नेपाल भ्रमण वर्ष २०२५ को घोषणा
रासंसा/काठमाण्डौ, माघ ५,
मुलुकमा ऊर्जा, जल तथा सिंचाइ मन्त्री दीपक खड्काले नेपालको पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माण र स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढिरहेको जानकारी दिएका छन्। भक्तपुर नगरपालिका, नेपाल सरकार संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, चिनियाँ राजदूतावास, र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भक्तपुरमा आयोजित कार्यक्रममार्फत ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा गरियो। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तथा त्रिभुवन विमानस्थलसहित अन्य आन्तरिक विमानस्थलहरूको स्तरोन्नति यसैको उदाहरण भएको उनले बताए। यस अवसरमा चिनियाँ नयाँ वर्ष २०२५ को लोगो र नेपाल भ्रमण वर्षको औपचारिक ब्यानर अनावरण गर्दै महोत्सवको शुभारम्भ गरिएको थियो। कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन साङ, भक्तपुर नगर प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, र नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले चिनियाँ नयाँ वर्षको शुभकामना व्यक्त गरे। उनीहरूले नेपाल-चीन सम्बन्धलाई आर्थिक, सामाजिक, र सांस्कृतिक क्षेत्रसम्म विस्तार गर्नुपर्नेमा जोड दिए। मन्त्री खड्काले कार्यक्रममा, ‘नेपाल भ्रमण वर्ष २०२५’ र ‘चिनियाँ नयाँ वर्ष २०२५’ कार्यक्रमले नेपाल-चीन सम्बन्धलाई अझ सुदृढ बनाउने बताए। ‘दुई देशबीचको दौत्य सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठको अवसरमा उपत्यकाका विभिन्न स्थानमा विविध सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ। नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकहरूको उत्कृष्ट गन्तव्य बनाउने उद्देश्यले नेपाल सरकारले आवश्यक सबै पहल गरिरहेको छ।’ उनले भने। महोत्सवमा भक्तपुर र चिनियाँ जनजीवन झल्काउने सांस्कृतिक गीत तथा नृत्य प्रस्तुत गरियो। दरबार क्षेत्रबाट टौमढीसम्मको सांस्कृतिक र्यालीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। महोत्सवमा सहभागी कलाकारहरूसँग सामूहिक फोटोसेसन गरी कार्यक्रम समापन गरिएको थियो। नेपाल भ्रमण वर्ष २०२५ ले नेपालको पर्यटन विकासमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ। नेपाललाई विश्व पर्यटन नक्सामा स्थापित गर्न यो कार्यक्रम महत्वपूर्ण कोशेढुंगा बन्ने विश्वास गरिएको छ।