दुई दिनमा २६ भन्दा बढी प्रश्न, अदालतमा लामिछानेको इन्कारी बयान
मिनबहादुर कुँवर/कास्की, पौष १२,
मुलुकमा सहकारी ठगीसहितका तीन अभियोगमा मुद्दा दायर भएका रास्वपाका सभापति रवि लामिछानेले अदालतमा इन्कारी बयान दिएका छन् । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा उनले इन्कारी बयान दिएका हुन् । बिहीबार र शुक्रबार भएको बयानका क्रममा न्यायाधीशले उनलाई २६ भन्दा बढी प्रश्न गरेका थिए । विशेषगरी न्यायाधीशले सोधेका सजिला प्रश्नको जवाफ उनले दिएपनि असजिला प्रश्नमा जिवीलाई देखाएको स्रोतको भनाइ छ । यस्तै सहकारीको खाताबाट कुनै रकम नआएको र रकम नमासेको उनको दाबी थियो । ‘उहाँलाई २ दिनमा २६ भन्दा बढी प्रश्न गरिएको थियो । सबै आरोपमा उहाँले इन्कारी बयान दिनु भएको छ’, अदालत स्रोतले बतायो । उनले बयानका क्रममा गोर्खा मिडियाको आर्थिक हिसाबकिताबको सबै जिम्मेवार जीवी राई रहेको जिकिर समेत बयानका क्रममा गरेको स्रोतले बतायो । यस्तै उनले यसअघि आफूले प्रहरीमा दिएको बयान नै सही सत्य भएको जिकिर पनि गरे । प्रहरीको अनुसन्धान र सरकारी वकिल कार्यालयको अभियोगपत्रका आधारमा न्यायाधीशले प्रश्न गरेका थिए । लामिछाने पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमै छन् । उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा रु २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच र सहकारी ठगीतर्फ रु तीन करोड ३७ लाख ६५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् । लामिछाने पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमै छन् । उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा रु २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच र सहकारी ठगीतर्फ रु तीन करोड ३७ लाख ६५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् । यसअघि रविसँगै मुद्दा दायर भएका पूर्वडीआईजी छविलाल जोशी र लीला पछाई बयान भएको थियो । त्यसपछि रविको दुई दिन लगाएर बयान भएको हो। पुस ७ गते लामिछानेविरुद्ध सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । उनका अनुसार रास्वपा सभापति लामिछानेसहित उक्त सहकारी ठगी प्रकरणमा जोडिएका रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको छ । प्रतिवादी खनालसँग रु १४ करोड ३० लाख ९१ हजार नौ सय ११, जोशीसँग रु ७४ करोड ३४ लाख ७१ हजार ५५, पछाइसँग रु २४ करोड ६७ लाख सात हजार २४ बिगो दाबी गरिको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा पनि मुद्दा दर्ता भएको छ भने सहकारी ठगी मुद्दामा चाहिँ लामिछानेसहित ३१ जनाविरुद्ध मुद्दा दायर भएको हो । सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म कुल ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । यस्तै सहकारी ठगीमा जोशीविरुद्ध रु पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग रु दुई करोड १४ लाख आठ हजार आठ सय ४३ बिगो माग गरिएको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता भएको सरकारी वकिलको कार्यालयले जनाएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।