दीक्षान्त समारोह प्रधानमन्त्रीका कारण स्थगित भएपछि विद्यार्थी आक्रोशित

Share to:

रासंसा/सुर्खेत, भाद्र २४,

मुलुकमा १३ वर्षपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो पटक गर्न लागेको दीक्षान्त समारोहका लागि भव्य तयारी गरिएको थियो । सोही अनुसार देशभरबाट पाहुनाहरू जुम्ला पुगिसकेका थिए । दीक्षित हुने विद्यार्थी पनि उत्साहका साथ कोही स्थलमार्ग, कोही हवाईमार्गबाट जुम्ला पुगेका थिए । दीक्षान्त समारोहमा स्नातक र स्नातकोत्तर तहका गरी ५६ जना विद्यार्थी दीक्षित हुने कार्यक्रम थियो । आइतबार बिहान उद्घाटनको तयारी गर्नेबेला प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले प्रधानमन्त्री आउन नसक्ने जानकारी आएको भन्दै दीक्षान्त समारोह स्थगित भएको सूचना जारी गरे । आइतबार (आज) कार्यक्रम हुने भए पनि केही दिन अघिदेखि नै जुम्ला सदरमुकाममा चहल–पहल बढिसकेको थियो । तर शनिबार मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीले व्यस्तताका कारण भन्दै जुम्ला आउन नसक्ने मौखिक जानकारी गराए । जबकि कार्यक्रमका लागि एक करोडको हाराहारीमा रकम खर्च भइसकेको थियो भने टाढाबाट विद्यार्थीहरू जुम्ला पुगिसकेका थिए । बर्खाको समय भए पनि ठुलो उत्साहका साथ परिवार तथा आफन्तसँग जुम्ला पुगेका विद्यार्थी निराश बने । ‘वर्षाको समय दुई दिन लगाएर जुम्ला आयौँ । दीक्षित हुने भनेर मैले बुबालाई ल्याएको थिएँ,’ बाजुराबाट जुम्ला पुगेकी रेणु सिंहले भनिन्, ‘तर बिहान एक्कासी कार्यक्रम नहुने भन्ने आयो । यो त प्रधानमन्त्रीको गैर–जिम्मेवारीपना हो ।’ ‘खर्च त छँदैछ, यस्तो दुर्गम ठाउँमा टाढाबाट आएका थियौँ । यो त हामीमाथि धोका भयो,’ अर्का एक विद्यार्थीले भने । रेणु बर्खामा बाटोको समस्या होला भनेर १९ गते नै जुम्ला पुगेकी थिइन् । उनका अनुसार सबै विद्यार्थी आफ्नो आमाबुबा, आफन्तलाई लिएर जुम्ला पुगेका छन् । दीक्षित हुने विद्यार्थी कैलाली, कञ्चनपुर, बझाङ, बाजुरा, दार्चुला, अछामदेखि सुर्खेत, नेपालगञ्जसम्मका छन् । कतिपयले स–साना बच्चासमेत ल्याएका छन् भने कोही गर्भवती समेत छन् । यसरी पुगेका अधिकांश विद्यार्थी होटलमा बसेका छन् । प्रतिष्ठानका तर्फबाट गर्ने काम पूरा गरे पनि प्रधानमन्त्री नआउने भएकाले दीक्षान्त समारोह स्थगित भएको सूचना आएको ती विद्यार्थीले बताए । विद्यार्थीमात्र होइन, कार्यक्रमका लागि जुम्ला पुगेका पाहुनाहरू समेत निराश बनेका छन् । कार्यक्रमका लागि भनेर जुम्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही, कान्तिका सेजुवाल, स्वास्थ्य सचिव डा. रोशन पोखरेल, नेत्र विशेषज्ञ डा. सन्दुक रुइत, डा. आरपी विछा लगायत जुम्ला पुगेका थिए । प्रधानमन्त्री आउने भएपछि प्रदेश प्रहरी प्रमुख नेतृत्वको टोली केही दिनअघि नै जुम्ला पुगेको थियो । सबै गरेर करोडको हाराहारीमा खर्च भइसक्दा प्रधानमन्त्रीले एक्कासी कार्यक्रम स्थगित गर्नु गैर–जिम्मेवारीपना भएको जुम्ला पुगेका विद्यार्थी तथा पाहुना बताउँछन् । प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको गैर–जिम्मेवारीपनाका कारण पाहुना र विद्यार्थीहरूले दुःख पाएको रातोपाटीलाई बताए । डा. रुइत जुम्ला पुगेर आँखाको उपचारमा संलग्नसमेत भइसकेका थिए । साथै शैक्षिक भवन उद्घाटन गर्ने भनेर पूरै तयारी भइसकेको थियो । गेट निर्माणदेखि फूलमालाले सजाउने, प्रधानमन्त्रीको फोटो टाँस्ने, सरसफाइ गर्ने, समारोहका लागि चाहिने सम्पूर्ण सामानको व्यवस्थापन समेत भइसकेको थियो । प्रधानमन्त्री ओली कहिल्यै पनि जिम्मेवारीपूर्ण रूपमा प्रस्तुत नहुने हुँदा मान्छेले दुःख पाएको शाहीको भनाइ छ । ‘न बिरामी, न मौसम खराबी अनि बिहान उद्घाटन गर्ने भनेर तयारी, राति व्यस्तताका कारण नआउने भन्दिनुहुन्छ,’ ‘उहाँ (प्रधानमन्त्री) को ठुलो लापरबाही हो, तयारीका लागि खर्च पनि टन्नै भइसकेको होला,’ उनले भने, ‘कार्यक्रमकै लागि भनेर धेरै मान्छे जुम्ला पुगेका थिए । दीक्षान्तका लागि आएका मान्छे त प्रधानमन्त्रीका गल्तीका कारण बिचल्लीमा परे ।’ उनले भने । प्रतिष्ठान निर्माणको अगुवाइ गरेका नरेश भण्डारीले प्रधानमन्त्री जिम्मेवार नबन्दा त्यति ठुलो कार्यक्रम स्थगित हुनु आफैँमा राम्रो नभएको बताए । ‘उहाँ जिम्मेवार देखिनु भएन । कर्णालीलाई हेर्ने उहाँको दृष्टिकोणमै प्रश्न चिह्न खडा हुन्छ,’ उनले भने, ‘यदि यस्तै कार्यक्रम पूर्वतिर हुन्थ्यो भने उहाँ जसरी पनि पुग्नु हुन्थ्यो तर, कर्णालीप्रति उहाँको दृष्टिकोण नै सकारात्मक रहेको देखिन्न ।’ सिँजा सभ्यता विधेयकदेखि कर्णालीको विकासका क्षेत्रमा समेत ओलीले खासै चासो नदिने गरेको भण्डारीको भनाइ छ । प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले यो कार्यक्रम अब कार्तिक २८ गते हुने बताए ।

Like