आज बडादसैंको फूलपाती, विश्व दृष्टि दिवस, विश्व मानसिक स्वास्थ्य दिवस

Share to:

रासंसा/काठमाण्डौ, आश्विन २४,

सप्तमी ‘फूलपाती’
दुर्गा बीज मंत्र
ॐ ह्रीं दुं दुर्गाय नमः
दुर्गा भवानीको कृपा सबैमा रहोस् । माता दुर्गाको सातौं अवतार कालरात्रिको आराधना गरिने सप्तमीको बिशेष महत्व छ । ॐ देवी कालरात्रि नमः
आजको यस विशेष सातौँ दिन दुर्गाको सातौँ स्वरूप कालरात्रिको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रूपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा स–साना ढुङ्गाहरूलाई नवदेवीका प्रतिमाका रूपमा स्थापित गरी नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ । सप्तमीको यो विशेष दिनलाई ‘फूलपाती’ भनिन्छ । यो दिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजा अर्चना गर्ने गरिन्छ । कृष्ण वर्ण अर्थात् कालो वर्ण भएकी, तीन नेत्र अनि चार हात भएकी, चारै हातमा क्रमशः तरबार, मसाल बोकेकी घोर मुद्रा तथा अभय मुद्रा धारण गरेकी, श्वास फेर्दा आगो ओकल्ने यिनै देवीले भुईँमा झरेको हरेक थोपा रगतबाट पुनर्जीवन पाउने रक्तबीज नामक दैत्यको संहार गर्नुभएको हुनुहुन्छ ।
आजको दिन केरा, हलेदो, धान, अशोक, बेलपत्र, दारिम, धानको बाला, केराको बोट, जयन्ती र उखुलगायतका लहरा पात अनि विभिन्न प्रकारका फूलपाती मिश्रित ‘फूलपाती’ भित्र्याइन्छ । यस दिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ ।
कालरात्रि स्तुति मन्त्र ।।
या देवी सर्वभूतेषु माँ कालरात्री रूपेण संस्थिता
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।
कालरात्रि देवीकी रूपमा सर्वत्र विराजमान माता अम्बे !
म तपाईँलाई कोटी–कोटी प्रणाम गर्दछु, मलाई शक्ति दिनुहोस् ।।
नेपाल एकीकरण पश्चात् नै गोर्खाबाट उठाइएको फूलपाती देशका विभिन्न ठाउँहरूमा रहेका महत्त्वपूर्ण शक्ति पीठहरूमा पुर्‍याउने चलन थियो । नेपाल एकीकरणदेखि नै एकता र सांस्कृतिक प्रतीक गोर्खा जिल्लासँग नेपालीको पहिचान जोडिएको छ । तसर्थ, गोरखाको फूलपाती विशेष हुने गर्दछ । काठमाडौँको हनुमान ढोकाको तलेजु भवानीको मन्दिरमा रहेको दसैँ घरमा पनि गोर्खाबाटै ल्याइएको फूलपाती धादिङ जिल्लाको जीवनपुर हुँदै भित्र्याइने चलन थियो । लोकतन्त्र आगमनपछि यो ऐतिहासिक चलनलाई निरन्तरता नदिए पनि थोरै फूलपाती भए पनि मोटरसाइकलमा काठमाडौँसम्म ल्याइने गरिएको स्थानीय बताउँछन् । गोरखा दरबारमा अवस्थित गोरखकाली मन्दिरमा जब आधा घाम अस्ताएको र आधा घाम देखिने समय हुन्छ तब मात्र फूलपाती भित्राउने चलन छ । फूलपातीको अघिल्लो दिन नै गोरखकाली दरबारका कर्मचारीहरू सदरमुकाम र अन्य आसपासका जङ्गल र गाउँबाट फूलपाती सङ्कलन गर्न निस्किन्छन् । यसरी सङ्कलन गरी ल्याइएको फूलपाती अघिल्लो दिन नै साँझमा गोरखकाली मन्दिरबाट अलि तल सती पिपल भन्ने पीपल चौतारीमा राख्ने चलन छ । उक्त फूलपातीलाई विशेष मौलिक सिँगार पटार गरेर अर्को चौतारीमा ती फूलपातीलाई पर्सिने चलन छ । दरबारबाट आएका विशेष टोलीहरूले बाजागाजा अनि हर्ष बढाई गर्दै कलश यात्रा गरेर फूलपाती दरबार भित्राउने चलन छ । यस्तो शोभा यात्रामा प्रमुख जिल्ला अधिकारी लगायतका जिल्लाका मुख्य प्रशासनिक क्षेत्रका प्रमुख अनि सुरक्षा निकायका प्रमुखहरू उपस्थित हुने चलन छ । यसरी गोर्खामा भेला पारिएको फूलपाती काठमाडौँ ल्याएपछि नेपाली सेनाको एक टुकडीले टुँडिखेलमा तोपको सलामी दिने चलन छ ।
विश्व दृष्टि दिवस
हामीले देख्ने हिमाल, हरियाली, रङ्गहरू, अनुहार अनि तिनका आकार, मुस्कानका प्रकृति अनि फरक र समानता दृष्टिविहीन साथीहरूका लागि अनुभव गर्न तुकविहीन नै हुन्छ । थोरै विश्वव्यापी तथ्याङ्कको सारांश लिऊ, विश्वभरि करिब ३ करोड ६० हजार मानिसहरू दृष्टिविहीन छन् भने २ अरब ४६ करोड हाराहारी मानिसहरू कम दृष्टि या गहिरो प्रकृतिको दृष्टिजन्य समस्याबाट प्रभावित छन् । स्मरण रहोस्, विश्वभरि नै कूल दृष्टिविहीन जनसङ्ख्याको ९० प्रतिशत बढी जनसङ्ख्या न्यून आयस्रोत भएका र आर्थिक रूपमा विपन्न परिवारमा बस्छन् । नेपालीमा आँखा, संस्कृतमा चक्षु या नयन, अङ्ग्रेजीमा आई, लगायत थुप्रै नामहरू दिइएका छन्, भाषैपिच्छे अनि देशै पिच्छे । आज अक्टोबर महिनाको दोस्रो बिहीबार विश्वभरि दृष्टि दिवस मनाइन्छ ।
विश्व मानसिक स्वास्थ्य दिवस पहिलो पटक अक्टोबर १०, १९९२ मा उपमहासचिव रिचर्ड हन्टरको पहलमा मनाइयो। सन् १९९४ सम्म, यस दिवसको सामान्य प्रवर्द्धन मानसिक स्वास्थ्य वकालत र जनतालाई शिक्षा बाहेक अरू कुनै विशेष विषय थिएन। मानसिक स्वास्थ्यले हाम्रो भावनात्मक, मनोवैज्ञानिक र सामाजिक कल्याण समावेश गर्दछ। यसले हामीले सोच्ने, महसुस गर्ने र व्यवहार गर्ने तरिकालाई असर गर्छ। यसले हामीले तनावलाई कसरी ह्यान्डल गर्छौँ, अरूसँग सम्बन्ध राख्छौँ र स्वस्थ छनोट गर्छौँ भनेर निर्धारण गर्न पनि मद्दत गर्छ। बाल्यकालदेखि किशोरावस्थादेखि वयस्कसम्म जीवनको हरेक चरणमा मानसिक स्वास्थ्य महत्त्वपूर्ण हुन्छ र यस्तै कुराहरूको जानकारी र वकालत गर्न विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ । विश्वभरि दृष्टिविहीन जनसङ्ख्यामध्ये बालबालिकाको सङ्ख्या भने १ करोड ९० लाखको हाराहारीमा छ । दृष्टि अनि त्यसको स्वस्थ र उपचार आजको विश्वका लागि ठुलै चुनौती भएको छ । यस्तै मुद्दाहरूका बारे जनजागरण फैलाउने, पैरवी गर्ने अनि नेत्र दान जस्ता गहन अनि पुण्य दानका बारेमा अभिप्रेरित गर्ने अभिप्रायले दृष्टि दिवस मनाइन्छ । अर्कोतर्फ गाउँ–घरमा आजबाट औपचारिक रूपमा लिङ्गे पिङ हालिन्छ । खरको डोरी र टुप्पो नकाटिएको हरियो चार वटा बासलाई गाडेर बनाइने यो पिङ दसैँको अर्को रौनक हो । जुन सदियौँदेखि दसैँमा मनोरञ्जन गरिने एउटा मौलिक साधनको रूपमा प्रचलित छ ।
अब उ हाँसोको अर्थशास्त्रको तनावपूर्ण विद्यार्थी हुँदै जान्छ । विद्यालय अनि कलेजका कार्य, कामको तनाव, सम्बन्धको गहिराई अनि जीवनका साध्यहरूले उसको हाँसो शोसेर लाने गर्छन् । हाम्रो बयस्क जीवनको कार्यगत अनि विद्यार्थी पलको अधिकांश हिस्सा काम अनि भागादौडमै बित्छ । चाहे बालक होस् या वृद्ध अनि बयस्क नै किन नहोस्, जीवन सबैका लागि समान नहुन पनि सक्छ । एउटा बालक बिहानैबाट स–साना कुरामा हाँस्छ, खित्का छाडेर । उसलाई रुखबाट झरेका पात या बलेसीबाट तप्केका पानीका थोपा सबैले हसाउँछ । सुस्तरी हुर्कदै जाँदा उसको जीवनबाट बालापन अनि त्यो बालकको छवि हराउँछ । ऊ अब हास्न कारण खोज्छ । तनाव, सीमा, तुलना, संयम अनि हिनतावोध धेरै कुराहरूबीच जीवनले आशाको त्यान्द्रो जोडेको हुन्छ । हामीले सबै गतिविधिलार्य सन्तुलनमा राखेर अगाडि बढ्नु जरुरी छ । जीवन केवल उपभोगकर्ता र उपलब्धिको धरोहर मात्र हैन । शून्यताबीच रहेको निरपेक्ष हरेक श्वासहरूको माला गाँसेर बनाइएको जीवनको महत्व पनि बुझ्नु जरुरी छ । विश्व मानसिक स्वास्थ्य दिवस हरेक वर्ष अक्टोबर १० मा विश्वभर मानसिक स्वास्थ्यको बारेमा चेतना जगाउन र मानसिक स्वास्थ्य समस्याहरूको सामना गर्नेहरूलाई सहयोग गर्ने प्रयासहरू परिचालन गर्न मनाइन्छ।
बढ्दो आत्महत्या, डिप्रेसन र अन्य मानसिक रोगहरूको बखतमा जिन्दगीलाई माया गर्ने सरलताको आवश्यकता सबैलाई छ । स्मरण रहोस्, हरेक वर्ष करिब ३० करोड मानिसहरू संसारमा डिप्रेसनको सिकार भइरहेका छन् , खुसी अनि सन्तुष्टि का साथ जीवन बाँच्ने आधार नै मानसिकस्वास्थ्यको पहिलो खुड्किलो हो । हामीलाई त्यसै ३० करोड को सुचीमा नाम लेखाउने रहर पक्कै पनि छैन, जीवनमा सक्दो प्रयास गर्न सक्नु नै उपलब्धि हो । परिणाम त केवल उपज हो, प्रयास को । हामी छाया को पछाडि कुद्न बन्द गर्दै जीवनको वास्तविक मूल्यको पछि लाग्न जरुरी छ । हरेक दिन घट्दै गएका यी सीमित जीवनका दिनलाई रमाइलो गरी बिताउने साहस सबैमा होस् ।
सन् २०२४ को नारा It is Time to Prioritize Mental Health in the Workplace – कार्य वातावरणमा मानसिक स्वास्थ्यलाई प्राथमिकता दिऔँ भन्ने अर्थ लाग्दछ ।
मानसिक समस्या भएकाहरूको विशेष रेखदेख र स्वास्थ्य र सामान्य जीवनकालागि पहल गर्नु हाम्रो दायित्व हो, दया होइन माया र स्नेहले भरिएको सामाजिक संरचनाको विकास गरौँ ।

Like