अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारशिक्षासंचारसमाचारस्पेसलहेडलाइन

उच्च हिमाली र अति विकट क्षेत्रका विद्यालयमा किताब पुगेन

Share to:

रासंसा/काठमाण्डौ, बैशाख ०९,

मुलुकमा कर्णालीको हिमाली जिल्ला हुम्लास्थित नाम्खा गाउँपालिकाका नारा र न्यालु लेखमा हिउँ नबिलाउँदा तिल, हल्दी र जाङलगायतका स्थानमा पुग्न असहजता छ। पाँच हजार एक सय ७० मिटर उचाइमा रहेका यी लेखले स्थानीयको आवातजावत मात्र होइन, नयाँ शैक्षिक सत्रका लागि पुगेका पाठ्यपुस्तकसमेत ढुवानीमा अवरोध पुर्‍याएको छ। जसका कारण चीनसँग सीमावर्ती नाम्खा गाउँपालिकाका सबै विद्यालयमा यस वर्ष पाठ्यपुस्तक पुग्न सकेका छैनन्। यता डोल्पाको उच्च हिमाली क्षेत्रमा पनि पाठ्यपुस्तक पुग्न सकेको छैन। अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुगे पनि भौगोलिक विकटता भएका विद्यालयमा पाठ्यपुस्तक समयमै पुग्न नसकेको शिक्षा विकास तथा समन्वय एकाइ डोल्पाका प्रमुख दलबहादुर बस्नेतलले जानकारी दिए। शिक्षा विकास तथा समन्वय एकाइ हुम्लाका अनुसार नाम्खा गाउँपालिकाका १७ विद्यालयमध्ये तीनवटा विद्यालयमा मात्र पाठ्यपुस्तक पुगेका छन्। अन्यमा पुग्न अझै केही दिन लाग्छ। सुदूरपश्चिमको अछामको अवस्था पनि उस्तै छ। पालिकाको पहुँचमा किताब पुगे सकेको अवस्था भए पनि भर्ना भएका सबै विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन्। यी जिल्लामा मात्र होइन पश्चिमका लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च हिमाली र अति विकट क्षेत्रका विद्यालयमा अहिलेसम्म पाठ्यपुस्तक पुगेका छैनन्। कर्णालीको हिमाली जिल्ला हुम्लास्थित नाम्खा गाउँपालिकाका नारा र न्यालु लेखमा हिउँ नबिलाउँदा तिल, हल्दी र जाङका विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन्। हिउँ नपग्लिएर त्यस क्षेत्रमा जाने बाटो अवरुद्ध भएपछि पाठ्यपुस्तक पुर्‍याउन मुस्किल भएको शिक्षा विकास तथा समन्वय एकाइ हुम्लाका प्रमुख भीमराज कार्कीले जानकारी दिए। पुस्तक ढुवानीका लागि पालिकाहरूले समयमै रकम विद्यालयमा पठाए पनि भौगोलिक विकटताका कारण पश्चिमका उच्च हिमाली र अति विकट क्षेत्रमा पाठ्यपुस्तक पुग्न नसकेका हुन्। ‘हुम्लाका नाम्खाबाहेक सबै पालिकामा पाठ्यपुस्तक पुगेका छन्,’ उनले भने, ‘समयमै पाठ्यपुस्तक पुर्‍याउन नसक्नुको कारण नै भौगोलिक विकटता हो।’ नेपालगन्जबाट करिब पाँच दिनमा पैदलमार्गबाट हुम्लामा किताब पुग्ने भन्दै उनले भने, ‘हुम्ला पुगेपछि पनि यहाँका पालिका र पालिकाबाट विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन कठिन छ।’ यता लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्लामा पाठ्यपुस्तक पुगे पनि सबै विद्यालयमा पुगेनपुगेको सोधपुछ भइरहेको शिक्षा विकास तथा समन्वय एकाइ रुकुम पूर्वका एकाइ प्रमुख तिलक गौतमले बताए। अहिले जुनजुन स्थानमा जे जति पाठ्यपुस्तक पुगेका छन् त्यो पनि उपलब्धि भएको उनको भनाइ छ। ‘केही वर्ष पहिला त यहाँका कतिपय विद्यालयमा कहिल्यै पाठ्यपुस्तक पुगेनन्,’ उनी भन्छन्, ‘अहिले त जे जति भए पनि पुगेको छ। यो नै यहाँका लागि ठूलो कुरा हो।’ ‘प्रायः विद्यालयमा पाठ्यपुस्तक पुगेको खबर छ,’ उनले भने, ‘अति विकट क्षेत्रका विद्यालयको अवस्थाबारे सोधपुछ भइरहेको छ।’ अहिलेनै सबै विद्यालयमा पाठ्यपुस्तक पुगेनपुगेको भन्न नसकिने उनको भनाइ छ। अहिलेसम्म सबै क्षेत्रमा पाठ्यपुस्तक नपुग्नु उनले पनि भौगोलिक विकटता नै भएको बताए। अर्काे हिमाली जिल्ला डोल्पाका त्रिपुरा सुन्दरी नगरपालिका, ठूलीभेरी नगरपालिका र मुट्केचुला गाउँपालिकामा पाठ्यपुस्तक पुगिसकेको शिक्षा विकास तथा समन्वय एकाइ डोल्पाका प्रमुख दलबहादुर बस्नेतले जानकारी दिए। ‘त्रिपुरा सुन्दरी, ठूलीभेरी र मुट्केचुलामा पाठ्यपुस्तक पुगिसकेका छन्,’ उनले भने, ‘अन्यमा पुर्‍याउने काम भइरहेको छ। अबको केही दिनमा सबै ठाउँमा पाठ्यपुस्तक पुग्छ।’ यता, सुदूरपश्चिमको बैतडीस्थित सिगास गाउँपालिकाका सबै विद्यालयमा यो साताभित्र पाठ्यपुस्तक पुर्‍याउने लक्ष्य राखिएको छ। ‘पाठ्यपुस्तक विद्यालयमा पुर्‍याउन कोसिस गरिरहेका छौं,’ सिगास गाउँपालिकाका शिक्षा अधिकृत रमेशप्रसाद भट्टले भने, ‘यो साताभित्रै सबै ठाउँमा पाठ्यपुस्तक पुर्‍याउँछौं।’ कतिपय जिल्लामा आउँदो आइतबारदेखि भर्ना अभियान सकिँदैछ। भर्ना अभियान सकिएपछि नियमित पढाइ हुँदा विद्यार्थीले विकटताकै कारण पाठ्यपुस्तक नपाउने निश्चित छ। प्रदेश र संघीय सरकारले उच्च हिमाली र अति विकट क्षेत्रका विद्यालयमा स्थलमार्ग नभई हवाई मार्गबाट पाठ्यपुस्तक पुर्‍याउन पहल गर्नुपर्ने स्थानीयको भनाइ छ। यहाँका ५८ विद्यालयमध्ये हाल चार/पाँच विद्यालयमा मात्र पाठ्यपुस्तक पुगेका र अन्य ठाउँमा पुग्न बाँकी रहेको उनको भनाइ छ। यता अछाममा पनि सबै ठाउँमा पुस्तक पुगिसकेको छैन। पाठ्यपुस्तक जिल्लामा पुगिसके पनि विद्यालयमा पुर्‍याउने काम भइरहेको शिक्षा विकास तथा समन्वय एकाइ अछामका प्रमुख अम्बादत्त जोशीले बताए।

Like