आज शहीद दिवस मनाईदै

Share to:

रासंसा/काठमान्डौ, माघ १६,

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए
ओठमा हाँसो, गालामा लाली तब आउँछ जगत्को
देशको पिरले भेटी जब वीरले चढाउँछ रगतको
घाँटीमा फाँसीको माला गाँसी वीरले हाँस्ता
मातृभूमिको चरण ढोगी भाग्दछ दासता
उम्रन्न बोट कसैले बीउ छरेर नगए ।
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्॥
मुलुकमा जबजब धर्मको ह्रास हुन्छ र अधर्मको वृद्धि हुन्छ, हे भारत (अर्जुन), त्यतिबेला म (भगवान्) आफ्नो रूपको सृष्टि गरी अवतार लिन्छु र अधर्मको नाश गर्छु । यसरी नेपालको राष्ट्रिय परिपक्ष्यमा भएका अन्याय र असमानताका विरुद्ध भएका अनेक आन्दोलनमा शहादत प्राप्त गरेका अनेक शहीदहरूको आत्मालाई परमात्मा तत्त्वको प्राप्तिको कामना छ ।
कवि भूपी शेरचनको यो रचना को सम्झना गर्न चाह्यौँ ।
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए
ओठमा हाँसो, गालामा लाली तब आउँछ जगत्को
देशको पिरले भेटी जब वीरले चढाउँछ रगतको
घाँटीमा फाँसीको माला गाँसी वीरले हाँस्ता
मातृभूमिको चरण ढोगी भाग्दछ दासता
उम्रन्न बोट कसैले बीउ छरेर नगए ।
हरेक दिन गगनका तारा झरेर अनि सूर्यको प्रकाशको पदार्पण सहित मान्छेले आफ्नो दैनिकी सुरु गरेजस्तै मुलुक बन्न कालागि पनि हरेक ऐतिहासिक कालखण्डमा वीर सपूतहरूको बलिदान रहेको छ । आज तिनै सपुतहरूको सम्झना र सम्मानको हो यस माघ १६ को शहीद दिवस । परिवर्तित परिपक्ष्यमा नेपाललाई शहीद दिवसका रूपमा मात्र नभई शहीद सप्ताहका रूपमा एक हप्ता अगाडि देखिनै विभिन्न कार्यक्रम गरेर मनाइने गरिन्छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको शब्द कोषमा उल्लेख भए अनुसार शहीद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्तिलाई बुझिन्छ । शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठलाई प्रजातन्त्रको पक्षमा जनतामाझ वकालत गरेको अभियोगमा हत्या गरिएको माघ १० गतेदेखि १६ गतेसम्मको अवधिलाई शहीद सप्ताहका रूपमा मनाइन्छ । आज हामीले उपभोग गर्दै आएको स्वतन्त्रता, समानता अनि सार्वभौमिकता कालागि शहीदहरूले दिएका बलिदान अझै पनि टेकुको शुक्र वृक्ष, सिफलको रुख लगायत विभिन्न रुखहरू अनि घटनाक्रमहरूले दिने गरेको छ । गत वर्ष शहीद दिवसमा सार्वजनिक बिदा थिएन तर यस वर्ष भने शहीद दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको हो । शहीद दिवस एउटा बिदाका मात्र रूपमा नहेरी प्रजातन्त्रको उद्गम बिन्दुको शंखनाद भएको दिवसका रूपमा हेरिन जरुरी छ । अब केही कुरा नेपाली प्रजातान्त्रिक इतिहास अनि वीर शहीदहरूको, राणा शासनका विरुद्धमा अनि प्रजातन्त्र बहालिकालागि सहिदहरूले बलिदान दिएकोमा वि.सं. २००७ सालको प्रजातन्त्र पश्चात् पुनः निर्दलीय व्यवस्था लगायत ३२ सालको जनमत सङ्ग्रह हुँदै ०४७ सालमा भएको संवैधानिक राजतन्त्र अनि बहुदलीय प्रजातन्त्रको पूर्नस्थापना सम्ममा धेरै ज्ञात अज्ञात नेपाल आमाका छोराछोरीहरू शहीद भएका छन् । त्यसपछिको कालखण्डमा भएका स-शस्त्र द्वन्द्व अनि हिंसाको फेहरिस्त लामै छ, अझै धेरै नेपालीहरू बेपत्ता पारिएको सुचीमा छन् भने दोषी निर्दोषी सबै जनाको वीर गतिको विवरण लामो छ । नेपालको पहिलो शहीद लखन थापालाई मानिन्छ । थापालाई तत्कालीन राणा प्रधानमन्त्री जङ्ग बहादुर राणा विरुद्ध प्रचार प्रसार गरेको आरोपमा विक्रम संवत् १९३३ साल फागुन २ मा गोरखाको मनकामना मन्दिर नजिकैको रुखमा झुन्ड्याएर मारिएको थियो । थापा तत्कालीन सैन्य पल्टनमा कार्यरत थिए । शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठलाई पनि राणा शासनकै बेला मारिएको हो । विक्रम संवत् १९९७ साल माघ १० गते राति १२ बजे काठमाण्डौको पचलीमा खरीको रुखमा शुक्रराज शास्त्रीलाई झुन्ड्याइएको थियो भने धर्मभक्त माथेमालार्इ सिफलमा हत्या गरिएको थियो । त्यसै गरी माघ १४ गते दशरथ चन्द ठाकुरलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो र सोही दिन राति १० बजे शोभा भगवतीमै लगेर गङ्गालाल श्रेष्ठलाई खम्बामा बाँधी गोली हानी हत्या गरिएको थियो । परिवर्तन ल्याउन कालागि अनि भावी पुस्ता र देशको आयाम बदल्न कालागि आफ्नो ज्यान अर्पण गर्ने ज्ञात अज्ञात सम्पूर्ण शहीदहरूमा हाम्रो पात्रोको नमन । यी शहीदहरूको सपना र त्यागलाई हामीले कत्तिको साकार पार्न सकेका छौँ भन्ने कुरा भने नेपाली राजनीति अनि नेतृत्वले सोंच्नैपर्ने बेला आएको छ । शहीद का परिवार अनि घरहरू लगायत शहीद परिवारका सदस्यहरूको अवस्था दूर दराजमा कस्तो रहेको छ ? विचार गर्न जरुरी छ, शहीद को आशिषको छत्रछाया यो राज्यलाई जहिल्यै प्राप्त होस् र सहिदका आँसुहरू राज्यले पुछ्न सकोस् । अनि ०६२ र ०६३ सालको जनआन्दोलन र त्यसपछि पूर्नवाहली गरिएको प्रजातन्त्र अनि गणतन्त्रमा प्रवेश गरेको नेपाल, सबै शहीदहरूलाई नमन छ । शहीद ले हाम्रालागि बलिदानी दिएर दिइगएको स्वतन्त्रता यसैमार्फत प्राप्त गणतान्त्रिक प्रजातन्त्रको आधारमा नयाँ नेपाल निर्माणमा तपाई हामी सबै जना उत्तिकै जिम्मेवार छौ नि, हैन र ? यी शहीदहरूलाई मसिनो हैन बाक्लो अनि जोडदार स्वरमा सम्झना गर्न जरुरी छ, सहिद गेटमा रहेको शहीदहरूको प्रतिमा देखि गङ्गालाल हृदय रोग प्रतिष्ठान लगायत सहिदका नाममा गठन गरिएका विभिन्न परोपकारी संस्थाहरूले, हुलाक टिकटहरू अनि सरकारी कार्यालयमा झुन्ड्याइएका तस्बिरहरू, शहीदहरूको नाममा बनाइएका बाटाघाटाहरु लगायतले सहिदको महत्त्व हामीलाई बुझाई रहेका छन् । पछिल्लो समयमा नेपाली राजनैतिक पृष्ठपोषकहरूले झिना मसिना घटनाक्रम अनि राजनैतिक स्वार्थअनुरूप शहीदहरू तोक्ने अनि खुद्रारुपमै सहिदहरूको फेहरिस्त तैयार गरिदिएकोमा धेरै जनगुनासोहरू सुनिएको छ । स्वतन्त्रताले अनि सार्वभौमिकताको अनुपम अट्टहासमा मुस्कुराई रहेका हरेक नेपाली अनुहारमा शहीदहरूको अनुहार मुस्कुराई रहेको हुन्छ । हिमाल, पहाड अनि तराई सबै तिर शहीद को रगतको रङ्गहरू माटामा मिसिएका छन्, नेपाली आकाशमा उनीहरूको सपना छ अनि नेपाली प्रजातान्त्रिक अभ्यासमा सहिदहरूको निस्वार्थ बलिदान अतुलनीय छ । देशले फेरि परिवर्तन खोज्न सक्छ, शहीद एउटा मर्यादा अनि विश्वास हो, देशभक्त कालागि ।
देशले रगत मागे बलि मेरो चढाउ रुदिनन मेरी आमा नेपालकी छोरी
यस्ता महत्त्वपूर्ण संवेदना भएका गीतहरू शायद त्यसै रचना भएका हैनन् ।
आज नेपाल भरि विभिन्न कार्यक्रम गरेर शहीद दिवस मनाईदैछ, माला र अबिरका बिच शहीद का तस्बिर खोज्न र राख्न भन्दा पनि शहीद लाई मुटुभित्र राखौँ, देशलाई माया गरौँ ।

Like