मानव जिवनका स्रोत शक्ति: दुर्गा र उनका अनन्त स्वरुप

अघोरी स्मशानेश्वोर चन्डी बाबा
रासंसा/तनहुँ, माघ २४,
दुर्गा, जो दुर्जेयलाई जित्ने शक्ति हुन्, हाम्रो अन्तर्यत्राको ऊर्जा हुन्। दुर्जेयलाई जित्ने भनेको जित्न कठिन जुनसुकै बाधा, भय, अज्ञानता वा नकारात्मक सोच, विचार र प्रभाव माथि विजय प्राप्त गर्नु हो। दुर्गा शक्ति व्यक्तिको आन्तरिक कमजोरी, मोह, अहंकार, लोभ, क्रोधजस्ता मानसिक र आध्यात्मिक अवरोधहरूलाई पार लगाउदै आत्मज्ञानतर्फ डोर्याउने शक्ति हो। जीवनमा आउने कठोर चुनौतीहरूलाई सामना गर्न, सत्य मार्ग अवलम्बन गर्न र आत्मबल जागृत गराइ असम्भवलाई सम्भव बनाउने सामर्थ्य दिने शक्ति नै दुर्गा स्वरूप हो।
दुर्गा बाह्य रूपमा पूज्य मात्र होइनन्, प्रत्येक व्यक्तिको अन्तरमनमा जागृत रहने अमिट शक्ति पनि हुन्। जीवनका हरेक चरणमा उपस्थित चुनौतीहरू सामना गर्न आवश्यक आत्मबल दुर्गा बाट नै प्राप्त हुन्छ। दुर्गाका स्वरूपहरू कुनै बाहिरी तत्व मात्र होइनन्, ती त व्यक्तिकै आन्तरिक चेतनामा विद्यमान मूलभूत शक्तिहरू हुन्, जसलाई चिनेर जीवनलाई सार्थक बनाउन सकिन्छ।
दुर्गपार शक्ति व्यक्ति स्वयम् को आत्मबल, धैर्य र साहसको नाम हो। जब जीवनमा कठिनाइहरू आँधीझैँ आइपुग्छन्, तब यसै शक्तिको जागरणले व्यक्तिका समस्यालाई पार लगाउँदछ। असम्भव जस्तो लाग्ने मार्गहरू पनि सम्भव बन्छन्, किनभने यो शक्ति आफ्नै भित्री सामर्थ्य हो, जसले सबै अवरोधलाई हटाउँदै अघि बढ्न सिकाउँदछ।
सारा शक्ति अर्थात जीवनको सार बुझ्ने क्षमता आफै भित्र छ। सांसारिक भ्रमले व्यक्तिलाई दिशा बिहीन बनाउँछ, जब व्यक्तिको चेतना निर्मल बन्छ, तब दुर्गा शक्ति रूपी प्रकाशले सत्य मार्ग देखाउँछ। जीवनको वास्तविक उद्देश्य यही सारा शक्ति शक्तिको जागृतिमा निहित छ।
सर्वकारिणी शक्ति भनेको व्यक्तिका कार्य, सोच र व्यवहारमा अदृश्य रूपले प्रवाहित हुने ऊर्जा हो। कर्मफलको सिद्धान्त यही शक्तिद्वारा सञ्चालित हुन्छ। जब व्यक्ति सकारात्मक कार्यमा लीन हुन्छ, तब यस शक्तिले उसलाई सफलताको मार्ग देखाउँदछ।
ख्याति शक्ति भनेको सत्य, सेवा र समर्पणको प्रतिफल हो। यो बाहिरी सम्मानमा मात्र होइन, यो त आन्तरिक गुण र आत्मिक तेजको प्रतिफल हो। जब व्यक्तिका आचरण र व्यवहारमा सत्यता र निष्ठा प्रकट हुन्छ, तब ख्याति शक्ति स्वतः उदय हुन्छ।
कृष्ण शक्ति व्यक्तिका गम्भीर चिन्तन र आत्मबोधको प्रतीक हो। जब व्यक्तिको मन सतही विचारबाट माथि उठेर आत्मज्ञानको मार्गतर्फ अग्रसर हुन्छ, तब यही शक्ति सक्रिय हुन्छ। गम्भीरता, शान्ति र स्थिरता यही शक्तिले प्रदान गराउदछ।
धूम्रा शक्ति नै व्यक्तिको जीवनका अनिश्चितता, उतारचढाव र अस्थिर अवस्थालाई सम्हाल्ने क्षमताको प्रतिकहो। जब व्यक्तिले आफ्नो जीवनमा धैर्यता, सन्तुलन र स्थिरतालाई अवलम्वन गराउदछ, तब धूम्रा शक्ति उसको जीवनमा स्वतः प्रकट हुन्छ।
व्यक्ति भित्र अदृश्यरूपले निहित दुर्गा शक्तिका यी सबै स्वरूपहरू उसको जीवनको वाह्य संसार बाट आन्तरिक जीवन यात्राका क्रममा प्रकट हुने शक्तिका प्रतीक हुन्। हरेक व्यक्ति भित्र यी शक्तिहरू निहित छन्, केवल तीनलाई चिन्नु र जागृत गर्नु आवश्यक छ। जब व्यक्तिले दुर्गा शक्तिलाई बाहिर वाट नभई भित्र वाट खोज्न थाल्दछ तब मात्र उसको चेतना जागृत हुन्छ। यही आत्मजागरणले नै जीवनलाई सार्थकता प्रदान गराउदछ।
दुर्गा, सम्पूर्ण मानव जीवनका लागि प्रेरणादायिनी शक्ति हुन्। कठिनाइका समुद्रबाट पार लगाउने अद्वितीय क्षमता दुर्गपार शक्तिले आत्मबल र साहसलाई जागृत गरी असम्भवलाई सम्भव बनाउँछ। सारा जीवनको सारलाई स्पष्ट गर्ने शक्तिले सांसारिक मोह र भ्रमबाट टाढा राख्दै जीवनको वास्तविक उद्देश्यलाई बुझ्न मद्दत पुर्याउँछ। जीवनलाई अर्थपूर्ण र शुद्ध बनाउन यस शक्तिले गहिरो मार्गनिर्देशन गराउदछ। सर्वकारिणी शक्ति सबै कार्य सम्पन्न गराउने अनन्त ऊर्जा हो। कर्म र फलको सम्बन्धलाई उजागर गराउदै हामीलाई कर्तव्य र उत्तरदायित्वको महत्त्व बुझाउँदछ। हरेक कार्य सफल बनाउन यस शक्तिको उपस्थितिले प्रेरणा प्रदान गराउदछ।
ख्याति प्रतिष्ठा र यशको स्रोत हो। यो केवल बाह्य सम्मानको संकेत होइन, आन्तरिक गुण, सदाचार र सत्यको मार्गमा हिँड्ने प्रेरणा पनि हो। ख्याति मानव जीवनमा योगदानको प्रतीक हो, जुन सेवा र सत्य कर्मबाट मात्र प्राप्त हुन्छ।कृष्ण, दुर्गाको गम्भीर र गूढ स्वरूपले आत्मचिन्तन र साधनाको मार्गतर्फ डोर्याउँदछ। गम्भीरता र शान्तिको प्रतीक यो स्वरूपले जीवनका हरेक आयामलाई गहिरो रूपमा बुझ्न प्रेरित गराउदछ। धूम्रा दुर्गाको धूसर स्वरूप हो, जो सृष्टिको विभिन्न आयाम र रंगहरूलाई प्रतिविम्बित गराउदै जीवनका अस्थिरताहरूको सामना गर्न सन्तुलन र धैर्य प्रदान गराउने धूम्राले जीवनका चुनौतीहरूको बीचमा पनि स्थिर रहने तरिका सिकाउँदछ।
यी सबै स्वरूपहरूले मानव जीवनलाई केवल संघर्ष र कठिनाइहरू पार गर्न मात्र होइन, जीवनलाई गहिरो अर्थ र उद्देश्य प्रदान गराउदछ । दुर्गाका अनन्त स्वरूपले जीवनका हरेक पक्षलाई आत्मसात् गर्दै शुद्ध, सन्तुलित र उन्नत जीवन जिउन मानव चेतनाको जागरणका लागि दुर्गाका यी शक्ति र स्वरूपहरूलाई आत्मसात् गर्न आवश्यक छ। जब हरेक व्यक्तिले आफ्नो जीवनमा यी शक्तिहरूलाई स्वीकार्छ, तब मात्र शान्ति, सन्तुलन र समृद्धिको मार्ग सम्भव हुन्छ। जीवनलाई उज्यालो र अर्थपूर्ण बनाउन दुर्गाका यी शक्तिहरू अनिवार्य छन्। विश्वका सबै मानिसले यी गहन सत्य तथ्यलाई जीवनमा उतार्न सकून् भन्ने हाम्रो प्रार्थना छ।
जय अघोर ।