डेंगु चिसो बढेसँगै ओरालो लाग्यो संक्रमणदर

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक २६,

मुलुकमा मनसुन अवधि सकिएर चिसो मौसम सुरु भएयता नेपालमा डेंगु संक्रमणदर घट्दै जान थालेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेंगु सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता संक्रमणदर घट्दै गएको बताए । दाहालका अनुसार डेंगु संक्रमणदरको ४५औं साता चलिरहेको छ । नेपालमा ४२औं सातादेखि डेंगु संक्रमणदर ओरालो लाग्नेक्रम सुरु भएको उनले जानकारी दिए । नेपालमा पछिल्ला ३ वर्षमा डेंगु संक्रमणदर १२ महिना नै देखिन थालेको छ । अहिलेसम्म २९ हजार १ सय ५८ मा संक्रमण भएको र हालसम्म १२ जनाको निधन भएको कीटजन्य रोग शाखाका प्रमुख डा. दाहालले जानकारी दिए । उनका अनुसार डेंगु संक्रमण हुम्लाबाहेक सबै जिल्लामा देखिएको छ । यस वर्ष सबैभन्दा बढी कास्कीमा ७ हजार २ सय २४ जनामा डेंगु संक्रमण देखिएको छ । उपत्यकामा ६ हजार ६ सय १२ जनामा डेंगु संक्रमण देखिएको छ । काठमाडौंमा ४ हजार ५ सय ९५, भक्तपुरमा ८ सय ३१ र ललितपुरमा १ हजार १ सय ८६ जनामा डेंगु संक्रमण देखिएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ४२औं सातामा मात्रै २ हजार ५ सय ८२, ४३औं सातामा २ हजार २ सय ४, ४४औं सातामा १ हजार ७१ र ४५औं साता चलिरहँदा ५५ जनामा मात्र संक्रमण देखिएको छ । महाशाखाका अनुसार चिसो बढे पनि सतर्कता अपनाउन भने आग्रह गरेको छ । यस वर्ष पानी पर्न छाडेपछि अक्टोबर महिनामा मात्रै देशभर ४ हजार ३० जना डेंगुबाट प्रभावित भएको तथ्यांकले देखाएको छ । गत वर्ष पनि अक्टोबरमा मात्रै १२ हजार ६ सय ९९ जनालाई डेंगु संक्रमण देखिएको थियो । गत वर्ष नोभेम्बरमा मात्रै डेंगु संक्रमणदर २ हजार ८ सय ५ जनामा देखिएको थियो । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा लामखुट्टे उच्च क्षेत्रमा विस्तार हुने दर बढेको छ । नेपालको हकमा डेंगु गराउने लामखुट्टे २ हजार मिटरसम्म फैलिसकेको छ । एक अध्ययनले न्यूनतम तापक्रम १ डिग्री मात्रै बढ्दा पनि २७ प्रतिशत मलेरिया बढ्ने जनाएको छ । यसै कारण नेपालमा मात्र नभएर विश्वभरि नै लामखुट्टेजन्य रोग महामारी बन्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन् । पछिल्लो वर्षको तथ्यांक हेर्दा डेंगु संक्रमण १२ महिनै देखिएको छ । सामान्यतया डेंगु सार्ने लामखुट्टे २५ देखि ३० डिग्री सेल्सियसको तापक्रममा बढी सक्रिय भएर बस्न रुचाउँछ । तर, पछिल्लो समय यसभन्दा कम तापक्रममा पनि डेंगु सार्ने लामखुट्टे सक्रिय रहेको पाइएको छ । जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण डेंगु सार्ने लामखुट्टे सक्रिय भएको पाइएको हो । जलवायु परिवर्तनका कारण उच्च स्थानमा फैलिएका लामखुट्टेका कारण मलेरियाको उच्च जोखिम देखिएको जर्ज टाउन युनिभर्सिटी मेडिकल सेन्टरको अध्ययनले निष्कर्ष निकालेको छ । सो विश्वविद्यालयका वैज्ञानिकहरूले उच्च स्थानतिर मलेरिया सार्ने मुख्य भूमिका लामखुट्टेको भएको जनाएका छन् । नेपालमा पहिलोपटक डेंगु संक्रमण सन् २००४ मा चितवनमा फेलापरेको थियो । त्यसपछि बर्सेनि नेपालमा डेंगुका समस्या देखिँदै आएको छ । सन् २००६ मा तराईका ९ जिल्लामा डेंगु संक्रमण फैलिइसकेको थियो । सन् २००६ मा ३२ जनामा संक्रमण देखिएको थियो भने सन् २००७ मा २७ जना, सन् २००८ मा १० जनामा डेंगुको संक्रमण देखिएको थियो । सो अध्ययनअनुसार अफ्रिकातिर औसतमा प्रत्येक वर्ष ६ दशमलव ५ मिटर (२१) फिटमाथि लामखुट्टे सर्दै गएको छ । त्यसैगरी, भूमध्यरेखाको दक्षिणी भागतिर प्रतिवर्ष ४ दशमलव ७ किलोमिटर सर्दैगएको छ । पछिल्ला ४० वर्षको तथ्यांक हेर्दा १ दशमलव ५ डिग्री सेल्सियसभन्दा बढीले पहाड र हिमालको तापक्रम बढिरहेको छ । सन् २००९ मा काठमाडौंमा डेंगु सार्ने लामखुट्टेको पहिचान भएको थियो । जसको १ वर्षपछि राजधानीमा एक जनामा डेंगु संक्रमण देखिएको थियो । त्यसपछि सबैभन्दा बढी सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा संक्रमण देखिएको थियो भने सन् २०२० मा ५ सय ३०, सन् २०२१ मा ५ सय ४० जनामा संक्रमण देखिएको थियो । सन् २०२२ र २०२३ मा क्रमशः जनवरीमा ११ र १ सय ३३, फेबु्रअरीमा ३ र १ सय ३०, मार्चमा १५ र १ सय ९५, अप्रिलमा १८ र १ सय ५८, मेमा २५ र १ सय ६३ तथा जुनमा ९३ र १ हजार २६ नयाँ केस देखिएको महाशाखाको तथ्यांक छ । त्यस्तै, सन् २०२२ मा ५४ हजार ७ सय ८४ जनामा डेंगुको संक्रमण देखिएको थियो । पछिल्लो समय जलवायु परिवर्तनसँगै तापक्रममा वृद्धि हुँदा डेंगुलाई उपयुक्त मौसम बन्न पुगेको र सन् २०२२ यता १२ महिना डेंगु संक्रमण देखिएको छ ।

Like