थाइल्यान्डमा यौन पर्यटन मेला
एजेन्सी,
विश्वमा केही दिन पहिले बैंककमा आयोजना भएको ‘एसिया तथा प्रशान्त क्षेत्रका युवा जनसंख्यामा एचआइभी सङ्क्रमण तथा यौनजन्य रोग रोकथाम’ विषयक कार्यक्रममा सहभागी हुने मौका मिल्यो। दक्षिणपूर्वी एसियाको केन्द्रमा अवस्थित देश थाइल्यान्डको नाम सन् १९३२ सम्म सियाम थियो। झन्डै एक शताब्दी लामो चाक्री वंशको शासन सन् १९३२ को क्रान्तिपश्चात् अन्त्य भएपछि संवैधानिक राजतन्त्रात्मक शासनमा परिणत भएसँगै देशको नाम पनि सियामबाट थाइल्यान्ड भयो। नेपालमा एचआइभी संक्रमणसम्बन्धी नीति–बहस उति धेरै जल्दोबल्दो नभए तापनि थाइल्यान्डलगायत एसिया तथा प्रशान्त क्षेत्रका केही देशमा यो विषय निकै चुनौतिपूर्ण रहेको छ। एचआइभी सङ्क्रमण तथा यौनजन्य रोग असुरक्षित यौन सम्पर्कसँग सम्बन्धित हुने भएकाले यस आलेखमा एचआइभी सङ्क्रमण र यौन पर्यटनलाई अन्तरसम्बन्धित तवरले प्रस्तुत गरिएको छ। आर्थिक, राजनीतिक तथा सामाजिक रूपले प्रगतिपथमा अघि बढिरहेको उच्चमध्य आय भएको देश हो थाइल्यान्ड। जसको प्रतिव्यक्ति आय सात हजार दुई सय ३० रूपैयाँ रहेको छ। पाँच लाख १३ हजार एक सय १५ वर्ग किलोमिटर क्षेत्रफल रहेको थाइल्यान्डको जनसंख्या सात करोड १६ लाखको हाराहारीमा रहेको छ। सन् १७६७ मा बर्मेली सेनाको आक्रमणबाट आयुथया राज्य पूर्ण रूपमा ध्वस्त भएपछि तत्कालीन सियाम राजा ताक्सिनले चाओ फ्राया नदीको पश्चिमी किनारमा रहेको थोनबुरीमा नयाँ राजधानी स्थापना गरे। यद्यपि उनी लामो समय टिकेनन्। ताक्सिनको उत्तराधिकारी एक रामा भनिने सेनापतिले लिए, जसले १७८२ मा अहिले बैंकक भनिने क्षेत्रमा आफ्नो राजधानी स्थापना गरे। बिसौं शताब्दीको मध्यसम्म थाइल्यान्ड मुख्यतया एक कृषिप्रधान देश थियो। तर सन् १९६० पछि मानिसहरू राजधानी र अन्य सहरहरूमा तीव्र बसाइँसराइ हुन थालेपछि औद्योगिक तथा सेवा क्षेत्रको विस्तार भयो। यसको राजधानी बैंकक पर्यटकीय दृष्टिले निकै चर्चित सहर हो। यसभन्दा अघि थाइल्यान्डको राजधानी आयुथया भन्ने सहरमा थियो। इतिहासमा आयुथया एसियाका महान् बन्दरगाह सहरमध्ये एक थियो, यसको व्यापार लिंक पर्सिया र चीनसम्म फैलिएको थियो। यो सहर चाओ फ्राया नदी प्रणालीको किनारमा केन्द्रित राजनीतिक र आर्थिक भूमिको रूपमा रहेको थियो। हाल थाइल्यान्डको राजधानी बैंकक महानगरीय क्षेत्र देशको प्रमुख सहरी केन्द्र बनेको छ। त्यहाँ अन्य ठूला सहरहरू छन्, जस्तै उत्तरमा चियांग माई, नाखोन रत्चासिमा (खोरात), खोन केन र उत्तरपूर्वमा उदोन थानी, दक्षिणपूर्वमा पट्टाया र टाढा दक्षिणमा ह्याट याई। थाइल्यान्डको कृषि तथा औद्योगिक उत्पादन राष्ट्रिय आयको मुख्य स्रोत भए तापनि मनोरञ्जन तथा सेवा क्षेत्र थाइल्यान्डको मुख्य आम्दानी हो भन्ने धेरैको बुझाइ छ। गुगलमा बैंकक लेखेर खोज्ने हो भने नाइट लाइफ, मसाज र यौन मनोरञ्जनका धेरै सामग्री पहिले नै देखिने गर्छन्। साथीसँगीलाई कुनै काम विशेषले थाइल्यान्ड अथवा बैंकक जाँदैछु भन्यो भने ल रमाइलो गरेर आउनू है भनेर नाइट लाइफ, मसाज र यौन मनोरञ्जनलाई इंगित गर्ने गरिन्छ। बैंकक र पटायालाई पर्यटन सहर भनेर चिन्ने गरिन्छ। त्यसमा पनि धेरैले मनोरञ्जन र यौन व्यवसायका रूपमा यी सहरलाई बुझ्ने गर्छन्। हुन त आश्चर्यजनक समुद्र तट तथा समृद्ध सांस्कृतिक सम्पदा थाइल्यान्डको पर्यटनका आकर्षणहरू हुन्। तर यौन पर्यटनलाई थाइल्यान्डको महŒवपूर्ण आकर्षण मानिन्छ। बैंकक र पटाया सहरका गल्ली गल्लीमा देखिने भेगन मसाज, ब्लु मसाज, लभ्ली मसाज, थाइ मसाज, क्विक्ली, होर्नी बार, पुसी क्लबलगायत अनेकौं नामका मसाज सेन्टर र मसाज सेन्टर अगाडि मूल्य देखाउँदै बोलाउने सजिएर उभिएका युवतीहरू देख्दा बैंकक र पटाया सहर साँच्चिकै यौन मनोरञ्जनकै लागि प्रख्यात हो कि जस्तो भान पर्नु स्वाभाविक नै हो। सायद यसैबाट प्रभावित भएर थाइल्यान्ड जानेहरू प्रायः यौन पर्यटक बनेर जाने गर्छन्। एकपटक एकजना कर्मचारीले थाइल्यान्ड भ्रमणको अनुभव सुनाउने क्रममा भन्नुभयो– ‘नेपालबाट जाने प्रायः पुरुष थाइल्यान्डमा सेक्स पर्यटनका लागि जाने गर्छन् भन्ने सुनेकी थिएँ। एकपटक हामी नेपालबाट तीनजना कर्मचारी बैंककको कार्यक्रममा जाने भयौं। महिला म मात्र थिएँ। उता पुगेर कार्यक्रम सकिएपछि घुम्ने भन्ने कुरा भयो। उहाँहरूले अलिक गोप्य तरिकाले योजना बनाउनुभएछ र मलाई भन्नुभयो– ल मेडम, तपाईं त अलिक टाढा जानुहुन्न होला, हामी अलिक टाढा पुगेर आउँछौं। मैले पनि एकछिन सोचेँ, यिनीहरू त्यही पटाया जाने होलान्। आखिर हेर्ने नै त हो, मैले हेर्दा चाहिँ के नै हुन्छ भनेर म पनि एक्लै लागेँ पटायातिर। गएर हेरेको त गाँठे के के हो के के, चुरोट तान्ने, बल समाउने, त्यसरी तानेको चुरोट पुरुषहरूले मुखले तान्न हारालुछ गर्ने। के के हुनेरहेछ क्रियाकलाप।’ थाइल्यान्डमा यौन व्यवसायी तथा यौनकर्मीहरूको संख्या पनि उल्लेख्य छ। पटाया सहरमा मात्र ६० हजार यौनकर्मी रहेको तथ्यांक छ। यौनकर्मीहरूको अन्तर्राष्ट्रिय संगठनको सन् २०२४ को तथ्यांकअनुसार थाइल्यान्डमा यौनकर्मीहरूको संख्या दुई लाख ५० हजार रहेको छ, जुन विश्वको आठौं स्थानमा पर्न आउँछ। यसरी उहाँले सुनाएका अनुभव बैंकक घुम्ने धेरैका प्रतिनिधिमूलक अनुभव पनि हुन्। बैंकक र पटायाजस्ता सहरमा धेरै यौन पर्यटक पुग्ने गर्छन्। उक्त संगठनले विश्वमा सबैभन्दा बढी चीनमा ५० लाख, त्यसपछि भारतमा ३० लाख, अमेरिकामा १० लाख, फिलिपिन्समा आठ लाख, मेक्सिकोमा पाँच लाख, जर्मनीमा चार लाख र ब्राजिल तथा थाइल्यान्डमा दुई लाख ५० हजार यौनकर्मी रहेको जनाएको छ। केही गैरसरकारी संस्थाहरूले थाइल्यान्डमा यौनकर्मीहरूको संख्या २० लाख रहेको जनाएका छन् तर आधिकारिक तथ्यांक दुई लाख ५० हजारलाई नै मान्ने गरिएको छ। जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष रहेको र थाइल्यान्ड घुम्न जाने ६० प्रतिशत पुरुष र १० प्रतिशत महिला त्यहाँको यौन पर्यटनमा सामेल हुने गरेको अध्ययनहरूले देखाएका छन्। संख्यात्मक विवरण जे जति पनि थाइल्यान्डमा यौन व्यवसाय फस्टाएको तथ्य जगजाहेरै छ। यससँगै सुगर बेबीको अवधारणा पनि थाइल्यान्डमा निकै अभ्यासमा रहेको छ। विश्वका धनाढ्य वृद्ध पुरुषहरूले जवान थाई युवतीलाई केही समयका लागि हेरचाह गर्नेगरी राख्ने र ती युवतीले यौन चाहनादेखि सपिङ गरिदिने वा चाहिने सबै आवश्यकता पूरा गर्ने रहेछन्। त्यसरी बस्नेलाई सुगर बेबी भनिँदो रहेछ। थाइल्यान्डको कुल राष्ट्रिय आयमा सेवा तथा मनोरञ्जन क्षेत्रको योगदान ५६ प्रतिशत रहेको र यौन व्यवसायको मात्र १० प्रतिशतभन्दा माथि रहेको तथ्यांक छ। अन्तर्राष्ट्रिय श्रम संगठनको एक प्रतिवेदनअनुसार थाइल्यान्डको सहरी क्षेत्रमा काम गर्ने यौन व्यवसायीहरूले वार्षिक ३० करोड अमेरिकी डलर बराबरको रकम ग्रामीण क्षेत्रमा पठाउने गरेका छन्। सुगर बेबीको मूल्य न्यूनतम मासिक ५० हजार थाइ भाटसम्म हुने रहेछ। थाइल्यान्डमा सुगर बेबीका लागि पुरुष मात्र नभएर धनाढ्य महिला पनि आउने रहेछन्। उनीहरूले जवान थाई पुरुषलाई सुगर बेबीका रूपमा राख्ने रहेछन्। यसप्रकारको अभ्यासलाई सुगर बेबी, सुगर ड्याडी, सुगर ममी भनिँदो रहेछ। यसरी थाइल्यान्डको यौन पर्यटनमा विभिन्न स्वरूपमा यौन व्यवसाय चलेको देखिन्छ। बैंककको रात्रिकालीन अवस्थालाई चित्रण गरेर बनाइएको ‘ह्याङओभर टु’ चलचित्रमा पनि थाइल्यान्डमा यौनकर्मीमाथि कस्तो हिंस्रक दुव्र्यवहार हुन्छ र उनीहरू कसरी निरीह हुन्छन् भन्ने कुरा दर्साइएको छ। अर्कातर्फ त्यहाँको झन्डै ६ लाख जनसंख्या एचआइभी संक्रमित छन्। यसले पार्ने सामाजिक तथा स्वास्थ्य क्षेत्रको असर गहिरिँदै गएको छ। थाई सरकारले एचआइभी संक्रमणलाई नियन्त्रण, रोकथाम तथा उपचारका लागि ठुलो लगानी गर्नुपर्ने अवस्था आएको छ भने ऊर्जाशील जनशक्ति अस्वस्थ अवस्थामा रहनाले भावी पुस्ताको भविष्य के हुने भन्ने चिन्ताको विषय बनेको छ। थाइल्यान्डले यौन व्यावसायबाट गरेको आम्दानीलाई लिएर नेपालमा पनि किन यौन व्यवसाय खुला नगर्ने भन्ने चर्चा पनि बेलाबेला चल्ने गरेको छ। तर स्पष्ट कुरा के छ भने थाइल्यान्डको कानुनले यौन व्यापारलाई अवैद्य मानेको छ। सन् १९९६ सम्म थाइल्यान्डको कानुनअनुसार यौनकर्मीले तीन वर्षसम्म जेल सजाय भोग्नुपर्ने र पुनर्शिक्षा र पुनस्र्थापना केन्द्रमा जानुपर्ने कानुनी व्यवस्था थियो। त्यसपछि संशोधन भएको कानुनअनुसार एक महिना जेल वा एक हजार थाई भाट जरिबाना हुने व्यवस्था छ। यहाँ झन्डै ९० प्रतिशत यौनकर्मीले हिंसा र दुव्र्यवहार बेहोर्ने गरेका छन् तर सरकारी तवरबाट त्यस्ता क्रियाकलापको खासै सुनुवाइ नहुने गरेको बताइन्छ। सामाजिक क्षेत्रमा यौन व्यवसायले पारेको नकारात्मक प्रभावलाई हेर्ने हो भने जुन स्रोतबाट आयआर्जन भएको हो, सोही क्षेत्रको क्षतिमा लगानी गर्न उक्त आयसमेत न्यून हुने संकेत देखिएको छ। यसले के देखाउँछ भने तत्कालीन आर्थिक लाभका लागि गरिएका कतिपय नीति भविष्यमा कति हानिकारक हुन्छन् र सरकारले कति मूल्य चुकाउनुपर्ने हुन्छ भन्ने कुराको आँकलन सुरुमा नै गर्न सकिएन भने त्यस्ता नीतिहरूले दीर्घकालीन रूपमा पार्ने प्रभाव सरकारको क्षमताभन्दा बाहिर जान सक्ने अवस्था हुन्छ। उक्त क्षेत्र थाइल्यान्डको अति गरिबीमा रहेको क्षेत्र हो। थाई संस्कारअनुसार छोरीले बाबुआमा र परिवारको रेखदेख गर्नुपर्ने भएकाले छोरी १४ वर्ष पुगेपछि नै नगद आम्दानीको बाटो खोज्ने गर्छन् र गरिब र अशिक्षित परिवारका उनै छोरीहरू पटायाका ब्रथेल सेन्टरमा पुग्ने गर्छन्। नागरिकको गरिबी र सामाजिक तथा सांस्कृतिक मान्यतामा खेलवाड गरेर तत्कालीन आर्थिक स्वार्थलाई कसरी पूर्ति गरिन्छ भन्ने उदाहरण पनि थाइल्यान्डको यौन पर्यटन हो। अध्ययनहरूका अनुसार यौन पर्यटनको प्रख्यात सहर पटायामा अधिकांश यौनकर्मी त्यहाँको गरिब र दुर्गम बस्ती उत्तरपूर्वी क्षेत्र इसानबाट आएका छन्। भियतनाम–अमेरिका युद्धताका अमेरिकी सेना मनोरञ्जन र आरामका लागि थाइल्यान्ड आउने एवं यौन प्यास मेटाउने गरिएको र सोही अवस्थालाई युद्ध अन्त्य भएपश्चात् पनि आर्थिक उपार्जनको माध्यम बनाएर निरन्तरता दिँदाको परिणाम थाइल्यान्ड सेक्स पर्यटनका लागि चर्चित ठाउँ त बन्यो तर यसले निम्त्याउने परिणामको व्यवस्थापन गर्न थाई सरकारलाई चुनौतीपूर्ण भएको सामाजिक क्षेत्रमा काम गर्नेहरू बताउँछन्।