बजेट संशोधन गर्ने कोसी प्रदेशको निर्णय
रासंसा/मोरङ, मार्ग १४,
मुलुकमा कोसी प्रदेशको बजेट संशोधन हुने भएको छ। शुक्रबार विराटनगरमा बसेको कांग्रेस–एमाले दुई दलीय संयन्त्रको बैठकले बजेट संशोधनको तयारी सुरु गर्ने, दुई दलको सहमतिबाट विशेष प्राथमिकता प्राप्त र नागरिकको अत्यावश्यक मागहरूलाई आधार मानी कार्यान्वयनयोग्य कार्यक्रमहरूमा बजेटलाई केन्द्रित गर्ने निर्णय गरेको हो। प्रदेश सरकार मातहतका सहकारीहरूको बचत, लगानी र अन्य अपचलन लगायतको विषयहरूको अध्ययन गर्न सरकारले एक समिति गठन गर्ने, पाथीभरा केबलकार निर्माण प्रक्रियामा देखिएको द्वन्द्व र झडपबाट उत्पन्न समस्या समाधानका लागि तत्काल सरकार र दुई दलिय संयन्त्रले आ आफ्नो तर्फबाट निर्माण कम्पनी र आन्दोलनरत पक्षसँग वार्ता र संवाद गरि उपयुक्त निकास दिने निर्णय संयन्त्रको बैठकले गरेको छ। बैठकले प्रदेश सरकारको नीति कार्यक्रम र बजेटलाई थप प्रभावकारी बनाउने, मुख्यमन्त्री र मन्त्रीहरूले सरकारको नीति कार्यक्रम कार्यान्वयनमा विशेष ध्यान केन्द्रित गर्ने निर्णय पनि गरेको छ । यस्तै प्रदेश सरकारबाट सञ्चालित बहु वर्षीय वा अन्य प्रकृतिका आयोजनाहरूको स्टाटस केलाई क्रमशः सम्पन्न गर्ने गरि आयोजनाहरूको वर्गीकरण गर्ने, प्रदेश सरकारका सामु रहेका चुनौतीहरूलाई सामना गर्न नियमित छलफल, परामर्श र समीक्षा गर्दै अवसर र सम्भावनाहरूको अधिकतम उपयोग गर्ने निर्णय गरेको छ। प्रदेश लगानी सम्मेलन, अन्तर्राष्ट्रिय चिया सम्मेलन र पर्यटन वर्ष महोत्सव लगायतको तयारी गर्ने, निजी क्षेत्र सबैलाई समेट्ने गरी भुमिका दिने निर्णय बैठकले गरेको छ। प्रदेश नामाङ्कन विषयलाई लिई आन्दोलनरत पहिचानबादीहरुसंग समेत वार्ता समिति बनाई सरकारले संवाद गर्ने, एसियन हाइवे (पूर्व पश्चिम) निर्माणमा उत्पन्न अवरोध र कच्चा पदार्थ आपूर्ति लगायतमा उत्पन्न समस्या समाधानका बारेमा सम्बन्धित पक्षहरूसँग तत्काल संवाद र छलफल गरि समाधानका लागि सरकार र संयन्त्रले पहल गर्ने निर्णय बैठकले गरेको छ। नेकपा एमालेका स्थायी समितिका सदस्य शेरधन राइको अध्यक्षतामा बसेको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्की,नेपाली काग्रेसका कोसी सभापति उद्दब थापा साथै प्रदेशका मन्त्रीहरु र संयन्त्रका सदस्यहरू सहभागी थिए।