पर्यटकीयनगरी पोखरा पर्यटकको ‘ट्रान्जिट’ बन्दै
मिनबहादुर कुँवर/कास्की, बैशाख १३,
मुलुकमा केही वर्ष अघिसम्म अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रको पदयात्रामा जाने अधिकांश विदेशी पदयात्रीले पोखरालाई ‘सुरुवाती’ वा ‘अन्तिम’ गन्तव्य बनाउँथे। पदयात्रामा जानेहरू हवाईजहाज वा गाडीबाट पोखरासम्म आउँथे, अनि पोखरामा कम्तिमा एकरात बिताएर भोलिपल्ट पदयात्रामा निस्कन्थे। पोखराबाट पदयात्रा सुरु हुन्थ्यो। त्यस्तै पद यात्रा सकेर फर्किनेहरू पनि पोखरालाई अन्तिम बास बनाएर गन्तव्य तय गर्दथे। गाडीमा आउनेहरू पनि पोखरामा बासै नबसी सिधै पदयात्रा सुरु हुने ठाउँसम्म पुग्ने गरेका छन्। पदयात्रा सकेर फर्किनेहरू पनि जसोतसो बेलुकीसम्म पोखरा झरिसक्ने र जहाज चढेर काठमाडौं पुग्न थालेका छन्। अहिले भने पदयात्रीको पदयात्रा शैली फेरिएको छ। पदयात्रामा जाने पाहुना बिहानैको उडानमा पोखरा ओर्लिन्छन्, त्यसपछि विमानस्थलमै लिन आइपुगेको गाडी चढेर पदयात्राको प्रस्थान बिन्दुसम्म पुग्न थालेका छन्। कम समय लिएर पदयात्रामा निस्कने पर्यटकहरूले अहिले पोखरालाई ‘ट्रान्जिट’ मात्र बनाउन थालेका छन्। अन्नपूर्ण आधारशिविर (एबिसी) को प्रवेशद्वार मानिने घान्द्रुकसम्मै अहिले गाडी पुग्छ। यस्तै आधारशिविर मार्गकै झिनुसम्म पनि गाडी पुग्ने गरेका छन्। पदयात्रा सकेर गाडी चढेर बेलुकीसम्म पोखरा फर्किनेहरू त्यही बेलुकी हवाईजहाज चढेर काठमाडौंसम्म पुग्न थालेका छन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएर बिहान सबेरैदेखि बेलुकी अबेरसम्म उडान सञ्चालन हुँदा अहिले यात्रा सहज भएको छ। केही वर्ष अघिसम्म घान्द्रुक र झिनुसम्म जानका लागि नयाँपुलदेखि नै पैदल हिँड्नुपर्दथ्यो। त्यो करिब एकदिनको पैदलयात्रा थियो तर मोटरबाटोले गर्दा पैदलयात्रा अवधि छोटिएको छ। त्यस्तै आधारशिविरको पदयात्रा सकेर फर्किनेहरू पनि घान्द्रुक वा झिनुबाटै गाडी चढ्न पाउँछन्। बिहानै पोखरा ओर्लिन मिल्ने र बेलुकी अबेरसम्ममा काठमाडौं पुग्न सकिने भएपछि व्यवसायीले पनि त्यही अनुसारको प्याकेज बनाएर पदयात्रा गराउन थालेका छन्। अन्नपूर्ण आधारशिविर पदमार्गमा पर्ने माछापुच्छ्रे आधारशिविर (एबिसी) का व्यवसायी दिलीप गुरुङका अनुसार अहिले पोखराबाट दुईदेखि साढे दुई दिनमै अन्नपूर्ण आधारशिविर पुग्न सकिन्छ। गुरुङका अनुसार पछिल्लो समय चिनियाँ, मलेसिया र कोरियाका पाहुनाले पोखरालाई बढी मात्रामा ट्रान्जिट बनाएर यात्रा गर्न थालेका छन्। ‘ती मुलुकका पाहुनासँग समय पनि कम हुने गरेको छ। त्यसले गर्दा पोखरालाई छलेर उनीहरू काठमाडौंबाट एकैदिनमा छोमरोङ आउने गरेका छन्,’ उनले भने, ‘फर्किंदा पनि उनीहरूले पोखरालाई छलेर जाने गरेका छन्।’ पोखराबाट गाडीमा सहजै झिनुसम्म पुगेपछि पदयात्राको बाटो धेरै छोट्टिने उनले बताए। ‘काठमाडौंबाट पहिलो उडानमा बिहानै पोखरा ओर्लेका पाहुना दिउँसै झिनु आइपुग्छन्। त्यसपछि छोमरोङ हुँदै अघि बढ्दा पदयात्रा अवधि घटेको छ,’ गुरुङले भने, ‘फर्किदा पनि बेलुकीसम्म पोखरा पुग्ने गरी झिनुबाटै पाहुना गाडी चढ्छन्। त्यसपछि सिधै विमानस्थल पुग्न सकिन्छ।’ उनका अनुसार छोमरोङदेखि दुई दिनमा सहजै एबिसी उक्लिन सकिन्छ। फर्किदा भने त्यो गति झन् बढी हुन्छ। उनका अनुसार हिमालय वा दोभानबाट पोखरा झरेर बेलुकी जहाज चढेर काठमाडौं पुग्न सकिन्छ। एबिसीबाट पनि एकैदिनमा सहजै दोभान वा हिमालय झर्न सकिन्छ। ‘विमानस्थलमा गाडी तयार हुन्छ, जहाजबाट ओर्लेपछि गाडी चढेर सिधै झिनुसम्म गाडीमा र त्यसपछि छोमरोङ उक्लिन्छन्,’ उनले भने, ‘युरोपियन मुलुकका पाहुना बरु बढी समय लिएर आएका हुन्छन् तर एसियाली मुलुकका पाहुनासँग समय कम हुने गरेको छ। त्यसले गर्दा उनीहरूले हतारमा पदयात्रा पूरा गर्छन्।’ ‘काठमाडौंका धेरै व्यवसायीले अहिले पोखरालाई छलेर सिधै आधारशिविर आउने गरी प्याकेज बनाउन थालेका छन्। पछिल्लो समय नयाँपुल–घान्द्रुक सडक नै व्यस्त बनेको छ,’ उनले भने, ‘गाडी पाएपछि कोही पनि हिँड्न खोज्दैनन्। अहिले पदमार्गको माथिसम्मको मोटरबाटोले त्यही अवस्था देखाएको छ।’ उनका अनुसार पोखरामा बासै नबसी अन्नपूर्ण आधारशिविरको पदयात्रामा आउने पर्यटक पछिल्लो समय धेरै हुने गरेका छन्। ‘काठमाडौंका धेरै व्यवसायीले अहिले पोखरालाई छलेर सिधै आधारशिविर आउने गरी प्याकेज बनाउन थालेका छन्। पछिल्लो समय नयाँपुल–घान्द्रुक सडक नै व्यस्त बनेको छ,’ उनले भने, ‘गाडी पाएपछि कोही पनि हिँड्न खोज्दैनन्। अहिले पदमार्गको माथिसम्मको मोटरबाटोले त्यही अवस्था देखाएको छ।’ उनका अनुसार अहिले पोखरादेखि आधारशिविरसम्मको पदयात्रा चारदिनमै पनि पूरा हुन थालेको छ। विदेशी मात्र नभई स्वदेशीले पनि त्यस्तै शैली अपनाउने गरेको उनले बताए। होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पोखरामा पाहुना अड्याउने खालका नियमित गतिविधि नहुँदा कतिपय आन्तरिक र धेरै विदेशी पर्यटकले पोखरालाई ट्रान्जिट बनाउन थालेको बताउँछन्। ‘पोखरामा रात्रीकालीन मनोरञ्जनका पर्यटकीय गतिविधि धेरै छैनन्। त्यसैले पोखरा ट्रान्जिट मात्र बन्न थालेको छ,’ पराजुलीले भने, ‘पुरानो विमानस्थल बिहान अबेर खुल्ने र बेलुकी छिटो बन्द हुने हुँदा पोखरामा एक रातको बसाइ अनिवार्य जस्तै थियो तर अहिले अन्तर्राष्ट्रिय बिमानस्थल बिहान सबेरै र राती अबेरसम्म सञ्चालन हुने भएपछि त्यहाँ नरोकिई आउजाउ सहज भएको छ।’‘नेपालीले बरु आउँदा वा फर्किंदा पोखरामा रात बिताउँछन् तर विदेशीले पोखरालाई छलेर गन्तव्यमा पुग्न थालेका छन्। यसले पोखराको पर्यटन व्यवसायमा पनि मार परेको छ,’ उनले भने, ‘पोखरामा गतिविधि नभएकाले पनि यस्तो अवस्था आएको हुनसक्छ।’ पोखराबाट काठमाडौंसम्मको रात्रीकालिन उडान भएपछि बेलुकी फर्किने तालिका लिएर पर्यटकहरू आउने गरेको उनले बताए। ‘पाहुनालाई पोखरामै रोक्ने गतिविधि छैनन्। पोखरामा नियमित गतिविधि हुने हो भने पाहुना अडिन्छन्। नत्र रात बिताउन मात्र पोखरा बसाइ बाध्यकारी बनेन,’ उनले भने, ‘पोखराको बसाइ अवधि बढाउने हो भने केही प्रावधान पनि फेरबदल गर्नुपर्छ। अन्नपूर्ण क्षेत्र प्रवेशको अनुमतिपत्र पोखराबाट मात्र जारी गर्न पाउने हो भने यो पाहुनाको पोखरा बसाइ हुन्छ।’ पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष धर्मराज पन्थी पनि पछिल्लो पटक पोखरालाई आन्तरिक र बाह्य दुवैखाले पर्यटकले ‘ट्रान्जिट’ बनाउन थालेको बताउँछन्। पोखरामा बेलुकीको समयमा पाहुना आकर्षण गर्ने खालको गतिविधि गराउने हो भने पोखरा ट्रान्जिट मात्र बन्ने चलन कम हुने उनले बताए। ‘रात्रीकालीन लाइफस्टाइलमा रमाउन पनि पाहुना पोखरा बस्थे तर ती गतिविधि भएनन्,’ उनले भने। ‘पोखरा नटेकी नहुने भएर मात्र हो’, उनले भने, ‘कतिपय पाहुना पोखरामा बासै नबसी गन्तव्यमा निस्कन्छन् र पदयात्रा सकेर फर्किन्छन्, सबै पाहुनालाई हवाई सेवाले सहज बनाएको छ।’ पन्थीका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित हुँदा पनि यो अवस्था आएको हो। ‘अन्तर्राष्ट्रिय उडान हुँदो हो त राती अबेरसम्म पनि पाहुना पोखरा ओर्लन्थे। ती पाहुना पोखरामा बास बस्न बाध्य हुन्थे तर अहिले आन्तरिक उडानका यात्रु हुन्। उनीहरूको बसाइ अवधि कम छ,’ पन्थीले भने, ‘पोखरामा बसाइ अवधि कम हुँदा त्यसको असर व्यवसायमा परेको छ।’ उनका अनुसार कतिपय विदेशी त पोखरामा बासै बस्दैनन्। जो नितान्त पदयात्राका लागि आएका हुन्छन्, उनीहरूका लागि पोखरामा बास नबसी जहाँबाट नहिँडी हुँदैन त्यहीँ पुग्छन्। पदयात्रा सकेर फर्किदा पनि उनीहरूको तालिका काठमाडौंसम्मको हुन्छ। गाडीमा आउनेले पनि पोखरालाई छल्न थालेका छन्। ‘सबै पर्यटकले पोखरालाई ट्रान्जिट बनाएको होइन तर यो प्रवृत्ति बढ्दो छ,’ उनले भने।