सृजनात्मक आध्यात्मिक जागरणका लागि आद्य र आद्या

Share to:

रासंसा/तनहुँ, फाल्गुण ३,

अघोर स्मशानेश्वोर चण्डी बाबा
आद्य र आद्या शब्दहरू केवल आध्यात्मिक नामाक्षरका प्रतीक मात्र होइनन्, यीनले जीवनका मूल तत्त्वहरूको प्रतिनिधित्व गर्दछन्। यी शक्तिहरू आन्तरिक र बाह्य दुनियाँको जीवनका विभिन्न आयामहरूसँग सम्बन्धित छन्। जब व्यक्तिले यी शक्तिहरूलाई बुझ्न प्रयास गर्छ, तब उसले जीवनका गहिरा अर्थहरू र ब्रह्माण्डका अव्याख्येय रहस्यमाथि एक नयाँ दृष्टिकोण प्राप्त गर्दछ।
जब व्यक्तिले आद्य लाई स्मरण गर्न अभ्यस्त हुदै जान्छ तब उस भित्र एउटा शुद्ध, अव्यक्त र अज्ञेय शक्ति देख्छ जसले सृष्टिको प्रत्येक कणलाई बनाएको र यसको नियम र नियन्त्रणमा राखेको वोध गर्दछ।
आद्यको अस्तित्व सृष्‍टिको आरम्भ हो। यो तत्त्व अपरिवर्तनीय र शाश्वत हो। साधकलाई यस शक्ति प्रकट गर्नका लागि आत्मचिन्तन र साधनाको आवश्यकता पर्दछ। यस शक्तिको यात्राले जीवनको आन्तरिक संघर्षलाई पार लगाउदै जीवनका प्रत्येक क्षेत्रलाई रूपान्तरित गर्ने सक्षमता राख्दछ।
आद्य केवल एक शक्ति मात्र होइन, यो त अनन्त र निराकार तत्त्व हो, जसका माध्यमबाट सबै वस्तुहरूको उत्पत्ति, पालन र संहारको चक्र चलिरहेको छ। यो तत्व एउटा ऊर्जा, एक चिरस्थायी वास्तविकता हो जसले हरेक स्वरूप र संरचनामा जीवनलाई प्रवाहित गराउदछ। यसको आन्तरिक रूपलाई वोध गर्दा मानिसलाई आत्मा र परमात्मा बीचको सम्बन्धको वोधगम्य गहिराईमा पुग्न मद्दत पुर्याउदछ।
जब व्यक्तिले आद्य शक्तिको स्त्री रूप, आद्या को स्मरण गर्दा , उसले आफु भित्रको सृजनात्मकता र विकासको एउटा अनन्त स्रोत फेला पार्दछ। आद्या शक्तिले जीवनको आन्तरिक अस्तित्वलाई प्रकट गर्दछ, जसले व्यक्तिलाई जीवनका हरेक कठिनाइसँग जुद्नका लागि आवश्यक शक्ति र प्रेरणा प्रदान गराउदछ । आद्या शक्ति जीवनका प्रत्येक पाटोमा स्पष्टता र समृद्धि ल्याउने माध्यम हो।
आद्या भनेको व्यक्तिलाई अभिवृद्धि र समृद्धि दिने शक्ति हो। यस शक्तिको जागरणले रचनात्मक प्रक्रियामा परिवर्तन ल्याउँछ। जसरी प्राकृतिक संसारमा परिवर्तन अनिवार्य हुन्छ, त्यसरी नै मानविय जीवनमा पनि मानसिक र आत्मिक परिवर्तन उत्तिकै जरूरी छ आद्या शक्तिको जागरणले मानसिक र आध्यात्मिक परिवर्तनको सहायक को भूमिका निर्वाह गर्दछ। जब व्यक्ति आफ्नो आन्तरिकरूपमा आद्या शक्तिलाई जागृत गर्छ, तब उसले बाह्य संसारमा विजय प्राप्त गर्ने मात्र नभइ आत्मसाक्षात्कारको स्तरमा सम्म पुग्न सक्षम हुन्छ।
आद्य र आद्या यस्ता शक्तिहरू हुन् जसले जीवनका गहिरा उद्देश्य र दार्शनिक दृष्टिकोणलाई प्रकट गर्छन्। यी शक्तिहरू केवल परिष्कृत शब्दहरू मात्र नभइ यी मानविय जीवनको आन्तरिक संसारका दिव्य शक्तिहरू हुन्, जसले शान्ति, प्रेम र आत्मसमर्पणको मार्गमा व्यक्तिलाई अग्रसर गराउदछ।
आजको परिप्रेक्ष्यमा यी शक्तिहरूको महत्व अत्यधिक छ। जीवनका अनेकौं चुनौती र समस्याहरूको सामना गर्नका लागि व्यक्तिलाई यी शक्तिहरूको आवश्यकता पर्दछ। संसार बाह्य संघर्ष र अशान्तिको सिकार हुँदा पनि, जब व्यक्तिले आद्य र आद्या शक्तिहरूको प्रयोग गर्छ, तब उ आत्मिक शान्ति र परिपूर्णतामा पुग्न सक्षम हुन्छ। यस शक्तिको जागरणले जीवनको वास्तविक उद्देश्यलाई प्रकट गराउदछ।
जसरी चन्द्रमामा उज्यालो देखिन्छ र त्यही उज्यालोले संसारलाई मार्गदर्शन गर्छ, ठीक त्यसरी नै आद्य र आद्या शक्तिहरूको जागरणले व्यक्तिको जीवनलाई अन्धकार वाट उज्यालो ल्याइदिन सक्दछ। यी शक्तिहरू व्यक्तिको आन्तरिक विकार र असन्तुलनलाई शान्त पार्दै जीवनलाई एक शुद्ध र दिव्य अनुभव ले सुसज्जित बनाउन सक्छन्।
यसर्थ, आद्य र आद्या यी शक्तिहरूको जागरण नै जीवनको उच्चतम उद्देश्य हो। जब व्यक्तिले यी शक्तिहरूलाई आत्मसात गर्दछ, तब बाह्य विजयको मात्र होइन, आन्तरिक विजयको पनि अनुभूति दिलाउदछ । जसले जीवनका प्रत्येक पक्षलाई प्रकट गराउन सक्दछ यही नै जीवनको साँचो विजय हो ।
जय अघोर ।

Like