अनि आँगन छेउको धानको भकारी । थालमा पस्किएको मालपुवा लगायत तरुवा, बगरुवा, माछा मासु अचार अनि तिल या आलसको अदुवा हालेर बनाएको छोपको अचार अनि विभिन्न मिठाईहरू आज विशेष महत्वसहित खाइन्छ । अब मोबाइल एप्स, सम्पूर्ण नेपाली जनलाई प्रविधिको एउटै सूत्रमा बाँध्ने सूत्रधार हो र यो सूत्रधारले के पहाड, के तराई नि के हिमाल ?
अब पालो तराईको, अझ भनौँ मधेशको ।

जोगिरा सररररर……..
कुन तालमे ढोलक नाचे कुन ताल मजीरा
कुन तालमे नटुवा नाचे कुन ताल नजारा
के बोलो सारारारारारारारारारारा
के बोलो सारारारारारारारारारारारा
जोगीरा सारारारारााराररारारा, यो गीत अनि वाक्यांशले तराईको जीवनशैलीलाई टपक्कै टिपेको छ । ढोलक अर्थात् चेप्टो खाले विशेष मादल, तराईको विशेष अनि मौलिक ढोलकको तालमा तराई बासीले कुनै पनि शुभ कार्य या चाडबाड या समारोहको जनाउ गर्छन् । अनि यो होली या फागुमा जोगीराको चर्चा चल्छ । ठ्याक्कै यकिन गरेर जोगीराको अर्थ निकाल्न गाह्रो छ, तथापि जोगीरा त्यो हो जो रङ्ग र भाँगको तालमा हूल बनाएर एक टोलबाट अर्को टोल, एक आफन्तकोबाट अर्कोमा अनि एउटा साथीकोबाट अर्को साथीको घरमा पुगी मालपुवा, नरिवल तथा अन्य सुख्खा बदाम, छोकडा खाएर एक आपसमा रङ्ग दलेर खुसीयाली साटासाट गरिन्छ । जोगी अर्थात् केही लिन÷दिनसँग वास्ता नभएको, सुख र दुःखको झेलमा नअल्झिएको अनि सम्पूर्ण रूपमा साधु जस्तो सांसारिक बन्धनबाट टाढिएको मानिस । जोगीरा, अर्थात् बिन्दास अनि निस्फिक्रीको मानिस । मजीरा अर्थात् आफूलाई जनाएको हो, फरक तालको नचाई तथापि एउटै समानता सरररररररररर भन्नाले मीठो नशाको रिँगटालाई व्यक्त गरिएको छ । जोगीरा हुन आज केही मात्रामा भाँगको घोटा पिइन्छ । भाँगको नशाले सबैलाई जोगीरा बनाउँछ कि बनाउँदैन त्यो त दैव जानुन् । तर भाँग लगायत अन्य नशालु पदार्थको प्रयोग र चाडबाडको सन्दर्भलाई फरक रूपमा देख्न जरुरी छ । तराईकै ढोलकको तालमा गफिऔँ, पूर्वी तराईका राजवंशी, सन्थाल, मुसहर, थारु, तथा अन्य विविध जातजातिहरू लगायत पश्चिमी भेगका नेपाली तराईबासीहरुसम्म आज यो रङ्गिन चाड मनाउँदै छन् ।
अब हामी यस विशेष दिन तराईमा पारम्परिक नृत्यको जग सम्हाल्दै आएका नटुवा समुदायको प्रसङ्ग उल्लेख गर्न चाहन्छौँ । डोरीको खाटमा बसेका धोती कुर्ता लगाउनुभएको हजुरबुबाले सुनाउनुहुन्थ्यो । त्यो म आज याद गर्दै लेख्दै छु । उहिले तराईमा अचेलजस्तो मनोरञ्जनका साधन थिएनन् । रमाइलो गर्न सीमापारिबाट आर्केष्ट्रा ल्याइन्थ्यो अनि विभिन्न गीतहरूमा नाच्दै अर्केष्ट्राका सदस्यले मनोरञ्जन गराउँथे । वारिपारि गाउँ थर्किने गरी तेर्सो पारिएको बडेमानको एम्पलीफायरमा आवाज अनि गीतहरू बजिरहन्थ्यो । यस्ता कार्यक्रमहरू नवरात्रि या अन्य चाडहरू जस्तै होलीताका ल्याइने चलन अझै छ । यसरी आएका आर्केष्ट्राका सदस्यहरूमा नाच्ने सदस्यहरूलाई नटुवा भनिन्छ । गाउँ–गाउँमा यस्ता नटुवाहरु हुन्छन्, जसले पुरुष भएता पनि महिलाको झैँ देखिने पैतलासम्मको फराक जस्तो पहिरन लगाएर घुमी–घुमी नाच्दै नृत्य प्रस्तुत गर्ने गर्छन् । वास्तवमा अचेलको जस्तो कृत्रिम रङ्गहरू नभई कन होलीको वास्तविक खेलिने रङ्गहरूमा, पहेँलोका लागि केशर, रातोका लागि अबिर या लालगुलाल पनि भनिन्छ । चामलको पिठो, चन्दन लगायत अन्य प्राकृतिक रङ्गहरूको चलन थियो । सुस्तरी यी कुराहरूलाई बजारमा सहज उपलब्ध रङ्गहरूले विस्थापन गर्दै गएको हो । ल है लगाएको रङ्ग त भोलीसम्ममा उत्रेला, तर होलीको यो भाइचारा र उत्साहका साथै सकारात्मक सोच कहिल्यै नघटोस् । तराई, पहाड र हिमाललाई यसले जोडिरहोस् । अझ होलीमा भक्त प्रह्लादलाई आगोमा जलाउन खोज्ने राक्षसनी होलीकालाई दहन गर्ने चलन छ । तराईमा गाई–गोरुको गोबरलाई सुकाएर आगोको दाउराका रूपमा प्रयोग गर्न गुइँठा बनाउने चलन छ । यस्ता गुइँठाहरूलाई खुल्ला ठाउँमा जम्मा गरेर अनि त्यसमा होलीकाको पुत्ला राखेर आगो बाली होलीका दहन गर्दै अन्यायमाथि न्यायको विजयको रूपमा विजय उत्सव मनाउने चलन पनि छ । सुस्तरी यस्ता चलन घट्दो क्रममा भने रहेकै छन् । मिथिला भूमिमा भने धनुषा धामको कचुरीबाट डोला उठाएर जटही लगायत महोत्तरीको मठियानी, जलेश्वर, डाम्ही, धनौरा हुँदै कन्चनवन आएर होली मनाउने धेरै पुरानो चलन छ । यस्तो डोलीको तिर्थालु पदयात्रालाई परिक्रमा भनिन्छ । कन्चनवनमा सकिएको परिक्रमा यात्रीहरू जनकपुरमा आएर अन्तगृह घुमेपछि होलीको समापन गरिन्छ । यस्ता पदयात्रामा राम अनि सीताका कथा अनि भजन गाइन्छ । कन्चन वन राम खेले होली भन्दै गीत गाइन्छ, यो अर्थमा भगवान् राम पनि कन्चन वनमा होली खेल्न आएको जनविश्वास र किंवदन्ती छ । होलीको छनक यस दिनमा अभूतपूर्व रहन्छ । फागु पूर्णेको दिन यसरी परिक्रमा सकिएर तिर्थालुहरु जनकपुरमा आइपुग्छन् । त्यसै दिन होली खेल्न नभ्याउने भएकाले अनि परिक्रमाका कारणले तिर्थालुहरु थाक्ने र सहर वासीहरू तिर्थालुहरुको सत्कारमा लाग्नुपर्ने भएकाले तराई होली फागु पूर्णेको भोलिपल्ट परेको हो । पश्चिम नेपाली तराईहरूमा भने माटोले होली खेल्ने चलन पनि छ । बहुतै सद्भावका साथ सूखा या भिजेको माटोको सुस्त लेप एक अर्कामा लगाएर होली प्रारम्भ गरिन्छ । आज तराई होली विशेषलाई बिट मारौँ । अर्को वर्ष फेरि तराईका परिवेश लिएर आउनेछौ । आज समस्त तराईले एउटै गीत गाउँछ होली हे
विश्व उपभोक्ता अधिकार दिवस
उपभोक्ता जागरूकता र अधिकार सँगै जोडेर यस वर्ष वा विश्व समुदायले स्वच्छ ऊर्जाको पनि पैरवी गर्न थालेको छ । दीर्घकालीन विकास योजना सँग रणनीतिक रूपमा जोडेर उपभोक्ता अधिकार र स्वच्छ ऊर्जा ट्रान्जिसनहरू मार्फत उपभोक्ताहरूलाई सशक्त बनाउँदै लैजाने कदमप्रति समर्थन अनि शुभकामना ।आजभन्दा लगभग ६१ वर्ष अघि सन् १९६२ मार्च १५ का दिन तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरेका थिए। यसै एतिहासिक दिवसको सम्झनामा विश्वभर मार्च १५ तारिखमा यो दिवस मनाइन्छ। केनेडीले उपभोक्ताका अधिकारहरूलाई सम्बोधन नगर्दासम्म विश्वमा उपभोक्ताका हक र अधिकारका कुराहरू खासै थिएनन् र पछि यी चार अधिकारका आधारमा संयुक्त राष्ट्रसङ्घको साधारण सभाबाट सन् १९८५ मा थप आठ अधिकारसहितको अनुबन्ध पारित भएको हो। संयुक्त राष्ट्रसङ्घबाट पारित उपभोक्ता संरक्षण अनुबन्ध १९८५ र उपभोक्ता संरक्षण ऐन २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद तथा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको छ। त्यसमा उपभोक्ताका आठ अधिकारमा सुरक्षा, सूचित, छनोट, सुनुवाइ, उपभोक्ता शिक्षा, क्षतिपूर्ति, आधारभूत आवश्यकतामा पहुँच र स्वच्छ तथा स्वस्थ वातावरणको अधिकार छन्। सोही आधारमा प्रत्येक राष्ट्रले उपभोक्ता कानुन पनि जारी गरेका छन् । राष्ट्रहरूले कानुन जारी गरे पनि उपभोक्ता अधिकारका अन्तर्निहित आधारभूत चार सिद्धान्तमा हामी प्रत्येक उपभोक्ता आफैँ सचेत हुनुपर्दछ । उपभोक्तालाई सचेत र जागरूक गर्ने दायित्व सरकार तथा वस्तु वा सेवा उत्पादन, आयात, सञ्चय वा बिक्री गर्ने प्रदायकहरूको हो। वस्तु वा सेवाका उत्पादक, प्रदायक वा बिक्रेताहरू उपभोक्ताप्रति जिम्मेवार हुनुपर्दछ किनभने समस्त माग र पूर्तिको श्रृखला अनि बजार संयन्त्र नै उपभोक्ताको रुचि र क्रय शक्तिमा नै निर्भर रहन्छ । उपभोक्ता नभई बजार सञ्चालन नहुने हुँदा उपभोक्ता बजारका सार्वभौम हुन् । त्यसैले उपभोक्तालाई अधिकार निक्षेपण गरिनुपर्छ र बजारमा उपभोक्तालाई सम्मान गरिनुपर्छ भन्ने आजको दिनले पैरवी गर्दछ ।
सन् २०२५ को नारा “A just transition to sustainable lifestyles” विश्व उपभोक्ता अधिकार दिवस २०२५ को विषयवस्तु अनुरुपको नाराका रूपमा नारा “ दिगो जीवनशैलीतर्फको न्यायपूर्ण रुपान्तरण “ चयन गरिएको हो । डिजीटल बजारमा उपभोक्ताको अधिकार संरक्षणार्थ यस वर्ष बिशेष पैरवी गरिएको पाइएको छ ।
मीन सङ्क्रान्ति
चैतको हुरीमा बतासमा पातहरू उडी उडी आँगन अनि बलेँसीमा दगुर्छन्, त्यसै गरी यो महिनामा मन पनि चलबल हुन्छ । सग्लै एउटा वर्षका ११ महिना बाँचेर आई सकियो, सुक्ख दुक्ख त जीवनका पाटा न भए, साथ सहयोग, सद्भाव, विर्सना अनि तिर्सना सँगाल्दै हामी आज यो मीन सङ्क्रान्ति को सँघारमा आई पुग्यौ है ।

महिनाको प्रथम दिनलाई सङ्क्रान्ति का रूपमा मनाउने कुरा त हामी सबैलाई थाहा नै छ, आज पनि विभिन्न तीर्थस्थल अनि देवालय लगायत पवित्र नदी तलाउ आदिमा स्नान गरेर आउँदो महिना शुभ रहोस् भनी याचना गरिन्छ । विशुद्ध संस्कृत अर्थ हेर्ने हो भने सङ्क्रान्ति भन्नाले परिवर्तन या परिवर्तनकारी समय भन्ने जनाउँदछ, उपसर्ग र प्रत्यय विभाजन गरेर हेर्ने हो भने सम र क्रान्ती मिलेर यो सङ्क्रान्ति शब्द बनेको छ जसको अर्थ पवित्र या धार्मिक परिवर्तन हो । यस अर्थमा हरेक महिनालाई परिवर्तनको घोतकका रूपमा लिइन्छ र वर्षभरिका हरेक सङ्क्रान्ति मा परिवर्तन हुन्छ । महिना सँगै मौसम, पहिरन, सोच अनि आहार विहारमा पनि परिवर्तन आउने पक्का छ । यसपाला पनि क्रमशः परिवर्तन भयो, जाडो अब सकिन थाल्यो अनि न्यानो र गर्मीको प्रवेश भयो । त्यसै कारणले त अब जाडोका लुगाहरूलाई धोई धाई गरेर थन्काउने दिन पनि आए त , कि कसो ? आजको दिन सूर्य कुम्भ राशिबाट मीन राशिमा प्रवेश गर्दछ । हरेक महिनाको सुरुवात सूर्यलाई पूजन गरेर मात्र गर्ने चलन ले यो संसारमा सूर्यको महत्त्व माथि प्रकाश पार्दछ । आखिर यस ग्रहका सम्पूर्ण तत्त्वहरूका श्रोत सूर्य नै त हुन् । तसर्थ सूर्यबाट जीवनमा सकारात्मक प्रभाव अनि आशा सञ्चारका लागी आज सबै जनाले आशिष् अनि सद्भावको अपेक्षा राख्दछन् । दिन दुखीलाई सहयोग अनि दान दक्षिणा गर्ने चलन पनि आज छ । चैतलाई मेला को महिनाका रूपमा पनि लिइन्छ, चैत वाट सुरु भएको मेला लाग्ने लहर वैशाख ज्येष्ठ हुँदै लगभग वर्षै भरि लाग्दछ । भर्खर काटिएका गहुँका खेतमा बाँकी गहुँका छ्वालीहरू माथि मेला लाग्दछन् ।

Like