आज वामन द्वादशी व्रत, प्रदोष व्रत
रासंसा/काठमाण्डौ, भाद्र ३०,
देवेश्वराय देवश्य, देव संभूति कारिणे। प्रभावे सर्व देवानां वामनाय नमो नमः।।
ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्!
जसले भगवान वामनको भक्ति र भक्तिपूर्वक आराधना गर्दछ, भगवान वामनले तिनीहरूलाई राजा बलिको संकटबाट देवताहरूलाई मुक्त गरे जस्तै सबै दुःखबाट मुक्त गर्नुहुन्छ। विधि अनुसार पूजा गर्नाले सुख, आनन्द र इच्छित फल प्राप्त हुन्छ।
वामन जयन्ती
भाद्र शुल्क पक्षको द्वादशीलाई वामन द्वादशी या वामन जयन्ती भन्ने गरिन्छ। धार्मिक ग्रन्थ अनुसार आजको शुभ तिथिमा भगवान् श्रीकृष्णले वामन अवतार लिनुभएको थियो। वामन अवतारलाई भगवान् विष्णुको एउटा महत्त्वपूर्ण अवतार मानिने गरिन्छ। एक जना अत्याचारी दैत्य राजा बलिले देवलोकसँग युद्ध गरेर देवताहरूलाई नै पराजित गर्न थालेपछि भगवान् इन्द्र विष्णु भगवान् समक्ष आफ्नो समस्या लिएर पुगेका थिए। त्यसपछि भगवान् इन्द्र मार्फत दैत्य राजा बलिको सबै अत्याचारको बारेमा बुझेपछि भगवान् विष्णुले आजको तिथिमा माता अदितिको गर्भबाट जन्म लिएर बलिको विनाश गर्ने आश्वासन दिएर पठाए। भगवान् इन्द्रलाई दिएको वचन पुरा गर्दै आज भाद्र शुल्क पक्षको द्वादशीको दिन माता अदितिको गर्भबाट भगवान् विष्णुको वामन अवतारको जन्म भएको हो। धर्तीमा अन्याय र अत्याचार बढ्दै गएपछि, भगवानले कुनै न कुनै अवतारमा आएर त्यो अत्याचार गर्ने सैतानको विनाश गरेको धेरै कथाहरू हामीले सुनेका छौ। भगवान् विष्णुले अरू अवतार जस्तै वामन अवतार पनि यस्तै शैतानी शक्तिको विनाश गर्न लिनुभएको थियो। त्यसपछि कश्यप ऋषिहरूसँग आफ्नो संस्कार सिकेका भगवान् वामनले महर्षि पुलहसँग यज्ञोपवीत, अगस्त्यसँग मृग चर्म, मरीचिसँग पलाश दण्ड, आंगिरस सँग वस्त्र, सूर्यसँग छत्र, भृगुसँग खड़ाऊं, आफ्नो गुरुसँग कमण्डलु,माता अदिति सँग कौपीन, सरस्वतीसँग रुद्राक्ष माला तथा कुबेरसँग भिक्षा पात्र लिएपछि आफ्नो पितासँग आज्ञा लिएर दैत्य राजा बलिलाई भेट्न गएका हुन्। त्यति बेला दैत्य राजा बलि नर्मदा नदिकै उत्तरी तटमा अश्वमेध यज्ञ गरिरहेका थिए। भगवान् वामन त्यहाँ एउटा जोगीको रुपधारण गरेर पुग्छन् र राजा बलिसँग भिक्षा माग्छन्। यज्ञ गरेर बसिरहेका बलिले वामन भगवान् त्यहाँ आउने बित्तिकै यज्ञको प्रकाश उज्यालो भएको देखेर अचम्म मान्दै वामन भगवानसँग आफूलाई चाहिएको भिक्षा माग्न अनुरोध गरे। राजा बलिले त्यस्तो अनुरोध गरेपछि, भगवान् वामनले वलीसँग ३ पाइला भूमि माग्दछन्। बलिले सहजै उनलाई ३ पाइला भूमि दिने वचन दिन्छन्। भगवान् वामनले पहिलो पाइलामा स्वर्ग अनि दोस्रो पाइलामा धर्ती नापेको देखेपछि तेस्रो पाइलाको लागि बलिले आफ्नो शिर अगाडी गर्छन् र वामन भगवानलाई आफ्नो मस्तिष्क नाप्न आग्रह गर्छन्। सबै थोक गुमाई सकेको बलिले त्यसरी आफ्नो शिर अगाडी राखेको कुराले भगवान् वामनलाई प्रसन्न पार्दछ अनि भगवान् वामनले बलि राजालाई पातालको राजा बनाएर पातालमा स्थान दिन्छन्। वामन द्वादशी मा व्रत बस्ने र हरिको सुमीरण गर्ने गरिन्छ । त्यसैले पनि भगवान् इन्द्र र अन्य देवलोकलाई दैत्य राजा बलिबाट मुक्ति दिएकोमा भगवान् विष्णुको वामन अवतारको निक्कै महत्त्व रहेको पाइन्छ।
प्रदोष व्रत
ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्!
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ। प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने । प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।