स्वयम्भू क्षेत्र धार्मिक एवं सामाजिक सहअस्तित्वको अनुपम समाज हो – मेयर बालेन

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण १०,

मुलुकमा स्वयम्भू क्षेत्रलाई धार्मिक एवं सामाजिक सहअस्तित्व र सहभावमा आधारित अनुपम समाज भएको आदर्श भूमिका रुपमा चित्रण गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले यो विशेषताको नियमित प्रवर्धन गर्नु पर्ने बताएका छन् । उनले पर्यटन पूर्वाधारको विषय उठाउँदै भने, ‘सुक्ष्म पोषक तत्वयुक्त मौलिक खानाको विशेषता अतुलनीय छ । यसलाई प्याकेजिङ् गरेर प्रवर्धन गर्न सकिन्छ । प्याकेटको बाहिर खानामा पाइने तत्वहरु उल्लेख गर्ने हो भने खाना सेवाको व्यवसायिक उचाइ धेरै माथि पुग्नेछ । यससँगै कला र संगीत पनि पर्यटकका लागि चाख लाग्ने क्षेत्र हुन सक्छन् । महोत्सवका यस्ता पक्ष थप उजागर हुने अपेक्षा लिएका छौँ ।’ भुइँखेल चउर र धर्मचक्र पार्कमा आजदेखि सुरु गरिएको ‘स्वयम्भू महोत्सव’ उद्घाटन गर्दै बालेनले भने, ‘हिन्दू, बौद्ध, किराँत र बोन धर्मावलम्बीहरुको मिश्रित बसोबास भएको यस क्षेत्रका मानिसहरुका बिचको आपसी सम्बन्ध आत्मीय छ । आफ्नो धर्म मान्ने, अरुको धर्मको आदर गर्ने, धर्मावलम्बीप्रति सहभाव राख्ने यस प्रकारको समाज विरलै पाइन्छ । सद्भावयुक्त सामाजिक यो व्यवस्था उदाहरणीय र अनुकरणीय छ । यसलाई प्रवर्धन गर्नुपर्छ ।’ महोत्सवले स्वयम्भू क्षेत्रको सांस्कृतिक महत्व र पर्यटन प्रवर्धनमा दिगो मद्दत गर्ने धारणा राख्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, स्थानीय उत्पादनको बजारीकरण, मौलिक खाना र हस्तकलाका सामानको महत्व वृद्धि गर्न महोत्सवले टेवा दिने बताइन । महोत्सवमा करिब ६० वटा स्टलबाट प्रदर्शनी र सेवा प्रदान गरिएको छ । परम्परागत बाजा, वडाबासीका जन्मदेखि मृत्यु पर्यन्तका संस्कारसँग सम्बन्धित चित्र, संस्कृति र परम्परासँग सम्बन्धित चित्र, वुद्धको जीवनीसँग सम्बन्धित चित्र, हुलाक टिकट र मुद्रा प्रदर्शनी महोत्सवका आकर्षण हुन् । स्थानीयबासीले उत्पादन गरेका मौलिक सामान तथा बस्तु पनि प्रदर्शन, मौलिक खानाका स्टल, स्वास्थ्य परीक्षण, रक्तदानलगायत सेवा, रञ्जना लिपि लेखन, मुहार चित्रकारिता (फेस पेन्टिङ्) जस्ता क्रियाकलापले महोत्सव अवलोकन जाने सहभागीलाई सूचना, जानकारी र मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ । महोत्सव सुरु हुनु अघि सांस्कृतिक झाँकीसहित वडाका विभिन्न स्थानहरुको परिक्रमा गरिएको थियो । वडाको भौगोलिक अवस्थिति, धार्मिक, सांस्कृतिक तथा सामाजिक रीतिथिति र परम्परा, मठ मन्दिर, चैत्य, गुम्बासहितका प्राचीन स्मारकजस्ता विविधतायुक्त विशेषतालाई पहिचानका रुपमा स्थापित गर्न महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा सहभागी हुन जानेहरुका लागि चमती तर्फ र डल्लू आवासतर्फ सवारी पार्किङ्को व्यवस्था गरिएको छ । प्राचीनकालमा गोशृङ्गपर्वत क्षेत्रलाई सिंगु÷स्यंगु नामबाट स्वयम्भू हुन गएको भन्ने कथन पनि रहेको छ । स्वयम्भू स्तूपका चार दिशामा चार वटा पुर रहेका छन् । आग्नेय कोणमा बसुपुर (पृथ्वी), नैर्ऋत्य कोणमा वायुपुर (वायु), वायव्य कोणमा अग्निपुर (तेज) र ईशान कोणमा नागपुर (जल) रहेका छन् । यी हरेक पुरलाई स्वतन्त्र र सम्पूर्णताको संसारका प्रतीक मानिन्छ । स्वयम्भू महाचैत्य वडाको अभिन्न पहिचान हो । उपत्यकाभरि पानी जम्मा भएर पोखरी भएको प्राचीन कालमा स्वयम्भू उत्पत्ति भएको मानिन्छ । महामञ्जुश्री (बोधिसत्व) ले फूच्व, धिलाच्व, जामाच्व र सिपूच्व गरी चार दिशाबाट पोखरी खोलेर पानी बाहिर पठाएपछि बस्ती बनाएको मान्यता छ । बस्ती बसेपछि राजा बनाइएका प्रचण्डदेवले अर्धगोलाकार गुम्बज बनाएर स्वयम्भूको संरक्षण गरेका थिए । स्थूरको गर्भमा पञ्चबुद्ध (पञ्चतत्वको प्रतीक) चारतारा (चतुर्महाभूतको प्रतीक) विराजमान गराइएको छ । त्यसमाथि बुद्धका आँखा प्रज्ञा र उपायको रुपमा, प्रश्नबाचक चिन्ह सम्पूर्ण प्रकारका प्राणीहरुलाई उद्धार गर्ने प्रतीकका रुपमा राखिएको छ । अर्धगोलाकार आकृतिमाथि रहेको त्रयोदश भुवनलाई बुद्धत्व प्राप्त गर्ने खुड्किलाका रुपमा लिइन्छ । शान्तिपुर, हारती माता, महामञ्जुश्री सरस्वती स्थान, लखु तीर्थ, विष्णुमती नदी किनारामा रहेको शोभाभगवती मन्दिर, ससुख्वात टोलमा रहेको सरस्वती मन्दिर, डल्लु टोलमा रहेको महाविष्णु मन्दिर र गणेश मन्दिर, धिमेल्वहँमा रहेका भीमसेन मन्दिर र नासल देवता स्थानीयको आस्थाको देवस्थानहरु हुन् । यस्तै तुलसीधारामा रहेको माधवनारायण मन्दिर, धुम्बाखेलमा रहेको बाघभैरब मन्दिर, मचाखुशीमा रहेको घोरीनाग मन्दिर, स्वयम्भू परिक्रमा मार्गमा रहेको विश्वकर्मा मन्दिर,किमडोल डाँडामा रहेको सेतीदेवी मन्दिर, डल्लुमा रहेको भेलु (भिंपु) महादेव, भगवान पाउनमा रहेको सूर्यविनायक, चक्रपथ बाहिर रहेको कार्य विनायकप्रति स्थानीयको प्रगाढ आस्था छ । वडाभित्र साम्हेगु विहार, किण्डोल बिहार, आनन्दकुटी बिहार, आनन्द भूवन बिहार, भुइखेल बहाल, जगतउद्धार बिहार, सिद्धि विहार, धिमेल्वहँ बौद्ध विहार, श्रद्धा कीर्ति विहार बौद्ध विहार हुन् । प्रसिद्ध कर्णदीप, लामाहरुको दीप, कपालीहरुको समाधिस्थल, लखुतीर्थ दीप, मुस्लिमहरुको चिहान, भन्तेहरुको दीप यस वडामा रहेका मृत्य संस्कारसँग सम्बन्धित स्थलहरु हुन् ।

Like