सुन र चाँदीको मूल्यमा नेपाली बजारमा नयाँ रेकर्ड
रासंसा/काठमाण्डौ, कार्तिक ०५,
मुलुकमा नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। यसअघि आइतवार सुन प्रतितोला १ लाख ६५ हजारमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार सुन तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ। योसँगै सोमवार नेपाली बजारमा सुन प्रतितोला १ लाख ६५ हजार ६ रुपैयाँ कायम भएका महासङ्घले जनाएको छ। यस्तै चाँदीको मूल्यले पनि सोमवार नयाँ रेकर्ड कायम गरेको छ। सोमवार चाँदी प्रतितोला २ हजार ९५ रुपैयाँ पुगेको छ। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च भएको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमै मूल्य आकाशिएपछि सोअनुसार समायोजन हुँदा नेपालमा सुनचाँदीको भाउ बढेको महासङ्घले जनाएको छ। यसअघि आइतवार चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो।
Like