रविमाथि सरकारी वकिलको प्रश्न– करोडौँको कारोबार गर्ने अनि, थाहा थिएन भन्न पाइन्छ ?

Share to:

रासंसा/काठमाण्डौ, पौष २९,

मुलुकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा सोमबार ९ जना सरकारी वकिलले बहस गरेका छन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचतकर्ता (जाहेरवाला)को तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा काफ्लेसहित ९ जनाले बहस गरेका हुन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट गोरखा मिडियामा २ करोड ६५ लाख रकमा आएको र रविले सो मिडियाको प्रबन्ध निर्देशक रहँदा ४९ करोड खर्च गरेको अभियोगपत्रमा उल्लेख छ । रकम अपचलनमा लामिछाने संलग्न रहेको तर्क गर्दै जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले भने, ‘स्वर्णलक्ष्मीमा लामिछाने र जीबी राईले संयुक्त ऋण खाता खोलेको देखिन्छ ।’ सहन्यायाधिवक्ता काफ्ले, मुद्दा अभियोग गर्ने जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल र सहायक जिल्ला न्यायाधिवक्ता चन्द्र प्रसाद संजेलले लामिछानेलाई मुद्दा पुर्पक्षको लागि थुनामा पठाउनुपर्ने तर्क गरेका छन् ।सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले बयानमा लामिछानेले आफू गोरखा मिडिया नेटवर्कको शेयरधनी रहेको तथ्य स्वीकार गरेको बताए । उनले भने, ‘१ लाख ८० हजार थान शेयरमा लगानी गर्न आफू इच्छुक रहेको भनेर उहाँले निवेदन दिएको देखिन्छ ।’ ४४ लाख नगद गोरखा मिडियाबाट लामिछानेकी पत्नी निकिता पौडेलेको खातामा गएको उल्लेख गर्दै काफ्लेले भने, ‘यहाँ क्रियाकलाप ठिक ढंगले भएको छैन ।’ रवि लामिछानेले २०७७ माघमा आफू गोरखा मिडिया नेटवर्कमा जोडिएको भनेर जिकिर गरेपनि त्यसअघि नै कम्पनीको नाममा बैंक खाता सञ्चालनमा आएको काफ्लेले बताए । थुनछेक बहसमा उनले भने, ‘२०७७ कार्तिक ६ मा नै रवि, जीबी राई र छविलाल जोशीको नाममा खाता सञ्चालनमा आएको भेटिएको छ ।’ बिना खड्काले सर्वसाधारणले पेट काटेर जम्मा गरेको बचत रकम अपचलन गरेर लामिछानेले जीबीलाई दोष लगाएर पन्छिन नमिल्ने बनाइन् । इजलासमा उनले भनिन्, ‘जीबीको बारेमा लामिछानेलाई थाहा छ तर, अर्कालाई दोष लगाएर पन्छिन मिल्दैन । सरकारी वकिलहरु सन्तोषराज कटुवाल, राधिका सुवाल, बिना खड्का, उदयचन्द्र अधिकारी र पुणेन्द्र पाण्डेले लामिछानेको विरुद्धमा बहस गरे । उनीहरुले लामिछानेलाई थुनामा पठाउन आग्रह गरेका छन् । सबै सरकारी वकिलले लामिछानेलाई थुनामा पठाउन आग्रह गरेका छन् । थुनछेक नसकिएपछि न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

Like