मन्त्रीले शुभारम्भ गरेपश्चात मेलम्चीको पानी काठमाण्डौ उपत्यकामा वितरण
रासंसा/काठमाण्डौ, आश्विन २३,
मुलुकमा काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको छ। खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार काठमाडौंको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रसोधन केन्द्रबाट उपत्यकाका नागरिकका लागि पानी वितरण कार्यक्रमको शुभारम्भ गरेका हुन्। मेलम्चीको पानी अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) मा आइसकेकाले अब काठमाडौं उपत्यकाबासीका धारा-धारामा पानी वितरण सुरु गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले जानकारी दिए। उनले भने, ‘मेलम्चीको सफा अनि शुद्ध पानी आइपुगेको छ। अब केही समयमै नागरिकका धारा धारामा पठाउछौं।’ सुन्दरीजलमा रहेको पानी प्रसोधन केन्द्रबाट मेलम्चीको पानी खोलीएसँगै अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न पानी वितरण शाखामा पानी पठाइएको र ती शाखाहरूबाट पानी वितरण प्रक्रिया सुरु गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रशाद लामिछानेले बताए। ‘मन्त्रीज्यू र मेलम्ची संघर्ष समितिबीच सोमबार राति अबेरसम्म पानी पठाउने विषयमा बसेको वार्ता सफल भएपछि सुन्दरीजलमा पानी पथान्तरण गरेका थियौं। अहिले यहाँबाट केयुकेएलका विभिन्न पानी वितरण शाखामा पठाइएको छ,’ उनले भने। खानेपानी मन्त्री यादव र मेलम्ची संघर्ष समितिबीच सोमबार राति भएको बार्तामा काठमाडौंमा पानी लैजाने विषयमा सहमति भएपछि आज मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएको थियो। दसैं अगाडि काठमाडौंबासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमबार राति मेलम्ची पुगेर त्यहाँका संघर्ष समितिसँग वार्ता गरेको थियो। वार्तापछि बाढी पीडित संघर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौं उपत्यकामा पानी पथान्तरण गर्नको लागि मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ।