शक्ति सन्तुलनको आध्यात्मिक मार्गदर्शन
अघोरी स्मशानेश्वर बाबा
रासंसा/तनहुँ, पौष ६,
जीवन एउटा अनन्त यात्रा हो, यस यात्राका प्रत्येक मोड वा घुम्तीहरूमा नयाँ चुनौती र अवसर पनि संग संगै आउदछन्। यो यात्रा केवल बाह्य सफलता र मनोरञ्जनका लागि मात्र सीमित हुँदैन; यसको मुल उद्देश्य त यात्रीको आन्तरिक जागरण र चेतनाको उन्नति को खोजमा केन्द्रित हुन्छ । संसारका हरेक वस्तु शक्ति र सन्तुलनको प्रतीक हुन्। जीवनलाई अर्थपूर्ण र सन्तुलित बनाउने सूत्र भनेकै आन्तरिक शक्ति र प्रकृतिका विविध रूपहरूसँग सामञ्जस्य स्थापित गराउनुहो।
हरेक व्यक्तिलाई आफ्नो दिनचर्यामा सहज र सुखद रहोस् भन्ने आशा र चाहना हुनु स्वभाविक हो। तर, जीवन केवल सुखद समयको श्रृंखला मात्र होइन, चुनौती र कठिनाइहरूको श्रृंखला पनि हो भन्ने वोध नहुनु अज्ञानता हो । हरेक चुनौतीहरूले हाम्रो भित्री शक्ति उजागर गर्छन्। तुफानले समुद्रलाई जति सजीव बनाउँछ, कठिन परिस्थितिले हाम्रो आत्मबललाई त्यति नै मजवुत वनाउछ। चुनौतीहरूको सामना गर्ने साहस र त्यसलाई पार गर्न सक्षमता हुँदा मात्रै जीवन सार्थक र आनन्दमय बन्दछ भन्ने कथन सार्वभौमिक सत्य हो ।
जीवनका हरेक पाटाहरू प्रकृतिको शक्ति र सौन्दर्यसँग परस्परमा जोडिएका छन्। उदाहरणका लागि प्रकृतिका विभिन्न रूपहरू ; जस्तै – समुद्रको तुफान, चन्द्रमाको उज्यालो, सूर्यको तेज वा रातको शीतलता व्यक्तिको जीवनका गुण र अनुभवका प्रतीक हुन्।
जीवनका कठिन क्षणहरूले हाम्रो रौद्र रूपलाई सक्रिय गर्दछन्, जहाँ समस्याहरूलाई हटाउन कठोर निर्णय लिइन्छ। त्यही समयमा, चन्द्रमाको जस्तै सौम्य शक्तिले व्यक्तिलाई करुणा, शान्ति र प्रेम प्रदान गराउँदछन् । अर्थात , गुण अनुसारका रूपहरूको समन्वयले नै जीवनलाई पूर्ण वनाइदिन्छ।
आफ्नो आन्तरिक शक्तिलाई जगाउन र जीवनका हरेक परिस्थितिसँग सन्तुलन कायम राख्नका लागि, जीवनमा दुई गुणहरूको सामञ्जस्य आवश्यक छ—कठोरता र कोमलता। परिस्थिति अनुसार कहिले कठोर निर्णय लिनुपर्ने हुन्छ, त कहिले ममता र सहानुभूतिको मार्ग अवलम्बन गर्नुपर्छ। यी दुई गुणहरू जीवनका अपरिहार्य पक्ष हुन्। जब व्यक्तिले यी दुई ध्रुवीयताबीच सन्तुलन कायम गर्न सक्छ तव उसले हरेक परिस्थितिलाई सहजतापूर्वक पार लगाउन सक्दछ।
जीवनलाई सार्थक बनाउन केवल बाहिरी सफलता पर्याप्त छैन। वास्तविक सफलता भनेको आन्तरिक सन्तुष्टि, आत्मशुद्धि र सकारात्मक परिवर्तनमा आधारित छन्। यसका लागि व्यक्तिले आफ्नो वास्तविक उद्देश्य पहिचान गर्न सक्नुपर्दछ। यसका लागि जीवनलाई केवल भौतिक उपलब्धिको दौडमा मात्र सीमित नगराइ; आत्मचिन्तन, आत्मज्ञान र आन्तरिक विकासको यात्रामा केन्द्रित गराउन सक्नु पर्दछ।
हरेकले आफ्ना सामु उत्पन्न बाधा र समस्याहरूलाई अवसरका रूपमा लिन सिक्नुपर्छ। प्रकृतिले जस्तो मौलिक शिक्षा दिने अर्को ठुलो शिक्षक सायद अर्को भेटिदैन होला ! प्रकृतिको शिक्षाले जीवनका लागि उपयोगी ठूला पाठहरू सिकाउँदछ। जसरी समुद्रले आफ्नो लहरहरूलाई हरपल अघि बढाउँदै छ, त्यस्तै हामीले पनि जीवनका हरेक क्षणलाई नयाँ उत्साह र ऊर्जाका साथ अगाडी वढाउनु पर्दछ । चुनौतीहरूनै समाधानको जननी हुन् । चुनौतीहरूको सामना गरेर मात्र हरेक व्यक्ति आत्मनिर्भर र सशक्त बन्न सक्दछ।
जीवनको असली सार भनेको नै हरेक पक्षलाई पवित्र र अर्थपूर्ण बनाउनु हो। मनुष्यले आफ्ना प्रत्येक कार्यलाई पवित्र उद्देश्यबाट प्रेरित भएर, आन्तरिक सन्तुलन र आत्मविश्वासको सहारामा आफ्नो जीवनलाई सार्थक बनाउन सकिन्छ। शक्ति सन्तुलनको आध्यात्मिक मार्गदर्शनको यस प्रक्रियालाई अवलम्वन र अनुसरण गर्दा केवल आफूलाई मात्र होइन, समाज र संसारलाई पनि प्रगतिको मार्गमा लैजान सकिन्छ।
अतः जीवन भनेको शक्ति र सन्तुलनको सुन्दर यात्रा हो। शक्तिसन्तुलनको प्रयोगको यात्राका हरेक कठिनाइ र सफलताले सवैलाई साँचो शक्ति आफ्नै जीवनको भित्री संसारमा छ भन्ने वोध गराउदछ। त्यो शक्तिलाई चिन्नु, स्वीकार्नु र सही दिशा दिनु नै जीवनको वास्तविक उद्देश्य हो। जीवनका हरेक क्षणलाई पवित्र र सार्थक बनाउँदै, साहस, शान्ति र प्रेमको मार्ग अपनाऔं। जीवनलाई साधारणबाट असाधारण बनाउन आत्मबल, सहनशीलता र सत्कर्मलाई उच्च स्थान दिएर जीवनलाई परमार्थी वनाऔं।
जय अघोर ।